मुम्बई– बलिउडमा आगामी वर्ष सन् २०१९ मा अभिनेताद्वय सलमान खान र रणवीर कपूरको फिल्मबीच प्रतिस्पर्धा हुने भएको छ।
मंगलवार करण जौहरले आफ्नो आगामी फिल्म ‘ब्रह्मास्त्र’को प्रदर्शन २०१९ को डिसेम्बरमा पर्ने क्रिसमसमा हुने घोषणा गरेका छन्। रणवीर कपूर प्रमुख भूमिकामा रहेको यो फिल्मको प्रथम प्रदर्शन मिति १५ अगस्ट २०१९ लाई तोकिएको थियो। तर, मंगलवार मिति सार्दै करणले क्रिसमसमा प्रदर्शन हुने घोषणा गरेका हुन्।
क्रिसमसमै सलमान खानको फिल्म ‘किक २’ पनि प्रदर्शन हुँदैछ। किक २ को मिति यसअघि नै क्रिसमसमा प्रदर्शनका लागि तय भइसकेको थियो। अहिले करणले ‘ब्रह्मास्त्र’को मिति सार्दै रणवीरको भिडन्त सलमान प्रमुख भूमिकामा रहेको ‘किक २’ सँग निश्चित गराएका छन्।
‘ब्रह्मास्त्र’ आयान मुखर्जीद्वारा लिखित तथा निर्देशित फिल्म हो। यसलाई करण जौहरले निर्माण गर्दैछन्।
फिल्ममा रणवीरका अलावा आलिया भट्ट, अमिताभ बच्चन, अक्किनेनी नागार्जुन, मौनी राय लगायत कलाकारको अभिनय देख्न पाइनेछ। यो फिल्मबाट अमिताभले पहिलोपटक आलिया र रणवीरसँग स्क्रिन शेयर गर्दैछन्।
प्रकाशित: २७ कार्तिक २०७५ ११:५१ मंगलबार