७ वैशाख २०८१ शुक्रबार
खेल

रत्नजित र दीपेश अन्तिम आठमा

विपक्षीविरुद्ध सट प्रहार गर्दै रत्नजित तामाङ । तस्बिरः राखेप

काठमाडौं – पूर्वविजेता राष्ट्रिय च्याम्पियन त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र एपिएफका दीपेश धामी आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको क्वार्टरफाइलनमा प्रवेश गरेका छन्।

पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगितामा लगातार छैटौं पटकका विजेता तामाङले बुधबार सम्पन्न प्रिक्वार्टरफाइनलमा एपिएफका सुनील जोशीलाई २१–६, २१–१७ को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेका हुन् । यस्तै एपिएफका दीपेशले आर्मीका प्रफुल महर्जनमाथि २१–१५, २१–१५ को जित निकाले।

यस्तै बुधबार सम्पन्न अन्य खेलबाट नेपाल पुलिसका विष्णु कटुवाल र नीरविक्रम देवकोटाले पनि क्वार्टरफाइनलमा स्थान बनाउन सफल भए । विष्णुले एफिएफका विजित थापामगरलाई २१–१७, २१–१४ ले तथा नीरविक्रमले एपिएफकै सुदीप सेढाईंलाई १२–२१, २१–८, २१–१० ले पराजित गरे।

यसैगरी आर्मीका रुकेश महर्जनले एपिएफका साजनकृष्ण ताम्राकारलाई २१–१८, २१–१४ ले, आर्मीकै नवीन श्रेष्ठले पुलिसका जीवन आचार्यलाई २१–७, २१–१३ ले, भोजपुरका विकास श्रेष्ठले एपिएफका गौतम कठायतलाई २१–१७, २१–१६ ले तथा सिल्क ग्रुपका प्रिन्स दाहालले पुलिसका दीपक बोहरालाई २१–१९, २१–१४ ले  पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरे।

नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा सातौं संस्करणकी विजेता एपिएफकी जेसिका गुरुङले जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाइन् । जेसिकाले भोजपुरकी सीता राईलाई २१–१७, २१–१९ ले पराजित गरिन् । यस्तै आर्मीका नङ्सलदेवी तामाङ, अनुमाया राई, रसिला महर्जन, रञ्जना भट्ट र अमिता गिरीले आआफ्नो खेलमा जित हात पार्दै अन्तिम आठमा स्थान सुरक्षित गरे।

तामाङले जेष्टकी महिमा श्रेष्ठमाथि २१–५, २१–३ को सहज जित निकाल्दा अनुले जेष्टकै सफी खत्रीलाई २१–५, २१–१० ले, रसिलाले जेष्टकै मनीषा खड्कालाई २१–८, २१–४ ले, रञ्जनाले मोरङकी सीमा राजवंशीलाई २१–१८, १७–२१, २१–१६ ले तथा अमिताले भोजपुरकी लोकतमा राईलाई २१–२, २१–८ ले पराजित गरे । यसै गरी बाँकेकी सम्झना शर्माले एपिएफकी सुनैना मुखियामाथि २१–१३, २१–१९ को रोमाञ्चक जित हात पार्दा एफिएफकी शोभा गुरुङले जेष्टकी तारा आलेलाई २१–१८, २१–१३ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरिन् । पुरुष युगलतर्फको खेलमा एपिएफका दीपेश धामी र विजित थापामगरको जोडीले ललितपुरका श्याम महर्जन र कृष्ण श्रेष्ठको जोडीमाथि २१–१२, २१–११ को जित निकाल्योे।

यस्तै पुलिसका दीपक बोहरा र जीवन आचार्यको जोडीले ललितपुरकै रदीप महर्जन र भुवन श्रेष्ठको जोडीलाई २१–४, २१–१५ ले पराजित गर्दा बाँकेका इरफान अन्सारी र रियाज अन्सारीको जोडीले जेष्ट ब्याडमिन्टन एकेडेमीका सुजन थापा र राम बानियाको जोडीलाई २१–१०, २१–१९ ले, एपिएफका गौतम कठायत र सुनील जोशीको जोडीले सेनाका सुरोज महर्जन र पविन लिनथेपको जोडीलाई २४–२२, २१–१० ले, आर्मीका रुकेश महर्जन र प्रफुल महर्जनको जोडीले ललितपुरका सनिल शाक्य र सुमन शाक्यको जोडीलाई २१–९, २१–११ ले, एपिएफका साजनकृष्ण ताम्राकार र सुदीप सेढार्इंको जोडीले ललितपुरका श्रीजन ताम्राकार र राजेन्द्र महर्जनको जोडीलाई २१–१७, २१–१४ ले, पुलिसका विष्णु कटुवाल र अनिष श्रेष्ठको जोडीले ललितपुरका प्रदीप महर्जन र विकास महर्जनको जोडीलाई २१–१३, २१–१७ ले तथा आर्मीका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडीले ललितपुरकै दौथ राई र गणेश गुरुङको जोडीलाई २१–१४, २१–८ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाउन सफल भए।

खुलातर्फ पनि जित निकालेका सिल्क ग्रुपका प्रिन्स दाहालले यु–१७ तर्फको पुरुष एकलमा दाङका सुरज गुप्तामाथि २१–५, २१–६ को जित निकाले । यसै गरी कैलालीका जय बी साउदले चितवनका अलिष थापामाथि २१–१५, २१–१२ को जित हात पारे । यस्तै जेष्ट ब्याडमिन्टन एकेडेमीका प्रियांसु सिंह क्षत्रीले सुर्खेतका नरेन्द्र ठकुरीलाई २१–७, २१–१७ ले, दाङका हिमांशु कुँवरले बाराका अनिश खतिवडालाई १७–२१, २१–१९, २१–१५ ले, कैलालीका अमृत चौधरीले कञ्चनपुरका विवेक चौधरीलाई २१–१८, २१–१५ ले, आर्मीका दिवेश शंकरले नेपालगन्जका सफल थापालाई २१–१०, २१–१५, कञ्चनपुरका हिमाल चन्दले चितवनका मनीष थापालाई २१–१२, २१–११ ले तथा जेष्ट ब्याडमिन्टनका पेम्बा शेर्पाले तेह्रथुमका क्षितिज केसीलाई २१–६, २१–१२ ले पराजित गरे।

यस्तै सोही समूहको महिला एकलतर्फ जेष्टका दिमोना के.सी. र स्मृति राई, कञ्चनपुरकी विष्णा विष्ट तथा झापाकी अन्जना राई पनि अन्तिम आठमा प्रवेश गरे । भेट्रान्सतर्फको प्रतिस्पर्धामा आर्मीका सुभास श्रेष्ठ र भूमि गुरुङको जोडीले जेष्टका अनुज पौडेल र प्रेम घलेको जोडीलाई पराजित गर्दा ललितपुरका सुनीलमान शाक्य र पूर्णभक्त चित्रकार तथा नवीनबाबु श्रेष्ठ र श्याम पराजुलीको जोडीले आ–आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै अन्तिम आठमा प्रवेश गरे।

प्रकाशित: २९ कार्तिक २०७५ ०४:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App