६ वैशाख २०८१ बिहीबार
समाज

सिसिटिभीमार्फत २० हजार चालक कारवाहीमा

फाइल फाेटाे

काठमाडौं – ट्राफिक प्रहरीको आँखा छलेर निषेधित क्षेत्रमा सवारीसाधन चलाएको छु भनेर मख्ख नपर्नुहोला। सिसिटिभीमार्फत तपाईँको अनुगमन भइरहेको हुन्छ, फन्दामा पर्नुहोला।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो समय जथाभावी सवारीसाधन चलाउने चालकलाई सिसिटिभीमार्फत अनुगमन गरी कारवाही बढाएको छ। महाशाखाले हालसम्म सिसिटिभीमार्फत २० हजार २४ जनालाई कारवाही गरेको छ।

विसं २०७३ देखि सिसिटिभीमार्फत सवारी चालकलाई कारवाही थालेको महाशाखाले हालसम्म २० हजार बढी व्यक्तिलाई कारवाही गरेको हो। आव २०७३–७४ मा १३ हजार २२७, आव २०७४–७५ मा २ हजार ७१६ र आव २०७५–७६ मा २ हजार ७५२ जनालाई कारवाही गरेको छ। महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले पछिल्लो समय सिसिटिभीमार्फत सवारी साधन कारवाहीलाई तीव्रता दिएको बताए।

“उपत्यकाका सबै चोक र सडकमा ट्राफिक जनशक्तिको अभाव छ, त्यसैले महाशाखाले सिसिटिभीमार्फत सवारी उल्लङ्घन गर्ने सवारी चालकलाई कारवाही संख्या बढाएका हौँ”, उनले भने।

साँघुरा सडक र अत्याधिक सवारीसाधन भएकाले लेन मिच्ने, तीब्र गतिमा सवारी चलाउने, एकतर्फी बाटोमा सवारी चलाउने, नो टर्न लेखेको ठाँउबाट टर्न लिनेलगायतलाई कारवाही गरिएको महाशाखाले जनाएको छ। हाल महाशाखाले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेका ४६० क्यामराबाट उपत्यकाको ट्राफिक गतिविधिको बारेमा हेर्दे आएको छ।

चालकलाई घरमा चिठी पठाएर कारवाही
महाशाखाले सवारी नियम उल्लङ्घन गर्ने १ हजार ३२९ सवारी चालकलाई घरमा चिठी पठाएर कारवाही गरेको छ। विसं २०७४ मा तत्कालीन प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनाल महाशाखा प्रमुख भएको समयमा महाशाखाले सवारीसाधन उल्लङ्घन गर्ने चालकलाई घरमा चिठी पठाएर कारवाही गर्ने अभियान शुरु गरेको थियो। आव २०७४–७५ मा ५५१ र आव २०७५–७६ को हालसम्म ७७८ जनालाई कारवाही गरेको हो।

महाशाखाले सवारीसाधनमार्फत १ हजार ९५८ सवारी चालकलाई कारवाही गरेको छ। आव २०७४–७५ मा १ हजार २५३ र आव २०७५–७६ मा ७०५ सवारी चालकलाई कारवाही गरेको छ।

महाशाखाका प्रमुख पन्त सवारी नियम उल्लङ्घन गर्ने सवारी चालकलाई ५०० देखि १ हजारसम्म जरिवना र जनचेतना दिँदै आएको बताउँछन्। महाशाखाले सिसिटीभिका अलावा बडीवान क्यामरा, ग्रोप्रो क्यामरामार्फत कारवाही गर्दै आइरहेको छ।

ट्राफिक उभिएर गर्ने कारवाही, सामाजिक सञ्जालमार्फत हेरेर गरिने कारवाही, यात्रुले खबर गरेर गरिने कारवाहीसमेत रहेका छन्। महाशाखाले सिसीटिभीमार्फत उपत्यकामा हुने कतिपय सवारी दुर्घटनाको अनुसन्धान गर्दै आइरहेको छ।

यातायात व्यवस्था विभागका अनुसार हाल नेपालभर ३२ लाख सवारीसाधन सञ्चालनमा रहेका छन, जसमध्ये आठ लाख सवारीसाधन काठमाडौँ उपत्यकामा मात्र सञ्चालनमा रहेका छन्। उपत्यकामा साँघुरा सडक र सवारीसाधन धेरै भएका कारण ट्राफिक व्यवस्थापन दिनानुदिन जटिल बन्दै गएको छ।  (रासस)

प्रकाशित: २९ कार्तिक २०७५ ०५:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App