भक्तपुर - नगरकोटवासीले ‘नगरकोट बचाउ अभियान’ थालेका छन्। पर्यटकीय केन्द्र नगरकोटको आकर्षणलाई जोगाइराख्न यो अभियान थालिएको हो।
नगरकोट जाने पर्यटकसँग स्थानीय सरकारले आफूखुसी प्रवेश शुल्क लिन थालेपछि स्थानीय विरोधमा उत्रेका हुन्। पर्यटकबाट दुईवटा स्थानीय तहले प्रवेश शुल्क लिँदा नगरकोटको पर्यटन विकासमा असर पर्न थालेको स्थानीयको भनाइ छ।
पहिला भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरकोट जाने पर्यटकसँग प्रवेश शुल्क उठाउँदै आएकोमा चालू आर्थिक वर्षदेखि काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले पनि प्रवेश शुल्क उठाउन थालेपछि नगरकोटवासी आक्रोशित बनेका छन् । नगरकोट भक्तपुर र काभ्रेपलान्चोक जिल्लाको सिमानामा पर्छ।
अभियानअन्तर्गत स्थानीले चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रलाई प्रवेश शुल्क नलिन ज्ञापत्रपत्र बुझाइसकेका छन् । त्यसको बोधार्थ मण्डनदेउपुर नगरपलिका, नेपाल पर्यटन बोर्ड, प्रदेश तीनका मुख्यमन्त्रीको कार्यलय, हेटौडा, सघीय ममिला तथा स्थानीय विकास मन्त्रालय, पर्यटन तथा नगरिक उड्डयन मन्त्रालय, पर्यटनसँग सरोकार राख्ने विभिन्न संघसंस्था पाटा, टान, नाटा, हान, टुर्गानलगायतलाई दिइएको छ।
आर्थिक वर्ष २०७४/७५ मा चाँगुनारायण नगरपालिकाले नगरकोट जाने पर्यटकसँग प्रवेश शुल्क उठाउन थालेको थियो । विदेशी पर्यटकमाथि लगाइएको करले पर्यटक आवागमनमा असर परेको महसुस गरी प्रवेश शुल्क नलिेने व्यवस्था गर्न सरोकारवाला निकायलाई अनुरोध गर्दा पनि सुनुवाइ नभएको स्थानीयको भनाइ छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६४ को उपदफा १ (ड. १) मा पदयात्रा तथा पर्यटन शुल्कको दर प्रदेश सरकारले निर्धारण र संकलन गर्ने भन्ने उल्लेख भएकाले प्रदेश कानुन नबनेसम्म यस्तो कर उठाउन नपाइने उल्लेख गर्दै संघीय मन्त्रालयले पठाएको पत्रको बेवास्ता गर्दै चाँगुनारायण नगरपालिकाले कर संकलन गर्दै आएको स्थानीयको आरोप छ । चालु आवदेखि काभ्रेको मण्डनदेउपुर नगरपालिकाले पनि विदेशी पर्यटकबाट नगरकोट प्रवेश शुल्क उठाउन थालेपछि नगरकोट बचाउ अभियान सञ्चालन गर्नुपरेको स्थानीयको भनाइ छ।
नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष इन्द्र लामाले संघीय मन्त्रालयको परिपत्रको बेवास्ता गरी पर्यटन शुल्क लगाउन नहुने भन्दै आफूहरुले त्यसविरुद्ध निरन्तर आन्दोलन गर्दै आएको बताए । समितिका सचिव धनबहादुर लामाले अभियानअन्तर्गत बिहीबार काठमाडौंको माइतीघरमा धर्ना बस्ने जानकारी दिए । उनका अनुसार धर्नामा नगरकोटवासी सहभागी हुनेछन् । बिहान नौ बजे नगरकोट चोकमा जम्मा भई माइतीघर जाने कार्यक्रम तय गरिएको छ।
प्रकाशित: २९ कार्तिक २०७५ ०३:११ बिहीबार