coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

१६औं हस्तकला व्यापार मेला सुरु

काठमाडौं - १६औं हस्तकला व्यापार मेला तथा १४औं प्रतियोगितात्मक हस्तकला प्रदर्शनी सुरु भएको छ । नेपाल हस्तकला महासंघले आयोजना गरेको मेला काठमाडौंको भृकुटीमण्डपमा बुधबार सुरु भएको हो । मेलाको उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गरे।

सो अवसरमा अर्थमन्त्री खतिवडाले हस्तकला निर्यातको तथ्यांक सरकार र निजी क्षेत्र दुवैले राख्नुपर्ने धारणा राखे । ‘नेपाली बजारबाट विदेशीले लैजाने हस्तकलाका सामग्रीमा मूल्य अभिवृद्धिकर फिर्ता गराउन छलफल भइरहेको छ । साथै, विदेशीले लैजाने सामग्रीको सही तथ्यांक राख्नुपर्छ,’ अर्थमन्त्री खतिवडाले भने, ‘सरकार सदैव हस्तकलाको प्रवद्र्धन र अन्तर्राष्ट्रियकरण गर्न तयार छ । म हाम्रो कलालाई अन्तर्राष्ट्रिय बजारमा लैजान निजी क्षेत्रसँग सहकार्य गर्न तयार छु।’

हस्तकलाका बौद्धिक ढाँचा र सीप लाई सुरक्षित राख्न तथा सम्पदा जोगाउन ऐन संशोधन गर्न लागेको जानकारी दिँदै थप केही सम्बोधन गर्नुपर्ने भए सुझाव ल्याउन समेत उनले महासंघलाई उनले आग्रह गरे। खतिवडाले हस्तकला व्यवसायीले उत्पादन गरेका सामग्रीलाई बजारसम्म ल्याउन, कलाकौशललाई निरन्तरता दिन र जनशक्ति विकासमा सहयोग गर्न सरकार तयार रहेको बताए।

उनले भूकम्पबाट ध्वस्त संरचनालाई जस्ताको तस्तै बनाउन दक्ष जनशक्तिको अभाव भएको भन्दै दक्ष जनशक्ति उत्पादन गर्न संस्थागत रुपमा तालिम केन्द्र खोल्न सरकारले सहयोग गर्ने आश्वासन दिए।

सो अवसरमा ललितपुर महानगरपालिकालाई ‘वल्र्ड क्राफ्ट सिटी’ घोषणा गरिएको छ । विश्वको ३४ वटा सहरपछि ललितपुरलाई वल्र्ड क्राफ्ट सिटी घोषणा गरिएको हो । कार्यक्रममा वल्र्ड क्राफ्टका अध्यक्ष डा. भाराहिजाइमी घडामी समेत सहभागी थिइन्।

नेपाली हस्तकला सामानको अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार गर्ने, नेपाली उद्यमी, व्यवसायी, निर्यातकर्ता र विदेशी आयातकर्ताबीच व्यावसायिक सम्बन्ध विकास गर्ने तथा नेपाली कला संस्कृतिको विविध पक्ष उजागर गर्ने उद्देश्यले सो मेला आयोजना गरिएको हो।

पाँच दिन चल्ने मेलामा भारत, चीन, पाकिस्तान, श्रीलंका, बंगलादेश, जर्मनी लगायत देशका व्यवसायीको सहभागिता रहेको आयोजकले जनाएको छ । मेलामा नेपालको सातवटै प्रदेशका जिल्ला हस्तकला संघ, वस्तुगत संघको साथै नेपाल सरकार गरिबी निवारण कोषसमेतको सहभागिता छ।

मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, फेल्टका सामान, ऊन, सुती एवं ढाकाका सामान, पस्मिना, हाते कागजका सामान, छालाजन्य सामान, प्राकृतिक रेसा र बाँसका सामान, जडीबुटी, अर्थोडक्स चिया लगायतको स्टल छ।

मेलाको अवसरमा १४औं हस्तकला प्रतियोगितासमेत हुने महासंघले जनाएको छ। परम्परागत विधातर्फ मैनमूर्ति बनाउने कलाकार र समसामयिक विधातर्फ ढाका बुनाइमा संलग्न कालिगढलाई संलग्न गराई प्रत्यक्ष रुपमा जीवन्त प्रदर्शनी गरी प्रतियोगिता सञ्चालन हुने प्रचण्डमान शाक्यले जानकारी दिए।

हरेक विधाका दुईजनालाई प्रथम पुरस्कार ५० हजार रुपैयाँ, दोस्रोलाई ३० हजार रुपैयाँ र तेस्रो हुनेलाई २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र र पदकले सम्मान गर्नेछन्। मेला दुई लाखले अवलोकन गर्ने र करिब १० करोड रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ।

प्रकाशित: २९ कार्तिक २०७५ ०४:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App