coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

कल्याणको ओलम्पिक सपना

प्रशिक्षार्थीसँग कल्याण कुँवर । तस्बिर : नागरिक

काठमाडौं – गुरु, तेक्वान ! राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा प्रशिक्षक कल्याण कुँवरको पर्खाइमा रहेका पारा खेलाडीले बिहान पहिलो भेटमा यसरी सम्मान दर्साउँछन् । कल्याण तेक्वान भन्दै फर्काउँछन्।

नियमित अभ्यास सुरु हुन्छ । केहीबेरको अभ्यासमा खेलाडी थकित र पसिनापसिना हुन्छन् । कसैले आफैं पसिना पुछ्न सक्छन् त कसैले सक्दैनन् । पसिना पुछ्न नसक्ने (हात गुमाएका) खेलाडीको कल्याण आफैँ रुमाल झिकेर पुछिदिन्छन् । जारको पानी जगमा उभ्याउँछन्, उनै पारा एथ्लेट्स खेलाडीलाई पिलाउँछन् । लुगा मिलाइदिन्छन् । केहीबेरको आरामपछि फेरि अर्को चरणको प्रशिक्षण दिन थाल्छन् । कल्याणको दैनिकी शनिबारबाहेक सबै दिन चलिरहन्छ । बिहान ७ बजे कभर्डहल पुग्छन्, पर्खिएका खेलाडीलाई प्रशिक्षण दिन्छन् अनि सोह्रखुट्टे डेरामा फर्किन्छन्।

यो सबै आफ्नो सपनालाई साकार पार्ने दैनिकी भन्छन् प्रशिक्षक कल्याण । सन् २०२० मा जापानको राजधानी टोकियोमा ३२औं ग्रीष्मकालीन ओलम्पिक खेलकुद हुँदै छ । विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिकमा सहभागी हुने सपना धेरैको हुन्छ । तर, केही सीमित खेलाडीले मात्र यो सपनालाई पूरा गर्न पाएका हुन्छन्।

करिब दुई वर्षपछि हुने ओलम्पिकका लागि संसारभरका खेलाडीले तयारी थालिसकेका छन् । अहिलेसम्म सहभागितामै सीमित रहेको नेपालले पनि दुई वर्षपछि हुने ओलम्पिकका लागि तयारी थालिसकेको छ । नेपाल पहिलो पटक सन् १९६४ को १८औं टोकियो ओलम्पिकमा सहभागी भएको थियो । टोकियो ओलम्पिकमा नेपालबाट भूपेन्द्र सिलवाल र गंगाबहादुर थापाले एथ्लेटिक्स तथा नामसिंह थापा, रामप्रसाद गुरुङ, ओमप्रसाद पुन र भीमबहादुर थापाले बक्सिङमा प्रतिस्पर्धा गरेका थिए । त्यसभन्दा अघि सन् १९५२ को हेल्सिन्की ओलम्पिकमा भने नेपाल पर्यवेक्षकमा रूपमा सहभागी भएको थियो । ओलम्पिकमा सहभागी भएको पाँच दशक नाघिसक्दा पनि नेपालको सहभागिता सहभागितामै सीमित छ । सन् २००४ को एथेन्स ओलम्पिकमा संगीना वैद्य र सन् २००८ को बेइजिङ ओलम्पिकमा तेक्वान्दोकै दीपक विष्टले छनोट चरण पार गरेर सहभागी हुनुबाहेक अहिलेसम्मको सहभागिता वाइल्ड कार्डमार्फत मात्रै हुँदै आएको छ।

उनी हरेक दिन खेलाडीलाई लिन उनीहरूको घरघर पुग्छन् । मोटरसाइकलमा खेलाडीलाई लिएर प्रशिक्षणस्थल सातदोबाटो पुग्छन् र प्रशिक्षण सकिएपछि फेरि घरघर पुर्याउँछन् ।

विश्व खेलकुदको महाकुम्भमा नेपाल सहभागितामै सीमित भइरहेको अवस्थामा पारा तेक्वान्दोका प्रमुख प्रशिक्षक कल्याण कुँवर (३९) भने सन् २०२० को टोकियो ओलम्पिकमा राष्ट्रका लागि ऐतिहासिक पदक भिœयाउने अभियानमा लागिपरेका छन्।

विभिन्न विद्यालय र डोजाङमा तेक्वान्दो सिकाउँदै आएका कल्याण पारा तेक्वान्दो खेलका एक्ला प्रशिक्षक हुन् । सन् २०१४ मा पारा तेक्वान्दोको मास्टर्स कोर्स पूरा गरेका कुँवरले वि.सं २०७० सालदेखि पारा तेक्वान्दो प्रशिक्षणमा हात हालेका हुन् । सुरुमा आफ्नै माहिला दाइ यादव कुँवरलाई घरमै सिकाएर पारा तेक्वान्दोमा होमिएका कल्याणलाई तेक्वान्दोको प्रारम्भिक कला भने उनै यादवले नै सिकाएका थिए।

यादवले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हासिल गरेपछि भने उनले पारा तेक्वान्दोको महत्व बुझे र खेलाडी उत्पादनमा सक्रिय रूपमा लागिपरे । विभिन्न स्थानमा पुगेर खेलाडी खोज्नेदेखि उनीहरूलाई तालिम दिने काममा अहोरात्र खटिएका कल्याण दुई वर्षपछि हुने खेलकुदको महाकुम्भबाट राष्ट्रले खाली हात फर्किनु नपरोस् भन्ने ध्याउन्नमा छन्।

पाँचौं डान कल्याणले पारा तेक्वान्दोलाई रोज्नुमा पनि विशेष कारण छ । लामो समय खेलकुदमा संलग्न उनका दाइ यादव कुँवरले वैदेशिक रोजगारीका सिलसिलामा दायाँ हात गुमाएका थिए । मेसिनमा परेर हात गुमाएपछि स्वदेश फर्किएका दाजुलाई कल्याणले घरमै तेक्वान्दो सिकाउन थाले । लगातारको प्रशिक्षणपछि यादवले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल भए । उनले एसियन पारा च्याम्पियनसिपमा सन् २०१५ र ०१६ मा लगातार पदक जिते । उनले विश्व च्याम्पियनसिपमा पनि राष्ट्रका लागि पदक भित्र्याए । राष्ट्रका लागि ऐतिहासिक पदक भित्र्याउने अर्जुनदृष्टि बोकेका कल्याणले स्वयंसेवक प्रशिक्षकका रूपमा काम गर्दैै आएका छन्।

दाइको सफलताबाट हौसिएका उनले अपाङ्गता भएका व्यक्तिले पनि खेलकुदमा केही गर्न सक्छन् भनेर खेलाडी खोज्ने र उनीहरूलाई निखार्ने काममा लागे । अपाङ्गता भएकालाई जम्मा पारेर तेक्वान्दोको प्रारम्भिक सीप सिकाउन थालेका उनले सशस्त्र द्वन्द्वको समयमा एम्बुसमा परेर घाइते (स्पाइनल इन्जुरी) भएका नेपाली सेनाका सात जना खेलाडीलाई पनि तेक्वान्दोको नियमित प्रशिक्षण दिँदै आएका छन् । उनीहरूले विभिन्न प्रतियोगितामा सहभागिता जनाउनेदेखि ह्विलचेयरमा बसेर ‘डेमोस्ट्रेसन’ गर्दै आएका छन्।

‘सादा जीवन उच्च विचार’ का अनुयायी कल्याणले जुन लक्ष्य निर्धारण गरेका छन् । यही लक्ष्यलाई साकार पार्न उनले अपाङ्ग खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् । विभिन्न स्थानमा पुगेर अपाङ्गता भएका खेलाडी खोज्नेदेखि उनीहरूलाई तालिम दिनेसम्मको काम उनी आफैंले गरिरहेका छन् । अहिले उनले ११ जना अपाङ्गता भएका खेलाडीलाई तालिम दिइरहेका छन् । उनीहरूले विगत चार वर्षदेखि राष्ट्रिय टोलीसँगै सातदोबाटोमा तालिम गरिरहेका छन् । उनी हरेक दिन खेलाडीलाई लिन उनीहरूको घरघर पुग्छन् । मोटरसाइकलमा खेलाडीलाई लिएर प्रशिक्षणस्थल सातदोबाटो पुग्छन् र प्रशिक्षण सकिएपछि फेरि घरघर पुर्याउँछन् । केही खेलाडी आफैँ प्रशिक्षणस्थल आउने जाने गरे पनि उनीहरूलाई बस भाडा भने कल्याण आफैँले दिँदै आएका छन् । यी सबै मिहिनेत र लगानी कल्याणले तेक्वान्दोप्रतिको लगाव र राष्ट्रका लागि ओलम्पिक खेलकुदमा ऐतिहासिक पदक भित्र्याउने लालसाले गरिरहेका छन्।

‘विश्व खेलकुदको कुम्भमेलामा अहिलेसम्म नेपाली खेलाडीले सफलता हासिल गर्न सकेका छैनन् । टोकियो ओलम्पिकमा सबलाङ्ग खेलाडीले नसके पनि अपाङ्गता भएका खेलाडीले पदक ल्याउन सक्छन् भन्ने आशा र अपेक्षा छ । म त्यही लक्ष्यलाई अर्जुनदृष्टि बनाएर खेलाडीलाई तालिम दिइरहेको छु’, कल्याणले भने।

तेक्वान्दो संघले पारा तेक्वान्दोको विकासका लागि कमिटी बनाएर काम थाले पनि त्यसलाई प्राथमिकतामा राखेर काम भने गर्न नसकेको कल्याण बताउँछन् । ‘पारा तेक्वान्दो खेलको विकास र विस्तारका लागि नेपाल तेक्वान्दो संघले कमिटी गठन गरेको छ तर सोचअनुरूपको काम भने गर्न सकेको छैन,’ कल्याण भन्छन् । तेक्वान्दो खेलको विकास र विस्तारमा लामो समय खर्चिएका कल्याण यस क्षेत्रबाट टाढा हुन नसक्ने बताउँछन् । ‘मैले लामो समय यही क्षेत्रमा खर्चिएँ । अब यस क्षेत्रबाट टाढा हुने कल्पनासम्म पनि गर्न सक्तिनँ,’ कुँवर भन्छन्।

चितवनको रत्ननगर नगरपालिका–१ बकुलहर बिर्ताका कुँवरले सानैमा तेक्वान्दो सिक्ने अवसर पाए । माइला दाइ यादव कुँवरको प्रेरणामा कल्याणले १० वर्षको उमेरमा सेतो ‘दोबक’ लगाएर ‘किक’ हान्न सिकेका थिए । सानोमा उनले रहरले भन्दा पनि देखासिकीले तेक्वान्दो सिक्न थालेका थिए । उनको ध्यान पढाइमा भन्दा तेक्वान्दोमा केन्द्रित हुन्थ्यो । यसरी खेलकुदमा मात्र ध्यान दिँदा उनको पढाइ बिग्रियो । यसले गर्दा घरमा सधैं गाली खानुपथ्र्यो । कल्याणले खेल्न नछोड्ने, बुबा आमाले सधैं गाली गरिरहने प्रवृत्ति दोहोरिइरह्यो।

तेक्वान्दोप्रति भाइको लगाव देखेर माहिला दाजु यादव कुँवरले उनलाई सहयोग गरे । कल्याणलाई तेक्वान्दोमा लाग्ने प्रेरणा उनले दिए । सुरुमा देखासिकीको भरमा थालेको तेक्वान्दो पछि नशा बन्दै गयो । कल्याणलाई परिवारले चाहेर पनि तेक्वान्दोबाट टाढा राख्न सकेनन् । तेक्वान्दोप्रतिको उनको समर्पण देखेर परिवारले पनि उनलाई साथ दियो । पढाइ नबिगार्ने सर्तमा उनले खेललाई अगाडि बढाउन पाए । त्यसपछि उनले पढाइ र खेललाई सँगसँगै अगाडि बढाए।

परिवारबाट सहयोग पाएपछि कल्याणले चितवन चैनपुरको सौराहा तेक्वान्दो डोजाङबाट उनले आफ्नो खेलजीवनलाई अगाडि बढाए । उनी बिहान–बेलुका डोजाङमा सिक्थे । डोजाङमा सिकेको कला घरमा प्राक्टिस गर्थे । त्यसलाई निखार्ने काम माइला दाजु यादवले गर्ने गर्दथे । दाजु भाइको ‘तेक्वान्दो ट्युनिङ’ मिलेपछि कल्याणले सानै उमेरमा सफलता हासिल गरे।

दाइकै प्रेरणा र हौसलामा उनले विभिन्न प्रतियोगितामा सहभागिता जनाए । वि.सं २०५१ सालमा जिल्लास्तरीय प्रतियोगितामा रजत पदक जितेका कल्याण थुप्रै प्रतियोगितामा सहभागी भए।

विश्वलाई एउटै सूत्रमा बाँध्न सक्ने माध्यम कुन हो भनेर कसैले सोध्यो भने खेलकुद प्रायको मुखबाट निस्कने शब्द हो । विश्वमा खेलक्षेत्र नाम र दाम कमाउने माध्यमका रूपमा पनि लिइन्छ । तर कल्याणको जीवन पारा एथ्लेट्सलाई प्रशिक्षण दिनु सिवाय कुनै सेवा सुविधा राज्य पक्षबाट पाएका छैनन्।

प्रकाशित: २८ कार्तिक २०७५ ०६:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App