coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

किराले सिन्धुलीको जुनार सखाप

किराले सखाप पारेपछि बोटबाट झरेर कुहिएको जुनार । तस्बिर अनिल/नागरिक

सिन्धुली – सिन्धुलीको प्रमुख नगदे फलफूको रुपमा रहेको जुनारमा किराको प्रकोप बढ्न थालेपछि किसान मारमा परेका छन्। विगतको तुलनामा यस वर्ष किराको प्रकोप झन् बढेसँगै किसान मर्कामा परेका हुन्। जुनार खान योग्य समय नहुँदै किराले सखाप पारेपछि सिन्धुलीका जुनार क्षेत्रका किसान चिन्तित बनेका छन्। 

जिल्लाको पूर्वी पहाडी भागको मुख्य नगदे फलफूलको रुपमा परिचित जुनारमा फल कुहाउने झिगा चाइनिज सिट्रस फ्लाई ब्याक्ट्रोसेरा मिन्याक्सले जुनारको फल कुहाउन सुरु गरेको किसान बताउँछन्। उचित व्यवस्थापनमा किसान व्यापारी र उपभोक्ताले ध्यान नदिँदा विगतको वर्षभन्दा यस वर्ष उक्त किराको प्रकोप जुनार क्षेत्रमा बढी देखिएको छ। उक्त झिगाले जुनारको फललाई यस वर्ष पनि विगार्न सुरु गरेको जुनारका विज्ञहरूले बताएका छन्। वर्षेनी लाखौंको आम्दानी गर्दै आएका जुनार किसानलाई यस वर्षभने किराको प्रकोपले समस्या हुने देखिएको छ।

जुनार क्षेत्रमा विभिन्न कार्यक्रम गरी किराको प्रकोप न्यूनिकरण गर्न प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना(जुनार सुपर जोन) कार्यक्रमले केही क्षेत्रमा अपनाएको क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम लागू भएको क्षेत्र बाहेक अन्य क्षेत्रको ८० प्रतिशत जुनारमा किराको समस्या देखिएको छ। जुनार क्षेत्रमा विभिन्न चार कार्यक्रम लागू भएका हुन्, यहाँको गोलञ्जोर गाँउपालिका ४ तिनकन्याका किसान लोकबहादुर आलेले भने, ‘क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम केही प्रभावकारी देखिएको छ, अन्य कार्यक्रमबाट कुनै उपलब्धि भएको छैन।’

उनका अनुसार तिनकन्याकै ८ सय रोपनी क्षेत्रफलमा भएको जुनार बगैचामा झन्डै २० लाख रुपैयाँ खर्चेर क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम लागू गरिएको थियो। उक्त कार्यक्रम लागू भएको क्षेत्रका जुनारमा पनि ३० प्रतिशत किराकै समस्या भएको र अन्य क्षेत्रमा ८० प्रतिशत जुनार खानलाई उचित नदेखिएको किसान बताउँछन्। अहिलेनै किराको समस्या ठुलो देखिसकिएको छ, उनले भने,‘मंसिर–पुसमा जुनार किराको प्रकोपले सबैजसो झर्ने देखिन्छ।’

जुनार क्षेत्रमा ब्याक्ट्रोसेरा मिन्याक्सको समस्या २०७२ सालबाटै सुरु भएको किसान बताउछन्। २०७२ सालमा केहि दानामा मात्रै देखिएको समस्या समयमै समाधान गर्न नसक्दा हाल विकराल अवस्था आएको छ। व्यवस्थापनमा लापरवाही किसानदेखि व्यापारी सबैले गरेका कारण किराको व्यवस्थापन हुनुको साटो थप फैलदै गएको छ। जुनार सुपरजोनले पनि विगतकै वर्षबाट किरा नियन्त्रण गर्न लाखौ रुपैयाँ खर्च गर्दै आएको भएपनि प्रभावकारी नदेखिएको स्थानीय बताउँछन्।

किराको व्यवस्थापनमा जुनारका व्यापारी र किसानलेनै ध्यान नदिए जति सुपरजोनले खर्च गरेपनि व्यवस्थापन हुने देखिएन, रतनचुराका किसान हरिशरण बस्नेतले भने,‘किरा देखिएको  जुनारलाई ६० से.मी गहिरो खाल्डो खनेर पुर्नुपर्ने भनिएको छ तर सबै किराले कुहिएको जुनार खोल्सा र पहिरोमा लगेर फालिन्छ।’ किरानै देखिएको जुनार व्यापारीले ल्याएर बेचेका छन्, नियन्त्रण गर्न त एक वर्षको जुनार धेरैजसो खाल्डो खनेर गाड्ने काम गर्नुपर्छ उनले थपे।

हालै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जुनार सुपरजोनमा सरुवा भइ आएका कार्यालय प्रमुख देवराज अधिकारी किरा नियन्त्रण गर्न जटिल रहेको बताउछन्। अरु किराजस्तो पासो र बट्टामा यो किरा आउँदैन, उनले भने,‘उपभोग गर्नेदेखि विक्री वितरण गर्ने र जुनार क्षेत्रमै काम गर्ने किसानलेनै विशेष ध्यान दिनुपर्छ।’ उनले सिन्धुलीको जुनार बगैचामा देखिएको किरा रामेछाप, दोलखा काभ्रेमा फैलिदै गएको बताए।

जुनारको दाना लाग्ने समयमै किराले आक्रमण गर्ने र जुनारको दाना भित्र किरा पर्ने भएकाले बाहिर राम्रो देखिएपनि भित्र किरा लागेको दाना हुने उनको भनाई छ। धेरै आत्तिने भन्दा पनि व्यवस्थापन गर्न तिर सबै लाग्नुपर्याे, उनले थपे। प्रविधि लागू गर्ने जटिताले किराको प्रकोप नियन्त्रण बाहिर गएको उनको भनाई छ।

प्रकाशित: २९ कार्तिक २०७५ ०७:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App