coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमालेले सहकार्य नमान्दा जनयुद्ध गर्नुपर्यो: अध्यक्ष दाहाल

फाइल तस्बिर

म्याग्दी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कम्यूनिष्ट आन्दोलनमा सहकार्य गर्न तत्कालीन एकिकृत नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले नमान्दा आफूहरु जनयुद्धमा जानुपरेको बताएका छन्। 

बुधबार नेकपा म्याग्दीले पार्टी कार्यालयमा आयोजना गरेको कार्यकता प्रशिक्षण भेलामा पूर्व प्रधानमन्त्रीसमेत रहेका दाहालले तत्कालीन समयमा जनयूद्धको विकल्पको रुपमा नेकपा एमालेसंग सहकार्य गर्न खोजिएको खुलासा गरे। ‘एमालेसँग सहकार्य गरेर संसदीय ब्यवस्थामै संघर्ष गर्ने हाम्रो प्रयास असफल भएपछि जनयूद्धमा प्रवेश गरेका हौं,’ दाहालले भने। 

 तत्कालीन एमाले महासचिव मदन भण्डारीसंग पनि पटक–पटक पार्टी एकताको प्रयास भएको उनको भनाइ थियो। दाहालले भने, ‘नेपाली कम्युनिष्ट इतिहासलाई विश्वमा नयाँ उचाई दिन एमालेका महासचिव भण्डारीसँग एकताको प्रयास भए पनि एकता अगाडि नै भण्डारीको दुर्घटनामा ज्यान जाँदा पार्टी एकताको प्रयास असफल भयो।’

एमालेसँग सहकार्य गरेर संसदीय ब्यवस्थामै संघर्ष गर्ने हाम्रो प्रयास असफल भएपछि जनयूद्धमा प्रवेश गरेको हौं,’ दाहाल

दाहालले जनयुद्ध सुरु भएका पाँचबर्षमै नेकपा एमालेसँग पटकपटक गोप्य वार्ता भएको स्मरण गर्दै जनयुद्धमा पनि धेरै सहकार्य हुने गरेको जानकारी गराएका थिए।

‘कर्मचारीको राजाकालीन सोच संघीयताको बाधक’

यसैबीच आजै उद्योग वाणिज्य संघ म्याग्दीले आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष दाहालले संघीयताको मर्म अनुरुप राज्य सञ्चालन गर्न माथिल्ला तहका कर्मचारीले अवरोध गरिरहेको भन्दै त्यस्ता कर्मचारीलाई सरकारले नियन्त्रण गर्न अपरिहार्य रहेको औल्याएका छन्। 
‘संघीयताको मर्म सिँहदरवारलाई गाँउ गाँउ पुर्याउने भन्ने हो,’ दाहालले भने,‘ तर केही राजाकालीन उच्च पदस्थ कर्मचारीले यसलाई स्वीकार गर्न आनकानी गरिरहेका छन्, उनीहरुलाई हटाएर र नयाँ कर्मचारी ल्याएर भएपनि संघीयता कार्यान्वयन गर्नुपर्छ।

कार्यक्रममा दाहालले सरकार र निजीक्षेत्रबीच सुमधुर सम्बन्ध विकास हुनपर्ने बताएका थिए। ‘राज्यले व्यवसायीलाई विरोधीमात्रै देख्ने र व्यापारीले कसरी हुन्छ कर छलौं भन्ने भावना राख्ने प्रवृति त्याग्नै पर्छ,’ उनले भने, राज्य निजीक्षेत्र पूरक बन्न सके मात्रै हामीले भनेका समृद्दिका सपना पूरा हुनसक्छ।’

विकास निर्माणलाई गतिदिन नेपालका धेरै कानुन परिमार्जन जरुरी देखिएको दाहालको भनाई थियो।  वर्तमान सार्वजनिक खरिद ऐनका प्रावधानले पूर्वाधार निर्माणलाई सिथिल बनाएको उनको दाबी थियो।  
कामका लागि विदेसिने प्रवृतिले राष्ट्रब्यापीरुपमा साँस्कृतिक र पारिवारिक विचलन ल्याएको भन्दै राष्ट्रिय रोजगारी बृद्दिका लागि सरकार निजीक्षेत्र सहकार्यमा ढिलाई गर्नु नहुने दाहालको भनाई थियो। 

यस अघि कार्यकर्ता प्रशिक्षणमा गृहमन्त्री रामबहादुर थापाले सरकार समृद्दिका योजना कार्यान्वयनमा लागि रहेको भन्दै त्यसमा सघाउन कार्यकर्तालाई आग्रह गरेका थिए।

 

प्रकाशित: २८ कार्तिक २०७५ ०८:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App