८ वैशाख २०८१ शनिबार
समाज

सुत्केरीलाई सहज, गाउँले दंग

धादिङ - गाउँमा कुनै महिला सुत्केरी हुने बेला स्वास्थ्यचौकी लैजानसमेत गाउँमा युवा पाइन छाडिसकेको छ। घरमा सुत्केरी गराउँदा ज्यानै जाने खतरा हुने र स्वास्थ्यचौकी तथा अस्पताल लैजान एम्बुलेन्स नहुँदा स्थानीय आफैंले बोकेर लैजानुपने बाध्यता थियो तर युवाको अभावमा समस्या झनै गम्भीर बनेको थियो। अहिले भने अवस्था फेरिएको छ। समूहमा आबद्ध महिलाले एम्बुलेन्स किनेपछि गर्भवतीलाई सहयोग त पुगेको नै छ, गाउँले पनि खुसी छन्।

धादिङको थाक्रे गाउँपालिका–६ महादेवबेसी बजारमा रहेको उज्यालो भविष्य महिला समूहले एम्बुलेन्स किनेर गाउँलेलाई सेवा दिएको छ । समूहले महोत्सव सञ्चालनलगायतका गतिविधिबाट उठेको रकमले एम्बुलेन्स किनेको हो । साढे ११ लाख रुपैयाँ खर्चेर किनेको एम्बुलेन्सबाट थाक्रे गाउँपालिकाका बासिन्दालाई सुलभ सेवा प्रदान गरिएको समूहकी अध्यक्ष गंगा लामाले बताइन्। गाउँका मान्छे बिरामी हुँदा एम्बुलेन्स अभावमा अकालमा नै ज्यान गुमाउनुपरेको घटना सम्झँदै लामाले भनिन्, ‘त्यसमा पनि महिला दिदीबहिनीको स्वास्थ्यलाई ध्यान राख्दै सेवा प्रदान गरिएको छ।’

विगतमा घरमा प्रसूति गराउन अवस्था जटिल हुँदा र अस्पतालसम्म लैजान गाउँमा युवा नहुँदा धेरै गर्भवती महिलाले ज्यान गुमाउनुपरेको लामाले बताइन्। ‘प्रसूति पीडा काल बनेर आएको हामी कहिल्यै बिर्सन सक्दैनौं’, लामाले भनिन्, ‘समूहमा आबद्ध महिला मिलेर एम्बुलेन्स सेवा सञ्चालन गरेका छौं ।’ समूहले एम्बुलेन्स किनेपछि महिलालाई मात्र होइन, गाउँपालिकाभरिका बासिन्दालाई सहज भएको लामाले बताइन् । एम्बुलेन्स किन् तिहारमा भैलो खेलेर तथा मेला, महोत्सव आयोजनाका साथै समूहका सदस्यबाट समेत रकम संकलन गरिएको थियो।

वर्षौंदेखि गाउँमा एम्बुलेन्स कुदाउने सपना देखेका महिलाको सपना पूरा भएको छ । गाउँमै एम्बुलेन्स सेवा भएपछि गम्भीर किसिमका रोग लागेका तथा दुर्घटनामा परेकाको उपचार गर्न काठमाडौं, भरतपुरलगायतका सहरमा रहेका अस्पतालमा पुग्न सजिलो भएको छ । ‘गाउँकै एम्बुलेन्स सेवा भएपछि गाउँका बिरामीलाई छिट्टै अस्पताल पु¥याउन सजिलो भएको छ’, लामाले भनिन्।

दुई वर्षअघि सुरु गरिएको समूहमा अहिले चार सय महिला आबद्ध छन् । सामान्य लेखपढसमेत गर्न नजान्ने महिला अहिले समूहको सहयोगमा जन्मदर्ता, नागरिकता बनाउनेलगायतका विषयमा जानकार भइसकेका छन् । गाउँका विकास निर्माणका कार्य तथा जनचेतना जोगाउने कार्यमा उनीहरु सधैं अगाडि छन् । आफू समूहमा आबद्ध भएर धेरै कुरा सिक्ने मौका पाएको समूहकी सदस्य थाक्रे–६ की राममाया वाइवाले बताइन् । ‘समूहमा बसेर धेरै कुरा सिकियो’, बाइबाले भनिन्, ‘यही समूहबाट गाउँमै एम्बुलेन्स सेवा सञ्चालन भएको छ, जसले हामीजस्ता महिलालाई सहज भएको छ।’

राजमार्गमा दुर्घटना हुँदा घाइते भएकालाई तुरुन्त अस्पताल लैजान नसक्दा ज्यान गुमाएका घटना ताजै छन् । बिरामी भएर जँचाउन जान घण्टौं पैदल धाएर गाडी पर्खनुपथ्र्यो । ‘अब भने बिरामी पर्दा धेरै सजिलो भएको छ’, लामाले भनिन्, ‘दिनभरि गाडी पर्खेर बस्दाबस्दै बिमारी सिकिस्तै हुन्थ्यो, अब छिटै नै उपचार पाउने भयो ।’ एम्बुलेन्समा अक्सिजनसहितको सिलिन्डर, विभिन्न प्रकारका औषधि रहेको एम्बुलेन्सका चालक रामशरण थापाले बताए।

प्रकाशित: २९ कार्तिक २०७५ ०१:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App