परियोजनाहरु निर्वाध सञ्चालन हुने वातावरण हुनुपर्छ

आइतबार, ०९ असोज २०७३, १० : ०८ नागरिक

हेमराज ढकाल आइएमई समूहका थिंकट्यांक हुन्। सानै उमेरदेखि व्यवसायमा संलग्न ढकाल अहिले त्यो समूहका प्रबन्ध निर्देशक छन्। नेपालमा औपचारिक सञ्जालबाट रेमिटेन्स भिœयाउन सुरु गरेको आइएमई समूहले बैंकिङ, पर्यटन, अटोमोबाइल लगायत विभिन्न क्षेत्रमा काम गरिरहेको छ। वैदेशिक रोजगारीमा जाने घटेसँगै रेमिटेन्स भित्रिने क्रम पनि घटेको छ। यसले मुलुकको अर्थतन्त्रमा पार्ने असर लगायत विषयमा निर्देशक ढकालसँग नागरिककर्मी दिलीप पौडेलले गरेको कुराकानी।

मुलुकमा रेमिटेन्स घट्ने संकेत देखिएको छ। यसलेे नेपालको अर्थतन्त्रमा कस्तो असर पार्ला?

कच्चा तेलको मूल्यमा आएको गिरावटले वैदेशिक रोजगारीका लागि सजिला गन्तव्य मानिएका मध्यपूर्वी एसियाका राष्ट्रहरुको रोजगारीमा समस्या देखियो। 'फ्री भिसा फ्री टिकट'ले वैदेशिक रोजगारीमा समस्या थप्यो। मलेसियाको श्रम बजार पनि तुलनात्मक रुपमा प्रभावित भयो। वैदेशिक रोजगारीमा जानेको संख्या पनि घटेको छ। रेमिटेन्सको मुख्य स्रोत वैदेशिक रोजगारीमा देखिएको समस्याले रेमिटेन्स घटेको छ। कुल गार्हस्थ उत्पादनको झन्डै ३० प्रतिशतको हाराहारीमा आप्रवाह हुँदै आएको रेमिटेन्स घट्दा अर्थतन्त्रमा नराम्रो असर पर्छ। अहिले नेपालीमा देखिएको वित्तीय पहुँच, त्यो रेमिटेन्सले नै सिर्जना गरेको हो। रेमिटेन्स घट्दा उपभोक्ताको क्रयशक्ति पनि घट्छ।

रेमिटेन्स अनुत्पादक क्षेत्रमा खर्च भयो भनिन्छ नि! त्यो पुँजीलाई एकीकृत गरेर उत्पादनमा लगाउन सकिँदैन?

विदेशबाट पठाएको रकम शिक्षा, स्वास्थ्य र पोषणमा खर्च भएको छ। घरका नाना र छाना परिवर्तन भएका छन्। जीवनस्तर सुधारिएको छ। गुणस्तरीय शिक्षा र स्वास्थ्यमा खर्च भएको पैसालाई अनुत्पादनशील भन्न मिल्दैन। व्यक्तिको भविष्य वा जनशक्ति निर्माणमा गरिने लगानी उत्पानदशील क्षेत्र हो। कुनै पनि राष्ट्रमा दक्ष जनशक्ति निर्माणका क्षेत्रमा राज्यको ठूलो रकम लगानी भएको हुन्छ। यहाँ त रेमिटेन्स प्रयोग भएको छ। यसलाई कसरी अनुत्पादक भन्ने? उत्पादनशील क्षेत्रमा ल्याउन मिल्ने रकम त्यही अनुपातमा आकर्षित नभएको हुन सक्छ ।

वैदेशिक रोजगारीबाट आर्जन भएको पुँजीलाई एकीकृत रुपमा नेपालको ऊर्जा विकासमा लगाउने कार्यको थालनी हामीले गरिसकेका छौं। गैरआवासीय नेपाली र हामी मिलेर लमजुङको दोर्दी खोलामा २७ मेगावाटको हाइड्रोपावर निर्माणाधीन छ। तर, यो नै पूर्ण हो भन्ने होइन। पुँजी एकीकृत गरेर उत्पादनशील क्षेत्रमा लगाउने थालनी हो। प्रशस्तै सम्भावना छन्। यद्यपि ठूला–ठूला परियोजनामा सबैको पहुँच पुग्दैन। वैदेशिक रोजगारीमा रहेका युवाले परियोजनाको मोडालिटी परिवर्तन खोजेका हुन् कि भन्ने लागेको छ।

कस्तो मोडालिटी खोजेका होलान्?

घर–व्यवहार चलाउनकै लागि विदेशिने युवाको संख्या धेरै छ। घर पनि चलाउने र लगानी पनि गर्ने थोरैको मात्र क्षमता होला। ढिलो प्रतिफल प्राप्त हुने ठूला परियोजनामा ठूलो लगानी गर्दा उहाँहरु र परिवारको तत्कालीन आवश्यकता कुण्ठित हुन्छ। तत्काल प्रतिफल प्राप्त हुने सानो लगानीका स–साना परियोजनामा त्यस्तो पुँजी आकर्षित हुन सक्ने देखिन्छ। प्रोजेक्ट स्पेसिफिक क्षेत्रमा लगानी गर्न चाहनेको संख्या धेरै छ। सरकारी बन्डमा आकर्षण नहुनुको मुख्य कारण पनि यही नै हो। यस्तो मोडालिटीमा काम गर्न सकियो भने नेपालको निष्त्रि्कय श्रमलाई पनि सदुपयोग गर्न सकिन्छ।

नेपालले रोजगारीका नयाँ गन्तव्य खोज्नुपर्ने अवस्था आएको हो?

हेर्नुस्, विज्ञान प्रविधिको अभूतपूर्व विकासले अहिले विश्व साँघुरिएको छ। सम्भावना र अवसरको  खोजी स्वदेश–विदेश जहाँ पनि गर्न सकिन्छ। यो वा त्यो रोज्ने कि छाड्ने भन्ने व्यक्तिको कुरा हो। सम्भव भएसम्म देशका युवालाई देशकै भूगोलभित्र काम गर्ने अवसर प्रदान गरौं। यो उत्तम विकल्प हो। यो विकल्प नहुँदा स्वाभाविक रुपमा अन्य गन्तव्यको खोजी गर्नु र भएका श्रम बजारलाई नै अलि बढी प्रतिफलमूलक बनाउने प्रयास गर्नुपर्छ।

रेमिटेन्सबिना नेपालको अर्थतन्त्र कल्पना गर्न सकिन्छ कि सकिँदैन?

रेमिटेन्सको साइज अहिले अलि बढेको मात्र हो। नयाँ होइन। सन् १८१६ को सुगौली सन्धिपछि नै नेपालमा रेमिटेन्स उपयोग हुँदै आएको छ। नेपालमा रेमिटेन्सको दुई सय वर्ष पुरानो इतिहास छ। रेमिटेन्सबिनाको अर्थतन्त्रको कल्पना गर्न सकिन्छ। तर, रेमिटेन्समा यति लामो समयदेखिको एक खालको निर्भरता घटाउने पूर्वाधारको निर्माण भइसकेको अवस्था छैन। भारतमा अहिले वार्षिक झन्डै ७० खर्ब भारु रेमिटेन्स भित्रिन्छ। आर्थिक रुपमा विश्वकै उदीयमान राष्ट्र भारतको अवस्था यस्तो छ। आर्थिक रुपमा फड्को मार्दै गरेको राष्ट्रमा त्यो अनुपातको रेमिटेन्स किन आवश्यक भएको होला? व्यक्तिको छनोट गर्ने अधिकार फराकिलो भएको छ। बजार स्वदेशी वा विदेशी जुनसुकै हुन सक्छ। त्यसैले  रेमिटेन्सको भूमिका आगामी दिनमा पनि कम हुन्छ भन्ने मलाई लाग्दैन।

यहाँ विदेशमा बसेर काम गर्नुभयो। नेपालमा वैदेशिक लगानी भिœयाउने सम्भावना कस्तो छ? यहाँले पनि केही पहल गर्नुभएको छ कि?

हामीले सन् १९९१–९२ देखि नै नेपालमा व्यवसाय सुरु गरेका हौं। सन् १९९५ देखि १९९८ सम्म मैले जापानमा बिताए। जापानमा हुँदा नेपाल पैसा पठाउने ठूलो समस्या मलाईमात्र थिएन त्यहाँ हुने सबैलाई थियो। नेपालमै हुँदा व्यवसायप्रतिको आकर्षण बढिसकेको थियो। अब यो क्षेत्रमा समस्या छ र यही क्षेत्रको व्यवसाय सुरु गरौं भन्ने लाग्यो। सन् १९९८ मा जापानबाट फर्किएँ र मनी ट्रान्सफरसम्बन्धी व्यवसायको अध्ययनमा लागें। सन् २००१ मा अनलाइन सिस्टममा आधारित नयाँ रेमिटेन्स व्यवसाय आइएमई सुरु गर्‍यौं। जापानको सिकाइलाई स्थानान्तरण गरिएको यो व्यवसाय हामीले सोचे जस्तै सफल पनि भयो। अन्तर्राष्ट्रिय व्यावसायिक सम्बन्ध विस्तारका लागि ठूलो मेहनत गर्‍यौं। जुन विदेश विशेषतः मलेसियालाई स्टेसन बनाएर भयो।

विदेशको आवतजावतले विश्व बजार बु‰ने मौका पाएँ। नेपालीको श्रम विश्वको जुनसुकै राष्ट्रमा प्राथमिकतामा पर्छ। नेपालमा लगानी गर्न इच्छुक धेरै व्यक्ति वा समूह भेटेको छु। सबै राजनीतिक दलले आर्थिक विकासमा जोड दिइरहेको अवस्था छ। वैदेशिक लगानी भिœयाउने यथेष्ट सम्भावना छन्। यहाँ लगानीको उच्च प्रतिफल छ। हामी अति कम विकसित/अल्पविकसित राष्ट्र्र हौं। यसको अर्थ के हो भने हामीसँग विकासका पूर्वाधारहरु जस्तै सडक सञ्जाल, विद्युतीकरण, सिँचाइ, शिक्षा तथा स्वास्थ्य सेवाको विस्तार गर्नुपर्ने आवश्यकता छ। उच्च प्रविधिको प्रयोग तथा ठूलो लागत लाग्ने पूर्वाधार विस्तारका परियोजनामा प्रत्यक्ष वैदेशिक लगानी अपरिहार्य छ। यिनै पृष्ठभूमिका आधारमा  विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रि्रय फोरममा लगानीका लागि नेपाल एक उत्तम गन्तव्य हो भन्ने कुरा प्रस्ट पार्ने गरेको छु। कतिपय लगानीकर्ताहरु हामीसँग सहकार्य गर्ने गरी नेपाल आउन तयारी गरिरहेका छन्।

मलेसिया बसेर काम गरेको अनुभवले नेपालले सिक्नुपर्ने के देख्नुहुन्छ?

शिक्षा र भौतिक पूर्वाधारको निर्माणमा त्यहाँ ठूलो लगानी भएको छ। राजनीतिक स्थायित्वले गर्दा नीतिगत स्थिरता पनि भयो, जसले गर्दा ठूलो परिमाणमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रियो। हामीले मलेसियाबाट सिक्नुपर्ने पाठ यिनै हुन्।

चन्द्रागिरि केबुलकार यहाँकै परिकल्पना हो भनिन्छ नि!

नेपालको हस्पिटालिटी र पर्यटन उद्योगलाई टेवा पुग्ने खालको क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने लागेको थियो। व्यावसायिक कामको सिलसिलामा मलेसिया आउने–जाने क्रम चल्यो। त्यहाँको ग्यान्तिङ हाइल्यान्डको पर्यटकीय पूर्वाधारबाट प्रभावित थियौं। केबुलकार, हस्पिटालिटी र फनपार्क आदिले हामीलाई आकर्षित गरेको थियो।

सन् २००७ मा चोभारमा भएको मेरा सहकर्मी मित्रहरुको अनौपचारिक भेटघाटमा यो अवधारणा बनेको थियो। त्यसको दुई वर्षपछि त्यो अवधारणालाई मूर्त रुप दिन मेरो अध्यक्षतामा काठमाडौं फनपार्क प्रालि स्थापना भयो। यो परियोजनाको निर्माणको लागि आवश्यक जमिन चोभारमा उपलब्ध नभएकाले हामीले चन्द्रागिरिमा यसको निर्माण कार्य सुरु गर्‍यौं। हाल यो चन्द्रागिरि हिल्सको नामबाट सञ्चालित छ। परिकल्पना मेरो भए पनि यो परियोजनालाई मूर्त रुप दिने काम हाम्रो टिमबाट भएको हो।

चन्द्रागिरिको सफलतापछि यहाँको समूहका नयाँ परियोजना छन् कि?

चन्›ागिरि प्रोजेक्टमा अरु पनि हुनहुन्छ, हामी पनि छौं। यसबाट नेपालको हस्पिटालिटी र पर्यटन उद्योगलाई राम्रै सहयोग पुग्छ भन्ने लागेको छ। देशको राजधानीमै सञ्चालनमा आएको यो परियोजना आन्तरिक तथा बाह्य पर्यटकका लागि एउटा मुख्य पर्यटकीय गन्तव्य बन्ने कुरामा हामी ढुक्क छौं। हामी अहिले यही प्रोजेक्टलाई पूर्णता दिने कार्यमा छौं। चन्›ागिरिमा एउटा लेभलको काम सकिएको छ र अहिले केबुलकार चल्न थालेको छ। केबुलकार नै पूर्ण भने होइन। यो पर्यटनका विभिन्न पूर्वाधार तथा सेवाको एकीकृत परियोजना हो। रिसोर्ट खुल्दै छ। अम्युजमेन्ट पार्क बनाउँदै छौं। जीप फ्लायर लगायत पर्यटकीय पूर्वाधार निर्माण गर्दैछौं। यी सेवा र सुविधा केही समयभित्रमा पूरा हुन्छन्।

आइएमई समूहले छोटो समयमा ठूलो व्यावसायिक सफलता हासिल गरेको छ। तपाईं यो समूहको थिंकट्यांक पनि हुनहुन्छ? यो कसरी सम्भव भएको होला?

जुनसुकै व्यवसायमा जोखिम छ। हामीले गरेका हरेक व्यवसाय पनि जोखिमयुक्त नै थिए। तर, त्यसलाई निरन्तर व्यवस्थापन तथा फलोअप गर्ने काम हामीले गर्‍यौं। मैले जापानमा रहँदा कामप्रतिको सम्मान र समर्पण सिके। त्यही सिकाइ अनुरुप नेपालमा आफ्नो टिमलाई हौसला प्रदान गरे। अर्को कुरा टिमवर्क पनि राम्रो बन्यो। यसले हामीलाई सफल बनाएको हो। यो सफलताको श्रेय कम्पनीमा कार्यरत सबै सहकर्मी साथीलाई जान्छ।

यहाँको समूहका कम्पनीलाई पब्लिक बनाउने तयारी छ भन्ने चर्चा छ। कसरी अघि बढ्दै हुनहुन्छ?

हाम्रो समूहमा भएका प्राइभेट लिमिटेड कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा परिवर्तन गरिरहेका छौं। हामी यी कम्पनीलाई जति सक्दो छिटो पब्लिकमा लैजान चाहन्छौं। मैले अर्को एउटा अन्तर्वार्तामा पनि भनेको थिएँ– हाम्रो मुनाफा पब्लिकमा बाँडियोस् भन्ने हाम्रो चाहना हो। त्यसका लागि हामीले चाहेरमात्र हुँदैन राज्यका दायित्व पनि हुन्छन्। बैंकिङ समूहको प्रभुत्व रहेको वर्तमान पुँजी बजारमा अन्य सेवा व्यवसायलाई पनि लैजान राज्यले सहजीकरण गर्नुपर्ने देखिन्छ।

नयाँ क्षेत्रमा लगानी गर्ने योजना केही छ कि?

रेमिटेन्स, बैंकिङ, सूचना प्रविधि, ऊर्जा, पर्यटन, आयात–निर्यात, अटोमोबाइल, इन्सुरेन्स, पूर्वाधार निर्माण र हस्पिटालिटी जस्ता क्षेत्रमा गरेको लगानीले हामीलाई सन्तोष दिलाएको छ। हामी आगामी दिनमा साझेदारी सहितको सामाजिक उद्यमशीलता अभिवृद्वि गर्ने व्यवसाय अघि बढाउने सोचमा छौं।

व्यावसायिक वातावरण कस्तो छ? कस्तो वातावरण आवश्यक छ?

मुलुकको आर्थिक विकासमा सबै राजनीतिक दल, नागरिक समाज र निजी क्षेत्र सकारात्मक छन्। देशको मूल कानुन संविधान पनि निर्माण भइसकेको अवस्था छ। केही समस्या भए पनि ती समाधान होलान्। हामी चाहन्छौं– लगानीमैत्री वातावरण बनोस्। देशको आर्थिक विकासका लागि उद्योगधन्दा कलकारखानाको विस्तार हुनुपर्छ। साझेदारी व्यवसायको अवधारणा पनि आएको छ। सामाजिक उद्यमशीलता अहिले समयको माग हो। सार्वजनिक निजी साझेदारीका परियोजना भर्खर सुरु भएका छन्। परियोजनाको सफल कार्यान्वयनबाट लगानीकर्तामा एउटा भाइव सिर्जना हुन्छ। तसर्थ, निजी क्षेत्रबाट सञ्चालनमा रहेका अन्य परियोजना पनि व्यवधानरहित सञ्चालन गर्ने वातावरण बनाउनुपर्‍यो।

विदेशमा लगानी गरेका नेपालीले स्वदेशमा लगानी गर्ने वातावरण सिर्जना गर्न के गर्नुपर्ला?

विदेशमा स्थापित भएका नेपाली मूलका व्यवसायी नेपाल फर्किन इच्छुक भएको मैले भेटेको छु। त्यतिमात्रै होइन, विदेशमा स्थापित व्यावसायिक घरानासमेत नेपालमा लगानी गर्न इच्छुक छन्। स्वदेशमा लगानीमैत्री वातावरणको निर्माण हुँदै आएको छ। उहाँहरुलाई नेपालमा लगानीका लागि आकर्षित गर्न साझेदारी व्यवसाय र सामाजिक उद्यमशीलताको अवधारणालाई अझै व्यापक बनाउनुपर्छ ।

मुलुकमा 'ब्रेन ड्रेन'को समस्या देखिएको छ। तपाईं सफल युवा उद्यमी भएकाले यसलाई रोक्न के गर्नुपर्ला?

विकासशील तथा विकासोन्मुख राष्ट्रबाट विकसित राष्ट्रमा अवसरका लागि जाने क्रम विश्वव्यापी रुपमा छ। हामीकहाँ पनि छ। विदेश बसाइँमा प्राप्त सीप र आर्जन गरेको पुँजीलाई आफ्नो देशमा स्थानान्तरण गर्ने वातावरण निर्माण गरिदिएमा देशका युवालाई राष्ट्र विकासको मूलधारमा आकर्षित गर्न सजिलो हुन्छ।

नेपालका अथाह सम्भावना छन्। ती सम्भावनालाई अवसरमा रुपान्तरण गर्न राज्यले पनि सहजीकरण गर्नुपर्ने देखिन्छ। नेपालका युवामा हाल उद्यमशीलताप्रति बढेको आकर्षणलाई राज्यले सम्बोधन गर्न सके युवालाई स्वदेशमै बस्न प्रेरणा मिल्नेछ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad