काठमाडौं- वर्षाले प्रभावितसहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा शनिबार पुल्चोक स्पोर्टसले खुमलटार युथ क्लबलाई १–० ले हराएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा तेजेन्द्र पुनले ४४औं मिनेटमा गोल गरेका थिए। लिग तालिकाअनुसार हल्चोकस्थित एपिएफको मैदानमा दुई खेल हुनुपर्नेमा वर्षाले गर्दा हुन सकेन।
खुमलटारले पहिलो हाफको इन्जुरी समयमा खेलमा फर्कने मौका पाएको थियो। तर टोलीले त्यसलाई सदुपयोग गर्न सकेन। खुमलटारका सबिरकुमार चौधरीले पेनाल्टी अवसरमा गोल गर्न सकेनन्। उनको प्रहार रोक्नपुल्चोकका कप्तान एवं गोलकिपर श्रीजन श्रेष्ठ सफल भए। जितपछि पुल्चोक १६ अंकसहित अंकतालिकाको पाँचौं स्थानमा पुगेको छ। जारी लिगमा पुल्चोकले १० खेलमा ५ जित १ बराबरी नतिजा निकालेको छ।
शनिबार स्थगित श्रीकुमारी र सामाजिक तथा एनआरटी र बाँसबारीबीचको खेल आइतबार सातदोबाटोमा हुने आयोजक एन्फाले जनाएको छ।
प्रकाशित: ९ आश्विन २०७३ ०३:२९ आइतबार