८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

रुसी विपक्षी नेतालाई देश छोड्न प्रतिबन्ध

मस्को – रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई देश छोड्न प्रतिबन्ध लगाइएको छ । क्रेमलिन आलोचक नाभाल्नीलाई मंगलबार देश छोडेर जानमा रोक लगाइएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । युरोपको उच्च मानवअधिकार अदालतमा उनले दायर गरेको एउटा कानुनी मुद्दाको अन्त्यका लागि त्यसतर्फ जान लागेका बेला उनलाई रोकिएको बताइएको छ।

युरोपतर्फ जाँदै गर्दा सीमा सुरक्षा अधिकारीहरुले आफूलाई पक्राउ गरेको रुसका प्रख्यात विपक्षी नेता नाभाल्नीले बताएका छन् । मस्कोस्थित डोमोडेडोभो विमानस्थलबाट पासपोर्ट कन्ट्रोलको माध्यमबाट युरोप जाँदै गर्दा आफू पक्राउ परेको उनको दाबी रहेको छ । संघीय बालिफिस सेवाको आदेशअनुसार देश छोडेर जान नमल्निे अधिकारीहरुले पक्राउ गर्ने क्रममा बताएको नाभाल्नीले बताएका छन्।

सरकारलाई तिनुपर्ने जरिवाना वा कर्जा तिरेको छैन भने कुनै पनि रुसी नागरिकलाई देश छोडेर जान प्रतिबन्ध लगाउन सक्ने कानुन रुसमा रहेको छ । आफूले त्यस्तो कुनै आर्थिक अपचलन गरेको वा राज्यलाई तिर्नुपर्ने जरिवाना नतिरेको जानकारी नभएको नाभाल्नीले आफ्नो अनलाइन ब्लगमा लेखेका छन्।

सीमा सुरक्षाकर्मीले दिएको प्रतिबन्ध पत्रसमेत उनले आफ्नो अनलाइन ब्लगमा प्रकाशित गरेका छन् । यद्यपि सो पत्रमा के कारणले उनलाई देश छोडेर जान प्रतिबन्ध लगाइयो भन्ने विषय भने उल्लेख गरिएको छैन । त्यसैगरी प्रतिबन्ध कहिलेसम्म लागू हुन्छ भन्ने पनि सो पत्रमा उल्लेख नगरिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

स्ट्रासबर्गमा रहेको मानवअधिकारको युरोपेली अदालतमा जाने क्रममा उनी जर्मनीको फ्यांकफर्टतर्फ जाँदै गर्दा सीमा सुरक्षा अधिकारीहरुले उनलाई नियन्त्रणमा लिएका थिए । रुसी प्रहरीले पटकपटक उनलाई पक्राउ गर्ने गरेको र त्यस्तो पक्राउ राजनीतिक रूपमा पेरित रहेको भन्दै नाभाल्नीले सो अदालतमा दायर गरेको मुद्दाको अन्तिम सुनुवाईका लागि उनी त्यसतर्फ जाँदै थिए।

अदालतलका न्यायाधीशसले उनलाई रुसी प्रहरीले गर्ने गरेको बारम्बारको पक्राउ राजनीतिक रूपमा प्रेरित छ वा छैन भनेर फैसला गर्ने कार्यतालिका रहेको थियो । ४२ वर्षीय विपक्षी नेता एवं कानुन व्यवसायी नाभाल्नी क्रेमलिनका कटु आलोचक हुन् । उनले देशका शक्तिशाली राष्ट्रपति एवं राजनीतिज्ञ भ्लादिमिर पुटिनलाई चुनौती दिने गरेका छन्।

मार्च महिनामा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा पनि उनले पुटिनलाई कडा चुनौती दिने आँकलन गरिएको थियो । यद्यपि उनलाई सो निर्वाचनमा प्रतिस्पर्धा गर्न नै रोक लगाइएको थियो । विगतको मुद्दालाई लिएर रुसको सर्वोच्च अदालतले उनलाई राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्नबाट रोक लगाएको थियो । नाभाल्नीले भने अदालतको आदेश राजनीतिक रूपमा प्रेरित रहेको बताउने गरेका छन्।

प्रकाशित: २८ कार्तिक २०७५ ०४:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App