coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

चामलकै भाँउमा बिक्छ कोदो

सिन्धुलीको तिनकन्याका किसानले बारीमा लगाएको कोदो। तस्बिरः अनिल/नागरिक

सिन्धुली – सिन्धुलीको महाभारत क्षेत्रमा फल्ने कोदोले मूल्य पाउन थालेको छ। कोदोको मदिरामा उपयुक्त हुने भन्दै कोदोको मदिराको माग बढ्न थालेपछि महाभारत क्षेत्रमा फल्ने कोदोले मूल्य पाउन थालेको हो। 

यहाँको गोलञ्जोर गाँउपालिका, सुनकोसी गाँउपालिका, तीनपाटन गाँउपालिका, घ्यालेख गाँउपालिका लगायतका माथिल्लो भू–भागमा फल्ने कोदोले पछिल्लो समय बजार पाउन थालेको किसानले बताएका छन्। सामान्य रोटी तथा ढिडो खान प्रयोग हुदै आएको कोदो पछिल्लो समय घरेलु मदिराका लागि उत्कृष्ठ मानिदै आएको छ। 

कोदोको रक्सी धेरैको रोजाइमा पर्न थालेपछि ग्रामिण क्षेत्रको कोदोले भाँउ पाउन थालेको किसान बताउछन्। हामीले लगाएको कोदो चामलकै भाँउमा विक्रि हुन्छ, गोलञ्जोर गाँउपालिका–४, तिनकन्याका प्रेम ठकुरीले भने, ‘एक सय पचास रुपैयाँ पाथिले घरमै आएर कोदो किन्नेको लर्कोनै लाग्छ। कोदोको रक्सीको माग उच्च हुदै गएपछि विगत केहि वर्ष अगाडीसम्म मान्छेले खाइनसक्दा गाइबस्तुलाई खुवाउनुपर्ने कोदोले हाल मूल्य पाउन थालेको छ। 

धान नफल्ने खेत बारीमा मुख्य बालिको रुपमा मकै लगाइन्छ, मकै भित्र्याउनेवित्तिकै कोदो लगाउने गरिन्छ। महाभारत क्षेत्रमा वर्षमा दुई बालि मात्रै हुने र ति दुई बालि मध्ये कोदोलाई पनि प्रमुख बालिकै रुपमा यस क्षेत्रका किसानले लिने गरेका छन्। आर्थिक रुपमा कमजोर र धान फल्ने खेत नभएका किसानले भने मकै र कोदोलेनै पेट पाल्दै आएका किसानलाई पछिल्लो समय चामलकै भाँउमा कोदो विक्रि हुन थालेपछि किसानलाई चामलकै भात खान समस्या नहुने भएको छ। अब चामल र कोदो सरि साट्न सकिने भएको छ, ति किसानले भने, ‘त्यसैले यहाँका किसानले कोदो खेतीलाई समेत प्राथमिकतामा राख्न थालेका छन्।’ 

घरेलु मदिरा(रक्सि) बनाउनेले आफुहरुले लगाएको कोदो किन्न आउने गरेको भन्दै बर्षेनी कोदोको भाँउ बढेको उनले जनाए। गत वर्षको तुलनामा कोदोको माग बढेको छ, अर्का एक किसान भन्छन्, जति कोदोको मदिराको माग बढ्छ त्यतिनै हामी किसानले लगाएको कोदोको भाँउ बढ्छ।’ व्यापारीले कोदोको मदिरा गाँउघर मात्रै नभएर सदरमुकामका होटलमा समेत राम्रो व्यापार गर्ने गरेका छन्। 

पछिल्लो समय सदरमुकामका अधिकांश होटलमा कोदोको मदिरा पाइन्छ। प्याकिङका ब्राण्डेड रक्सि सरहनै कोदोको रक्सिको व्यापार बढेपछि किसानलाई त्यसको प्रत्यक्ष फाइदा पुगेको हो। हामीकहाँ बाहिरबाट आयात हुने रक्सि भन्दा कोदोको रक्सि खाने ग्राहक बढी छन्, सदरमुकामै एक होटल व्यवसायी भन्छन्, ‘प्रहरीले घरेलु मदिरा नियन्त्रण गर्ने अभियान राख्छ, तर घरेलु भन्दा आयातित रक्सिलाई बन्देज गरेर घरेलु मदिरालाई प्राथमिकता दिए यहाँका स्थानियको जिवनस्तरनै उक्सिन्छ।’ उनले किसान र व्यापारीलाई समेत प्रत्यक्ष फाइदा पुग्ने भन्दै घरेलु मदिराले गाँउघरका कोदो र मकैले राम्रो मुल्य पाउने बताए। 

विशेष गरि कोदो मकै तथा चामलको कनिकाबाट बनाइने घरेलु मदिरा मध्ये कोदोको मदिराको माग उच्च छ। सबैको रोजाइमा कोदोकोनै रक्सि पर्ने गरेको स्थानीय बताउछन्। यहाँको साविकका मझुवा, रतनचुरा, तिनकन्या, जलकन्या, अमले बस्तिपुर नेत्रकाली, लगायतका महाभारत क्षेत्रका गाविसमा कोदोको उत्पादन बढी हुने गरेको छ।

प्रकाशित: २७ कार्तिक २०७५ ०८:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App