मानिसको स्वभाव तीन स्तरमा विभाजन गरेर हेर्ने गरिन्छ– शरीर, बुद्धि र हृदय । जसलाई कर्म, विचार र भावको स्तरबाट पनि हेर्न सकिन्छ । कर्मयोगको सिद्धान्त होस् या धर्मको यात्रा, स्वयंको यात्रा होस् या चिन्तन–मननको सिद्धान्त । ज्ञानयोगले चिन्तन मनन्लाई जोड्छ भने भक्तियोगले प्रार्थना, प्रीति र प्रेमलाई । विभिन्न धर्म र पर्वले भक्तिलाई नै जोड दिएका हुन्छन् भन्नुभन्दा पनि भक्तिभावबाट नै पर्वहरूको प्रचलन भएको होभन्दा अत्युक्ति नहोला । त्यसैमध्येको पर्व हो– छठ । कात्तिक शुक्ल पक्ष षष्ठी तिथिमा पर्ने छठ पर्व तराईबासीले मनाउने भनिए पनि आजकल काठमाडौँ सहरदेखि लिएर सबैतिर के मुस्लिम, के हिन्दु सबैले मनाउने गरेका पाइन्छ।
दीपावली सकिएपश्चात सूर्यको आराधना गरेर मनाइने यो पर्वले पनि मानिसभित्रको प्रकाश सूर्यझैँ तेजिलो भएर फैलियोस् र भित्रका अन्धकाररूपी तत्वहरू नाश भएर जाऊन् भन्ने अन्धकारबाट उज्यालोको एउटा संकेत व्यक्त गर्छ । कर्म र ज्ञानको माध्यमबाट पनि व्यक्ति आफ्नो उद्देश्य र लक्ष्यमा पुग्न सक्छ तर त्यसका लागि धेरै सोचविचार र समय लाग्छ । भक्ति यस्तो मार्ग हो जो तुरुन्तै घटित हुन्छ र जीवनको उद्देश्यमा पुर्याउन मद्दत गर्छ।
कसैलाई पनि अन्धकारमय जीवन जिउने या बाँच्ने रहर हुँदैन । अन्धकारमा बाँच्दिन भन्दाभन्दै पनि मानिस विभिन्न अन्धकारमय तत्व लिएर बाँच्न बाध्य छ । भक्तिभावको सहज मार्ग अपनाउन जान्नेले तुरुन्तै जीवनमा जे चाह्यो त्यो प्राप्त गर्छ, यसमा शंका छैन तर सर्त छ कि ऊ भित्रबाट खाली हुन सक्नुपर्छ । हुनपनि हो, खाली भाँडामा न सामान राख्न मिल्छ । पहिल्यै भरिएको छ भने त्यसमा के थप्ने ? के अट्छ ? सूर्यको आराधना र पूजा, नदीको पूजा, सरसफाइ र जीवनमा पर्यावरणको महत्व बुझ्न पनि भक्तिकै मार्ग सहज हुने भएकाले महिलाको भक्तिभावपूर्ण पर्व हो छठ । मानिसको सभ्यता विकास नदी किनारबाटै भएको हुँदा पनि संसारका प्रायः सबै देशका मानिसले सूर्यदेवलाई पुज्ने गरेका पाइन्छ।
बाहिरी सूर्यको दर्शन र अर्घ चढाउनुको तात्पर्य हामीभित्र रहेको सूर्यको खोज पनि जारी होस् र परम प्रकाशले हाम्रो चेतना जागृत गरोस् अनि मानव आफैँले आर्जित गरेका दुःखबाट मुक्त होस् भन्ने आशय हो । यो चेतना जागृत गराउने सहज माध्यम भक्ति भएकाले छठलाई भक्तिभावको पर्वका रूपमा लिइएको हो।
छठ पर्वका आफ्नै कडा नियम छन्– पहिलो दिन नहायखाय गरेपछि यो पर्व सुरु हुन्छ। सूर्य उपासना गरिने यो पर्वको विशेषता सत्य र अहिंसाप्रति मानिसको रुचि बढाउनु र सबै जीवप्रति सहानुभूति राख्नु हो। अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरी मनाइने यो पर्व ४ दिन चल्छ। व्रतको पहिलो दिनदेखि नै व्रतालुले माछा–मासु, लसुन, प्याज, कोदो, मसुरजस्ता खाद्यान्न नखाने चलन छ। शाकाहार र सात्विक भोजनलाई प्राथमिकता दिनुले स्वास्थ्यलाई धेरै ख्याल गरेको पाइन्छ । पर्वको दोस्रो दिन पञ्चमी तिथिमा खरना गरिन्छ। खरनाको अर्थ पापको क्षय हो। यसदिन गाईको गोबरले घर लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतालु दिनभर निर्जला व्रत बस्छन्। चन्द्रोदयपछि चन्द्रमालाई खिर भोग लगाएर सोही प्रसाद ग्रहण गर्छन्। पाप भित्र मनबाट नष्ट हुनुपर्छ त्यसका लागि व्रतमात्र होइन ध्यान पनि जरुरी हुन्छ भन्ने सन्देश र व्यवहारिकता यसमा जोडिन सके अरु महत्वपूर्ण हुनेछ।
तेस्रो दिन षष्ठी मनाउने गरिन्छ। यस दिन गहुँ र चामलको पिठोका गुलिया खाद्य परिकार बनाइन्छ । अन्नबाहेक फलफूल, ठेकुवा, भुसवा, खजुरी, पेरुकिया तथा मुला, गाजर, बेसारको गाँहो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती ठूलो ढकीमा राखिन्छ। छठ व्रतको तयारीमा कडाइसाथ नियम पालना गर्नुपर्ने हुन्छ। कुनै सामानमा जुठो नपरोस् वा कुनै प्रकारको वर्जित सामग्री नपरोस् भनेर सावधानी अपनाउने गरिन्छ । सावधानी अर्थात् जागरण र होस मानिसको जीवनमा नभई नहुने गुण भएकाले यसलाई व्यवहारोपयोगी बनाउने सन्देश यसले दिन खोजेको हुनुपर्छ।
जब चेतनाको स्तरबाट हाम्रो भित्रको प्रकाश सूर्यको जस्तो तेजिलो बन्दैन तबसम्म भित्रको अन्धकार मेटिँदैन । जसरी सूर्यले सत्रु–मित्र, धनी–गरिब, आफ्नो–अर्को नभनी कसैलाई भेदभाव नगरी आफ्नो प्रकाशले सृष्टिका हरेक प्राणीलाई प्रकाश छरेको छ, मानवले पनि कसैलाई भेदभाव नगरी समानरूपी प्रकाश, प्रेम र ज्ञान छर्न सकोस् भन्ने भाव यसमा छिपेको छ । मानव जातिले नै त्यो भावलाई व्यवहारमा उतार्न जरुरी छ अन्यथा पूजा प्रार्थनाले मात्र स्वभावगतरूपमा परिवर्तन आउने छैन । सूर्यको प्रकाश र यसको गतिलाई सन्तहरूले उत्तरायणको प्रतीक मानेका छन् किनकि सूर्यतिर अनुहार फर्काउनाले अनुहारमा छायाँ पर्दैन । त्यसैगरी चेतनाको स्तरबाट हामीमा प्रकाशमय ज्ञान प्राप्त भएमा दुःखरूपी अन्धकारले बास गर्न पाउँंदैन । सूर्य दर्शन, सूर्यतिर फर्कनुको अर्थ हो– परमात्माको दर्शन, गुरुको दर्शन अर्थात् अस्तित्वको दर्शन र अस्तित्वसँग तादात्म्यता राख्न खोज्नु अर्थात् परम तत्वसँग नजिकिन खोज्नु । परमतत्वसँग नाजिकिनासाथ भित्रको प्रकाशको बोध हुन्छ र सारा दुःखबाट मुक्ति पाएको अनुभूति हुन्छ।
बाहिरी सूर्यको दर्शन र अर्घ चढाउनुको तात्पर्य हामीभित्र रहेको सूर्यको खोज पनि जारी होस् र परम प्रकाशले हाम्रो चेतना जागृत गरोस् अनि मानव आफैँले आर्जित गरेका दुःखबाट मुक्त होस् भन्ने आशय हो । यो चेतना जागृत गराउने सहज माध्यम भक्ति भएकाले छठलाई भक्तिभावको पर्वका रूपमा लिइएको हो । भक्ति सर्वोपरि चेतना र रूपान्तरणको सहज मार्ग पनि हो । भक्तिमा सोचविचारको काम हुँदैन न त तर्क–वितर्क नै हुन्छ । पुराना दिनमा मानिसभित्र नै औंशीको रात जस्तो मन, वचन र कर्म हुँदैनथे । मानिस सात्विक र मधुर थिए त्यसैले कर्मयोग, ज्ञानयोगले पनि आत्मजागरणमा सिधै पुग्ने गर्थे तर आजकलका मानिसमा भित्रैबाट अनेक अराजकता फैलिएको हुँदा भक्तिभावको मार्ग नै फलित हुन दिनुपर्ने आवश्यकता महसुस गरिएको छ । मानिस अनेक तरहले विकासकै संघारमा भएको हुँदा भक्ति सम्भव पनि छ । आजको प्रविधिको सहजता र सुविधाले द्विविधमा पुगेकालाई सम्झाउने माध्यम भक्ति नै उपयुक्त हुन सक्छ किनकि भक्ति सर्वोपरि छ । भक्ति अपेक्षामा होइन, शास्वततामा छिपेको छ।
प्रकाशित: २८ कार्तिक २०७५ ०४:३७ बुधबार