coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अस्ताउँदो सूर्यलाई अर्घ

लहान– सूर्य उपासनाको महापर्व छठ मंगलवार अस्ताउँदो सूर्य देवलाई अर्घ दिई मनाइएको छ। मंगलवार अपरान्हदेखि नै यहाँको पोखरी नदी र जलासयमा श्रद्धालुहरुको भिड, विभिन्न पूजा सामग्रीसहित जाने क्रम सुरु भएको थियो।

अस्ताउँदो सूर्य देवलाई अर्घ अर्पण गरि कतिपय स्थानमा श्रद्धालुहरु पुजा सामग्री घर लग्ने र बुधवार बिहान पुनःजलासयमा पूजा सामग्रीसहित जाने गर्छन्। तर लहान ३ को रघुनाथपुर पोखरीमा भने श्रद्धालुहरुको पूजा सामग्री छठ घाटमै राख्ने व्यवस्था पूजा समितिले मिलाइएको छ। पूजा सामग्री लिएर घर जाने र पुनः आउने झन्झटबाट मुक्त गर्न सुरक्षित व्यवस्था मिलाइएको समितिका अध्यक्ष भुबनेश्वर महतोले बताए। उनका अनुसार छठ घाटमा बस्ने श्रद्धालुहरुको मनोरञ्जनका लागि धार्मिक नाँचगानको समेत ब्यबस्था मिलाइएको छ।

चार दिवसीय छठ पूजाको अन्तिम दिन बुधवार उदाउँदो  सूर्यदेबलाई अर्घ प्रदान गरी पूजा सम्पन्न हुनेछ। पूजाको पहिलो दिन आइतवार व्रती महिला र पुरुष पबित्र जलासयमा स्नान गरि अरवाअरबाईन खाई व्रतको सुरुवात गरेका थिए। सोमवार खरनाको खिर भगवानलाई भोग लगाई सपरिवार खाएर निर्जल र निराहार व्रतको सुरुवात गरेका व्रतालुहरु बुधवार बिहान उदाउँदो सूर्यदेवलाई अर्घ दिएपछि मात्र व्रतीहरु अन्नजल गर्नेछन्। 

अस्ताउँदो सूर्यलाई अर्घ चढाउने क्रम साँझदेखि सुरु हुने भए पनि दिउँसोबाटै पवित्र घाटहरुमा जाने क्रम शुरु हुन्छ।  चार दिवसीय छठ पूजाको चौथो दिन भोलि (बुधबार) विहान उदाउँदो सूर्यलाई अर्घ प्रदान गरी यो पर्व सम्पन्न हुनेछ। पर्वको पहिलो दिन आइतवार व्रती महिला पुरुष पवित्र जलासयमा स्नान गरी अरवा अरवाईन(चोखो खाने कुरा) खाएका थिए। सोमवार दिन भरि उपवास बसी साँझ गुलियो खीर प्रसाद चढाई परिवारसहित खाएका थिए। जसलाई स्थानीय भाषामा षडना भनिन्छ। षडना(खरना) पछि निराहार बसेका व्रतालुहरु गएरातीदेखि निराहार व्रत बसेका छन्। उदयाचलगामी सूर्यलाई अर्घ प्रदान गरी तथा छठको कथा श्रवण गरी मात्र उनिहरु अन्न जल ग्रहण गर्ने छन्। 

छठ पर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो। छठ पर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो। अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो।

धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ।

आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिक विशेषता हो, जो आडम्वरविहीनताको परिचयसँगै श्रमको सम्मानको परिचायक मानिन्छ। सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ।

छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य पनि त्यत्तिकै छन्। वैज्ञानिक र ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन्।

ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी व्रतालुले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ। छठका अवसरमा बेहुली झैँ सिङ्गारिएका पोखरी र तलाउमा नवबस्त्रमा सजिएका श्रद्धालुको भीड उल्लेखनीय रहेको थियो।

प्रकाशित: २७ कार्तिक २०७५ १२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App