८ वैशाख २०८१ शनिबार
अर्थ

कमजोर अनुगमनले सिक्टा अलपत्र

बाँकेको पार्वतीपुरमा रहेको निर्माणाधीन सिक्टाको डुडुवा शाखा नहर। तस्बिर : अर्जुन ओली/नागरिक

काठमाडौं - सिक्टाका तत्कालीन आयोजना प्रमुख महेश्वरनरसिंह केसीले अघिल्लो वर्ष कोस्टाल पप्पु कन्स्ट्रक्सनको काम सन्तोषजनक नभएको भन्दै सिँचाइ विभागसँग ठेक्का तोड्ने निर्णय माग गरे।

२०७४ पुस ३० गते केसीले गरेको आग्रह विभागले न सुन्यो, न आफैंले बाँकेमा निर्माण भइरहेको सिक्टा सिँचाइ नहरको पर्याप्त अनुगमन नै ग¥यो । कारबाही गर्ने निकायले वास्ता नगरेपछि पप्पु अटेरी भयो । अन्ततः ठेक्का लिएको २८ महिना कामै नगरी खेर फाल्यो।

मोबिलाइजेसन र केही काम गरेबापतको करिब ११ करोड रुपैयाँ लिइसकेको पप्पुले सम्झौता अवधिभर कामै नगरेपछि चौतर्फी विवाद खेप्न नसक्दा अहिले आएर विभाग पप्पुसँगको ठेक्का तोड्न बाध्य भयो । अघिल्लो वर्ष नै काम नगर्ने पप्पुसँगको ठेक्का तोड्ने निर्णय हुन सकेको भए यतिखेर एकातिर सिक्टाको रौनक नै फरक हुन्थ्यो भने अर्कोतर्फ सोही कामका लागि राज्यले गर्ने लगानी पनि बच्थ्यो ।
२८ महिनाअघि डुडुवा शाखा नहर (२३ किलोमिटर) निर्माण गर्न पप्पुले विभागसँग ९८ करोड ८१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । २८ महिना कामै नगरी खेर फालेपछि अहिले सोही काम गर्न करिब एक अर्ब ६० करोड रुपैयाँ लाग्ने प्राविधिक बताउँछन् । समयमा विकास नपाउँदा किसानको तहमा भएको क्षतिको त हिसाबै छैन । पप्पुले ठेक्का लिएपछि विभागको तर्फबाट सामान्य सोधपुछबाहेक गतिलो तवरले अनुगमन हुन नसक्दा ठेकेदारले काम नगरेको विभागका एक अधिकारी बताउँछन्।

जिम्मा लिएका सबैजसो आयोजनामा चरम लापरवाही र गुणस्तरहीन काम गरेका कारण विवादित पप्पुलाई सुरुमै काम दिन नसकिने सम्भावनालाई समेत विभाग र आयोजनाका कर्मचारीले बेवास्ता गरेको पाइन्छ।

विभागका महानिर्देशक सरोज पण्डित २८ महिनाको अवधिसम्म पप्पुको काममा चरम लापरवाही भएपछि सम्झौता तोड्नुपरेको बताउँछन् । उनका अनुसार २८ महिनामा पप्पुले डुडुवा शाखा नरहमा सात प्रतिशत मात्र काम गरेको छ । आयोजनाका डिभिजनल इन्जिनियर प्रकाश कार्कीले पप्पुले सम्झौताअनुसार काम नगरेपछि विधिसम्मत तरिकाले ठेक्का तोडिएको बताए।

पप्पुले ठेक्का लिएपछि अनुगमन नहुँदा मात्र यतिखेर सिक्टा नहर अलपत्र परेको होइन, ठेक्का सम्झौतादेखि नै पप्पुसँग विभागको मिलेमतो देखिन्छ । जिम्मा लिएका सबैजसो आयोजनामा चरम लापरवाही र गुणस्तरहीन काम गरेका कारण  विवादित पप्पुलाई सुरुमै काम दिन नसकिने सम्भावनालाई समेत विभाग र आयोजनाका कर्मचारीले बेवास्ता गरेको पाइन्छ।

राष्ट्रिय गौरवको सिक्टा सिँचाइको ठेक्का आइसिपी (अन्तर्राष्ट्रिय) मापदण्डको भएकाले ठेक्का सम्झौताअघि ठेकेदारको पृष्ठभूमि, ख्याति र क्षमता हेरेर आर्थिक सम्झौता गर्ने छुट विभाग र आयोजना कार्यालयलाई थियो । तर, तत्कालीन आयोजना प्रमुख र विभागका महानिर्देशकले पप्पुको क्षमता र पृष्ठभूमिलाई बेवास्ता गर्दै ठेक्का सम्झौता गर्दा सिक्टामा झन् बढी क्षति हुन पुगेको विशेषज्ञ प्राविधिक बताउँछन्।

‘हरेक आइसिपी ठेक्का सम्झौता हुनुअघि ठेकेदारको पृष्ठभूमि, क्षमता जस्ता अवस्थाको यकिन होस् भनेर पूर्वयोग्यता निर्धारण प्रस्ताव आह्वान गरिन्छ,’ ती विशेषज्ञले भने, ‘त्यतिबेलै काम गर्न सक्ने क्षमता नभएको पप्पुसँग सम्झौता नगरेको भए काममा यसरी लापरवाही हुँदैन्थ्यो ।’ आयोजना र विभाग प्रमुखले ठेकेदारको पूर्वयोग्यता निर्धारण प्रस्तावलाई जाँच गरिसकेपछि मात्र आर्थिक प्रस्तावमा प्रतिस्पर्धा गर्न दिने व्यवस्था छ । यसका लागि ४५ दिनको समय दिइएको हुन्छ।

डुडुवा शाखा नहरमा पप्पुको क्षमता र पृष्ठभूमिप्रति बेवास्ता गरी आर्थिक प्रस्तावमा प्रतिस्पर्धा गर्न दिएको पाइएको छ । आर्थिक प्रस्ताव पेस गर्दा पप्पुले करिब ३० प्रतिशत कम दरमा डुडुवा नहरको काम गर्ने प्रस्ताव हालेको थियो । अन्य ठेकेदारभन्दा कम रकममा काम लिने प्रस्ताव गर्दा पप्पुले काम पाएको हो । तर त्यतिखेरका विभाग, आयोजना प्रमुखले पप्पुलाई पूर्वयोग्यता निर्धारण प्रस्तावमै अयोग्य हठ-याएको भए आर्थिक प्रस्तावमा प्रतिस्पर्धा गर्न पाउने थिएन।

विभागका तत्कालीन महानिर्देशक माधव बेल्वासेको पालामा डुडुवा शाखा नहर बनाउने प्रक्रिया सुरु भएयता रामानन्दप्रसाद यादव, राजेन्द्र अधिकारी, अशोक सिंह, सरोज पण्डित महानिर्देशक भइसकेका छन् । त्यस्तै सोही शाखा नहर निर्माणका प्रक्रिया थाल्दा सरोज पण्डित, रमेश बस्नेत, महेश्वरनरसिंह केसी, पुनः बस्नेत हुँदै कृष्ण नेपाल आयोजना प्रमुख भएका छन् । आइसिपी ठेक्का तोडिनुलाई प्राविधिकहरू अपरिपक्व र दुर्भाग्यपूर्ण निर्णय मान्छन् । आइसिपी ठेक्का लिँदा ठेकेदार आर्थिक रुपमा मात्र नभई काम गर्ने क्षमता र अनुभवको हिसाबले निकै परिपक्व भइसकेको मानिन्छ।

स्वदेशी लगानीमा निर्माण भइरहेको सिक्टामा शाखा नहर बनाउन साउदी विकास कोषले दुई अर्ब ४१ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो । पप्पुले काम नगरेपछि दातृ निकायसमेत पटकपटक ठेकेदारको काममा असन्तुष्टि जनाउँदै ठेक्का तोड्न दबाब दिँदै आएको थियो । दाताको दबाबलाई समेत विभागका जिम्मेवार तहमा रहेका व्यक्तिले बेवास्ता गर्दै आइरहेका थिए ।  कोषले दिँदै आएको दबाब अनुसार विभागले समयमै ठेक्का नतोड्दा सहयोग रोक्नेसम्मको चेतावनी दिएको थियो । अहिले आएर ठेक्का तोडिएपछि कोषले दिने भनिएको सहयोग पुनः आउने/नआउने एकिन नभएको बताइन्छ।

पप्पुका सञ्चालक संघीय समाजवादी फोरमका सांसद (हाल निलम्बनमा परेका)  हरिनारायण रौनियार हुन् । आफू सांसद बन्न सफल भएपछि छोरा सुमितले कन्सट्रक्सनको जिम्मा लिँदै आएका छन् । राजनीतिक पहुँच र प्रभावका कारण पप्पुले अटेरी गर्दै आएको बताइएको छ।

चालु आर्थिक वर्ष २०७४/०७५ मा निर्माण कार्य सक्ने लक्ष्य लिइएको उक्त आयोजनाको पछिल्लो प्रगति पनि सन्तोषजनक छैन । बाँकेको करिब ४२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु-याउने लक्ष्य लिइएको उक्त आयोजनाको पछिल्लो प्रगति करिब ५६ प्रतिशत मात्रै छ । अहिले भइरहेको कामको गति हेर्ने हो भने अबको १० वर्षमा समेत सिक्टामा पानी नचल्ने स्थानीय बताउँछन्।

४५ किलोमिटर लामो मूल नहरमध्ये ४३ किलोमिटर निर्माण गर्ने अर्को ठेकेदार कम्पनी सिटिसिई कालिका कन्सट्रक्सनको कामसमेत सन्तोषजनक छैन । कालिकाले निर्माण गरेको मूल नहर परीक्षणको क्रममा पटकपटक भत्कने गरेको छ । आयोजनामा हालसम्म हेडवक्र्स, मूल नहरको काम गर्दा १४ अर्ब ७० करोड रुपैयाँ खर्च भइसकेको छ । चालु आर्थिक वर्षमा पूर्वी मूल नहर र केही शाखा नहरमा समेत गरी करिब चार अर्ब रुपैयाँ खर्च हुँदैछ । किसान भने वर्षौंदेखि सिक्टा सिँचाइको पानी पाउने आशामा रहँदै आएका छन्।

गल्ती ढाकछोप गर्न ठेक्का तोडिय : पप्पु
कोस्टाल पप्पु कन्स्ट्रक्सनले विभाग र आयोजना कार्यालयले आफ्ना गल्ती ढाकछोप गर्न ठेक्का तोडिएको दावी गरेको छ । समयमा डिजाइन उपलब्ध गराउन नसकेको विभागले काम गर्नका लागि ठाउँसमेत उपलब्ध नगराएको पप्पुको भनाइ छ।

‘२३ किलोमिटर शाखा नहर निर्माण गर्नुपर्नेमा ६ महिनाअघि मात्र डेढ किलोमिटर काम गर्ने जग्गा उपलब्ध भयो,’ पप्पुका सञ्चालक रौनियारले भने, ‘सिक्टामा सम्झौता तोड्नुको सम्बन्ध राष्ट्र बैंकको भवन निर्माणको काम नदिनुसँग जोडिएको छ।’

ठेक्का तोडेको विभागले काम गरेबापतको आठ करोड रुपैयाँ भुक्तानी नपाएको समेत उनले बताए । रौनियारले बैंक ग्यारेन्टी फुकुवा गरी विभागका कारण रोकिएको क्षति भएको समय उपलब्ध गराई पप्पुले नै डुडुवा शाखा नहरको काम गर्न पाउनुपर्ने माग गरे । पप्पुलाई कालोसूचीमा राख्न नहुने उनको तर्क छ।

प्रकाशित: २९ कार्तिक २०७५ ०४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App