७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

गाजामा भड्किएको हिंसाले शान्ति प्रक्रियामा संकट

प्यालेस्टाइन- गाजा क्षेत्रमा भड्किएको पछिल्लो हिंसाले महिनौंदेखि जारी अशान्ति अन्त्य गर्ने प्रयत्नमै अबरोध सिर्जना गर्ने खतरा बढेको छ। इजरायली हवाई आक्रमणबाट पछिल्लो पटक चारजना प्यालेस्टिनीको मृत्यु हुनुका साथै हमासको टेलिभिजन भवनलाई क्षतिग्रस्त बनाएसँगै हिंसात्मक घटनामा अझ वृद्धि भएको हो। 

इजरायली सैनिक स्रोतले हमासको टेलिभिजन भवनबाट इजरायलभित्र क्षेप्यास्त्र प्रहार भएको र त्यसबाट मङ्गलबार एक जनाको मृत्यु भएको जनाएको छ। इजरायली विशेष फौजले आइतबार गाजा क्षेत्रमा गरेको गोप्य कारबाही गरेसँगै हमासले पनि त्यसको बदला लिने जनाएको छ। 

इजरायली सैनिकले सामबार अपराह्नदेखि मङ्गलबार बिहानसम्मको अवधिमा १०० भन्दा बढी विद्रोही इलाकामा आक्रमण गरेको जनाएको छ। हमासले आफ्नो नियन्त्रण भएका क्षेत्रबाट इजरायली भूमितर्फ तीन सय ७० वटा क्षेप्यास्त्र प्रहार गरेको इजरायली सेनाले दाबी गरेको छ। 

गाजा क्षेत्रबाट प्रहार गरिएका १०० भन्दा बढी क्षेप्यास्त्रहरुलाई इजरायली प्रतिरक्षा प्रणालीले थाहा पाएको र तीमध्ये अधिकांश खुला ठाउँमा खसेका थिए। इजरायली सेनाका अनुसार केही क्षेप्यास्त्रहरु घर र अन्य संरचनामा खसेका छन्। 

दक्षिणी इजरायलको आस्केलोन सहरको एक घरको भग्नावशेषमा फेला परेका एक व्यक्तिको शव निकालिएको आपतकालीन सेवा प्रदायक संस्था युनाइटेड हतजलाहले जनाएको छ। सोही भवनबाट उद्धार गरिएकी एक महिलाको अवस्था अत्यन्त नाजूक रहेको र उनको उपचार भइरहेको छ। 

प्रहरीले मारिएका ती व्यक्ति प्यालेस्टिनी रहेको जनाएको छ। एकजना प्रहरी प्रवक्ताले आस्केलोनको घरमा ती व्यक्ति कसरी आए भन्ने अनुसन्धान भइरहेको बताएका छन्। 

स्वास्थ्यकर्मीहरुले हमासको आक्रमणका कारण करिब २० जना इजरायली नागरिक घाइते भएको बताएका छन्। गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणबाट तीन जना प्यालेस्टिनीको मृत्यु भएको र अरु नौ जना घाइते भएको जनाएको छ। 

प्यालेस्टिनी मुक्तिमोर्चा नामको विद्रोही समूहले इजरायली आक्रमणबाट मारिने दुई जना प्यालेस्टिनी आफ्ना सदस्य रहेको जनाएको छ। तेस्रो व्यक्ति भने इस्लामिक जिहादको सैनिक रहेको बताइएको छ। इजरायली आक्रमणबाट घाइते भएका अर्का प्यालेस्टिनीको उपचारकै क्रममा मङ्गलबार मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

महिनौंदेखि गाजा–इजरायल सीमा क्षेत्रमा व्याप्त हिंसात्मक अशान्ति बिस्तारै मत्थर हुनेक्रममा रहेपनि एकाएक हिंसा भड्किएको छ। 

हालैका साताहरुमा गाजा क्षेत्रमा कार्यरत कर्मचारीको तलब भुक्तानीका लागि कतारलाई लाखौं डलर उपलब्ध गराउन तथा विद्युत सङ्कट समाधान गर्न इन्धन उपलब्ध गराउन इजरायलले सहमति दिएको थियो। 

पछिल्लो हिंसा भड्किनुअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले चौतर्फी आलोचनाबीच प्यालेस्टाइनका लागि रकम उपलब्ध गराउन कतारलाई अनुमति दिएका थिए। उनले सम्भावित युद्ध टार्न पनि यस्तो सहमति दिएको बताइन्छ। 

इजरायल र प्यालेस्टिनी विद्रोहीबीच गाजा क्षेत्रमा सन् २००८ यता तीन पटक युद्ध भइसकेको छ। पछिल्ला हिंसात्मक घटनाक्रमले चौथो युद्ध निम्त्याउन सक्ने अनुमान गरिएको थियो। युद्धको निर्णय लिने सर्वोच्च निकाय इजरायली सुरक्षा परिषदको बैठक मङ्गलबार बिहानका लागि डाकिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। 

नेता न्याहू पेरिस भ्रमणलाई छोट्याएर स्वदेश फर्किएका छन्। उनले सोमबार नै सुरक्षा प्रमुखहरुसँग पछिल्लो अवस्थाका बारेमा छलफल गरेका  छन्। 

राष्ट्रसङ्घका मध्यपूर्व कुटनीतिज्ञ निकोलाए म्लाडेनोभले पछिल्ला हिंसात्मक कारबाहीहरु निकै खतरनाक रहेको बताएका छन्। उनले सबै पक्षलाई धैर्य कायम राख्न आग्रह गरेका छन्। 

इजरायलले आइतबारको गोप्य कारबाही सूचना–संग्रह अभियान मात्र रहेको, र यो कुनै व्यक्तिको हत्या वा अपहरणमा केन्द्रित नरहेको स्पष्ट गरेको छ, तर हमासले इजरायली दाबीको खण्डन गर्दै बदला लिने जनाएको छ। 

इजरायली सैनिकले आइतबारको अभियान पूर्व योजना बमोजिम अघि बढ्न नसकेको र भिडन्त भएको बताएको छ। प्यालेस्टिनी अधिकारीहरुले इजरायली गोप्य अभियानकै क्रममा इजरायली हवाई आक्रमण भएकाले आशंका उत्पन्न भएको जनाएको छ। 

हमासले इजरायली विशेष फौजको टोली दक्षिणी गाजा क्षेत्रको खान युनिसभित्र कार लिएर आएको बताएको छ। तर यहीबीच गोली हानाहान हुँदा स्थानीय अल–क्वास्सामका कमान्डर नुर बाराका सहित अर्का विद्रोही मारिएका थिए।  त्यसपछि उक्त कार लिएर भाग्न लागेका इजरायली सेनाको सुरक्षाका लागि हवाई आक्रमण गरिएको हमासको भनाइ छ। 

इजरायली आक्रमणमा मारिएका सातै जना प्यालेस्टिनी विद्रोहीको सोमबार हजारौं प्यालेस्टिनीको उपस्थितिमा दाहसंस्कार गरिएको छ। त्यसक्रममा बन्दुक सहित उपस्थित अल–क्वास्सामका सदस्यहरुले हावामा गोली चलाएका थिए। 

गाजा–इजरायली सीमामा गत मार्च २० देखि नै हिंसात्मक झडपहरु भइरहेका छन्। इजरायली सेनाको कारबाहीमा यस अवधिमा कम्तीमा दुई सय ३१ प्यालेस्टिनीको मृत्यु भइसकेको छ। यस घटनामा हालसम्म दुई जना इजरायली सैनिकको मृत्यु भएको छ। 

प्रकाशित: २७ कार्तिक २०७५ ११:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App