coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

रिनेरीलाई फुलह्यामको जिम्मेवारी

लन्डन – चेल्सीका पूर्वप्रशिक्षक इटालियन क्लाउडियो रिनेरीलाई प्रिमियर लिग क्लब फुलह्यामले बुधबार प्रशिक्षक नियुक्त गरेको छ । स्लाभिसा जोकानोभिजलाई बर्खास्त गर्दै इङ्लिस क्लब फुलह्यामले नयाँ प्रशिक्षकका रूपमा उनलाई नियुक्त गरेको हो।

जोकानोभिजले सिजन सुरुआतमा फुलह्यामलाई उत्कृष्ट नतिजा दिलाउन सफल भएका थिए । यद्यपि ५० वर्षे  सर्बियन प्रशिक्षक जोकानोभिजले प्रिमियर लिगमा रहन संघर्ष गरिरहनुपरेको थियो । जारी सिजनको खेलमा १२ खेलबाट ५ अंक मात्र बटुलेको फुलह्याम तालिकाको पुछारमा छ । एक खेल मात्र जितेको फुलह्याम ९ खेलमा पराजित छ भने २ खेल बराबरी खेल्दै अंक बाँडेको छ।

२०१६ को सिजनमा लेस्टर सिटीलाई उपाधि दिलाएका रिनेरीलाई फ्रेन्च लिग वान क्लब नान्टेले लिगको अन्तिम खेलअगाडि बर्खास्त गरेको थियो । त्यसपछि उनी कुनै पनि क्लबमा आबद्ध रहेका थिएनन् । रिनेरीको सम्झौता एक वर्षका लागि भएको फुलह्यामका अध्यक्ष शाहिद खानले बताएका छन्।

‘इङ्लिस क्लब फुलह्यामलाई सम्हाल्न शाहिदकोे निमन्त्रणालाई स्वीकार गर्नु मेरो लागि सौभाग्य र मौका हो,’ क्लबको वेभसाइटले रेनरीको भनाइलाई उल्लेख गरेको छ, ‘प्रिमियर लिगमा रहिरहनका लागि हामीले राम्रो गर्नु आवश्यक छ । सबै प्रतिद्वन्द्वीसँग राम्रो खेल्दै सफलता हात पार्नु हाम्रो लक्ष्य हुनेछ ।’ जोकानोभिजले क्लबलाई दिएको समय र सहयोगप्रति फुलह्याम क्लबका अध्यक्षले आभार व्यक्त गरे।

‘प्रशिक्षक जोकानोभिजलाई बर्खास्त गरिनु अनपेक्षित हो । साथै यो निर्णय लिनु मेरो र क्लबका लागि निकै दुखको कुरा हो । क्लबको भविष्यलाई नियाल्दै हामीले कठिन निर्णय लिन बाध्य भएका हौं,’ फुलह्यामका अध्यक्ष खानले भने, ‘जोकानोभिजप्रति सधंै मेरो सम्मान रहेको छ र रहने पनि छ । साथै प्रिमियर लिगमा फर्किनका लागि क्लबलाई गरेको योगदानप्रति हामी सधैं आभारी छौं र कदर गर्नेछौं।’

लेस्टर सिटीका मालिक भिचाई श्रीभाधानाप्रभा हेलिकोप्टर दुर्घटनामा परेकोे केही समयपछि रिनेरीलाई फुलह्यामले प्रशिक्षकको रूपमा नियुक्त गरेको हो । श्रीभाधानाप्रभासँगै हेलिकोप्टर दुर्घटनामा अन्य चार जनाको ज्यान गएको थियो । लेस्टरका मालिक श्रीभाधानाप्रभा वेस्टह्यामविरुद्धको खेल हेर्नका लागि हेलिकोप्टरमा रंगशाला पुगेका थिए।

‘लेस्टरका मालिकको दुर्घटनाको खबरले मलाई स्तब्ध बनाएको थियो,’ रेनरीले दुई हप्ताअगाडि भनेका थिए, ‘उनी असल र कुशल व्यक्ति थिए । सबैलाई प्रेरणा दिने व्यक्ति।’

इटालियन प्रशिक्षक रिनेरीले यसअघि नेपोली, फियोरेन्टिना, एट्लेटिको मड्रिड, चेल्सी, भ्यालेन्सिया, युभेन्ट्स, रोमा, इन्टर मिलान र ग्रिसको राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालिसकेका छन् । तर दुई वर्षअगाडि लेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि दिलाउनु रिनेरीको प्रशिक्षण करियरकै सबैभन्दा ठूलो सफलता हो । फुलह्यामले अबको खेलमा रिनेरीको पूर्वक्लब चेल्सी र लेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दै छ।

प्रकाशित: २९ कार्तिक २०७५ ०४:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App