जनताको घरदैलोमै सिंहदरबार पुग्छ : दाहाल

बुधबार, २८ कार्तिक २०७५, ०७ : ३९ हरिकृष्ण गौतम

म्याग्दी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय सरकारलाई अधिकारसम्पन्न बनाइने बताएका छन् । संविधानको कार्यान्वयन तथा जनतालाई परिवर्तनको महसुस गराउन स्थानीय तहमा कर्मचारी र पूर्वाधार अभावका कारण जनप्रतिनिधिले काम गर्न नसकेको बताए।

तीनदिने पारिवारिक भ्रमणका क्रममा म्याग्दीमा रहेका पूर्वप्रधानमन्त्री दाहालले पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२ सिमलचौरमा आयोजित भेटघाट कार्यक्रममा अधिकारसम्पन स्थानीय सरकारसहित तीन तहको संघीय संरचनालाई संविधानमा तोकिएको अधिकारको प्रयोगमा ढिलाइ गर्न नहुने बताए । ‘स्थानीय तहको सबैभन्दा जटिल समस्या कर्मचारी देखियो । आवश्यक जनशक्ति नहुँदा जनप्रतिनिधिको काम देखिँदैन’, अध्यक्ष दाहालले भने।

उनले सरकारले परिवर्तनको महसुस गर्ने गरी काम गरिरहेको दाबी गर्दैै सिंहदरबारको अधिकार गाउँगाउँमा पुग्ने गरी सरकारले पूर्वाधार, कानुन र कर्मचारी व्यवस्थापन गर्ने बताए । ‘गाउँगाउँमा विकास भएमात्रै समृद्ध नेपाल बन्छ । जनताको आवश्यकता पूरा गर्न स्थानीय सरकारको संरचना बनेको हो’, अध्यक्ष दाहालले भने र उनले केन्द्रीय सरकारले गरेका जनपक्षीय कामलाई जनताको घरदैलोमा पु¥याउने जिम्मेवारी स्थानीय जनप्रतिनिधिको भएको बताए।

उनले जनतालाई विकासको अधिकार, सुशासन, घरदैलोमै सेवा उपभोग गर्ने व्यवस्था मिलाउन स्थानीय सरकारको सक्रियता थप प्रभावकारी बनाउनुपर्ने बताए । ‘अहिले नाममात्रैको सिंहदरबार गाउँमा पुगेको छ, कानुन र कर्मचारी समायोजन भएपछि जनताको घरघरमै पुग्छ’, दाहालले भने।

उनले स्थानीय सरकारको विकास निर्माणमा जनताको सहज पहुँच, स्रोतसाधनको परिचालनका साथै समस्या समाधान गर्ने गरी विश्वमै नयाँ मोडलको स्थानीय तहको संरचना लागू भएको बताए । उनले हाल जिल्लामा रहेका सरकारी कार्यालय अस्थायी भएको बताउँदै केही वर्षभित्र जिल्लामा रहेका सरकारी कार्यालय स्थानीय तहमै सारिने बताए । उनले डिभिजन वा अन्य बहानामा सदरमुकाममा राखिएका कार्यालयतर्फ संकेत गर्दै तोकिएको जिम्मेवारी र ठाउँमा पुगेर कर्मचारीले सेवा दिनुपर्ने बताए।

गृहमन्त्री रामबहादुर थापासँगै सहिद परिवार, स्थानीय जनप्रतिनिधि, पार्टीका कार्यकर्तालाई भेटघाटका क्रममा अध्यक्ष दाहालले म्याग्दी जिल्लामा विकास निर्माणमा बजेट अपुग भएको महसुस गरेको बताए । उनले धेरै प्रयोग हुने सडकमा समेत पर्याप्त बजेट अभावले विकासे योजना अलपत्र परेको बताउँदै विकास निर्माण, प्राविधिक शिक्षा, जलविद्युत्, धार्मिक तथा उपचार स्थलका रूपमा रहेको तातोपानी कुण्डमा बजेटको पहल गर्ने बताए।

सोही अवसरमा मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले कर्मचारीको व्यवस्थापन नहुँदा जनप्रतिनिधिलाई सकस भएको बताएका थिए । उनले गाउँपालिकाका वडामा सचिव नहुनु, एउटै कर्मचारीले धेरै जिम्मेवारी दिनुपर्ने अवस्थाले समस्या भएको बताए । उनले स्थानीय तहलाई नाम मात्रको अधिकार भएको बताउँदै संविधानमा तोकिएको अधिकार र बजेटलाई केन्द्र सरकारले चासो देखाउनुपर्ने बताए।

भेटघाट कार्यक्रममा मंगला माविका प्रधानाध्यापक गमबहादुर खत्रीले मावि तथा मंगला शिक्षा क्याम्पसमा प्राविधिक शिक्षाको अनुमति, पूर्वाधारको आवश्यकता रहेको बताउँदै ज्ञापनपत्र बुझाएका थिए । द्वन्द्वपीडित सुजनालाई गुमाएकी गुमा खड्कालाई भेटेर दाहालले सहिदको सपना साकार गर्ने बताए।

उनले सहिद परिवारलाई सरकारले कुनै पनि अभाव महसुस हुन नदिने बताए । उनले भेटघाटमा पटकपटक सहिदको नाम लिएका थिए । भेटघाटपछि युवा व्यवसायी अशोक शर्माको केडी कटेजमा आराम गरेर फर्किएका थिए।

सोमबार पत्नी सीताको उपचारका लागि प्राकृतिक उपचारस्थलको रूपमा परिचित म्याग्दीको तातोपानी कुण्डमा पुत्री गंगा दाहाल, गृहमन्त्री रामबहादुर थापा, उनकी धर्मपत्नी नैनकला सहित पारिवारिक टोलीले तीन दिनसम्म कुण्डमा दैनिक दुईपटक स्नानसँगै दाहाल र गृहमन्त्री थापाले पार्टीका कार्यकर्ता भेटघाट, प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिर, निर्माणाधीन अवस्थामा रहेको राहुघाट जलविद्युत् आयोजना, तातोपानीकै सरस्वती माविको अवलोकन गरेका थिए।

दाहाल दौडधूप : कार्यकर्तासँग घुलमिल हुने प्रयास

वसन्त खड्का

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल अहिले श्रीमतीको प्राकृतिक पद्धतिबाट उपचार गर्ने सिलसिलामा म्याग्दी पुगेका छन् । दसैंलगत्तै पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएपछि सार्वजनिक कार्यक्रम र पार्टी गतिविधिमा सहभागी भएका छैनन् । तर यसबीचमा दाहालको दौडधूप सामान्यभन्दा बढी नै देखियो । नेकपाले चाडपर्वका अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम र अन्य कार्यक्रममा समेत दाहाल उपत्यकाभित्र र बाहिर पनि निकै सक्रियताका साथ सहभागी भए।

दाहाल पार्टी गतिविधिमा संलग्न हुन काठमाडौं वा बाहिर जाँदा प्रायः पार्टीका महासचिव विष्णु पौडेललाई पनि साथमै लिएर हिँड्ने गरेका छन् । उनको यो सक्रियतालाई राजनीतिक वृत्तमा फरकफरक ढंगले अथ्र्याउने गरिएको छ । राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेल दाहालको दौडधूपलाई नेता–कार्यकर्तामा आफ्नो स्थान बनाउने प्रयासका रुपमा व्याख्या गर्छन् । एकजना अध्यक्ष सक्रिय हुन नसकेका बेला अर्का अध्यक्षको सक्रियता स्वाभाविक भए पनि दाहालको दौडधूप ओलीपछिको नेतृत्व आफ्नो पक्षमा पार्ने योजनाअनुसार भएको अनुमान पोखरेलको छ । ‘पछिल्लो पटकको उहाँको सक्रियता पार्टीका नेता कार्यकर्तामाझ आफ्नो स्थान बनाउनका लागि भएको जस्तो देखिन्छ,’ पोख्रेलले भने।

ओलीपछिको नेतृत्वमा दाहालसँगै माधवकुमार नेपालको पनि दाबी रहेकाले नेता–कार्यकर्तामा दाहालले आफ्नो स्थान बनाउन खोज्नु स्वाभाविक पनि रहेको पोखरेल बताउँछन् । नेतृत्वतहमा दुईजना अध्यक्ष रहेकाले ओलीपछिको दाबी स्वाभाविक रुपमा दाहालको हुने भए पनि कार्यकर्ताले पनि त्यो विषयलाई स्वीकार गर्नुपर्ने भएकाले कार्यकर्तामाझमा पनि आफ्नो प्रभाव विस्तार गर्न सक्नुपर्ने पोखरेलको भनाइ छ । ‘स्वाभाविक दाबेदार भन्नु र हुनु फरक विषय हो,’ पोखरेलले भने।

एउटा अध्यक्ष केपी ओली अस्वस्थताका कारण सुस्ताइरहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल दौडधूपमा व्यस्त हुनुलाई राजनीतिक विश्लेषकले कार्यकर्तामात्र घुलमिल हुने तथा पार्टीमा ‘स्पेस’ बनाउने प्रयत्नका रुपमा लिएका छन्।

अहिलेको अवस्थामा अध्यक्ष ओलीले सरकारको समेत नेतृत्व गरेकाले उनलाई कमजोर बनाउन सम्भव नरहेको भन्दै पोखरेल भावी नेतृत्वका रुपमा एकीकृत पार्टीका नेताकार्यकर्तासँग घुलमिल हुन दाहालको सक्रियता बढेको बताउँछन् । ‘दाहालले आफू सहभागी भइरहेका कार्यक्रममा दिने अभिव्यक्तिले पनि ओलीको विकल्प नभई आफ्नो स्पेस बनाउन खोजेको देखिन्छ,’ उनले भने।

कतिपयले ओली सुस्ताइरहेका बेला दाहालको सक्रियता बढ्नुलाई बाहिर चलखेलका रुपमा पनि अथ्र्याउने गरेका छन् । विशेष गरी पछिल्लो समय दाहालको भारतसँगको सम्बन्धलाई लिएर यस्ता टीकाटिप्पणीहरु हुने गरेका छन् । तर राजनीतिशास्त्री पोखरेल भने यो विषयमा दम नरहेको दाबी गर्छन् । ‘दाहालको अहिलेको सक्रियताका पछाडि बाहिरी चलखेलको प्रभाव छ भन्ने कुरामा मलाई विश्वास लाग्दैन,’ उनले भने । पछिल्लो समय नेपालमा बाहिरी चलखेलको प्रभाव पहिलेजस्तो नरहेको उनको तर्क छ।

दाहालको सक्रियताबारे राजनीतिक विश्लेषक झलक सुवेदीको मत पनि पोखरेलकै जस्तो छ । सुवेदी दाहालको सक्रियताका पछाडि नेता–कार्यकर्ताबीच घुलमिल हुने चाहनाले काम गरेको बताउँछन् । ‘एकजना अध्यक्ष कम सक्रिय भइरहेका बेला अर्का अध्यक्षको सक्रियताबारे विभिन्न अनुमान हुन सक्छन् तर त्यसमा नेतृत्वको प्रतिस्पर्धा हो जस्तो लाग्दैन,’ सुवेदीले भने।

पार्टी गतिहीन भइरहेका बेला दाहालको पछिल्लो सक्रियताले पार्टीलाई फाइदा नै पुग्ने सुवेदी बताउँछन् । ‘उहाँको दौडधूप पार्टीमा सल्लाहअनुसार नै भएको हुनुपर्छ । ओलीपछिको मुख्य नेता भएकाले दाहालको सक्रियता स्वाभाविक पनि हो,’ सुवेदीले भने । पार्टीभित्र घुलमिल हुनका लागि अध्यक्ष ओलीसँगै सक्रिय हुँदा फाइदा हुने भए पनि एक्लै सक्रिय हुँदा दाहाललाई नेता–कार्यकर्तामाझ स्थान बनाउन थप सहयोग पुग्ने सुवेदीको तर्क छ।

नेकपाका नेता टोपबहादुर रायमाझी भने दाहालको सक्रियतालाई स्वाभाविक मान्छन् । ‘एउटा महत्वपूर्ण जिम्मेवारीमा रहेको व्यक्तिको सक्रियता स्वाभाविक हो, कहिले बढी सक्रिय हुने र कहिले कम सक्रिय हुने भन्ने सामान्य कुरा हो, त्यसैले यो विषयलाई धेरै ठूलो बनाउन आवश्यक छैन,’ रायमाझीले भने।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गउँमा...

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंक लिमिटेडले धनगढीको सीपी हस्पिटल प्रा.लि.सँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । ...

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा रौतहटको गरुडामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नु...

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

दक्षिण एसियामा ओपो रेनो १०एक्स सिरिज सार्वजनिकसँगै नेपालमा असार १५ बाट उपलब्ध हुने भएको छ । ...

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक अभियान यही असार ९ देखि १५ सम्म हुने भएको छ । ...

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

नेपालका लागि ह्वावे स्मार्टफोनको अधिकृत वितरकले आफ्ना स्मार्टफोन र ट्याब्लेटमा गुगल एप तथा फेसबुक नचलेमा ग्राहकलाई पूरै पैसा फिर्ता गरिने...

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी टेडिङले औपचारिक रूपमा नयाँ टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ...

१३औं राष्ट्रिय ए .यस .ए. आर्किटेक्चर प्रदर्शनी सम्पन्न

१३औं राष्ट्रिय ए .यस .ए. आर्किटेक्चर प्रदर्शनी सम्पन्न

राइनो ५०० डि तथा रिद्धि सिद्धि सिमेन्टको संयुक्त सहकार्य लगायतको सहायतामा वास्तुकला र यसका विभिन्न पक्षका साथै पुनःनिर्माण र नेपालका...