८ वैशाख २०८१ शनिबार
खेल

थ्रीस्टारले आज सिलोङसँग खेल्ने

काठमाडौं- नेपाली लिग च्याम्पियन रुस्लान थ्रीस्टार क्लबले आइतबार बोर्डोलोई कप फुटबल प्रतियोगितामा सिलोङ लाजोङसँग खेल्ने भएको छ। सिलोङ लाजोङ भारतीय आई लिग क्लब हो। यस क्लबबाट नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर अनिल गुरुङले पनि व्यावसायिक फुटबल खेलेका थिए।

भारतको गुवाहटीमा जारी ६४ औं बोर्डोलोई कपको सेमिफाइनल पुग्न आइतबार दुवै टोलीलाई जित आवश्यक छ। बराबरी नतिजा आए अन्य टोलीको नतिजापछि मात्र सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ।

थ्रीस्टार र सिलोङसँग समान ४ अंक छ। जित पाउने टोली समूह 'ए' को विजेता बन्नेछ। समूहको अर्को टोली ओयल इन्डिया २ अंक जोड्दै तेस्रो स्थानमा छ। अंकविहीन नागाल्यान्डको बारक फुटबल क्लब पुछारमा छ। आइतबारै अर्को खेलमा ओयल इन्डिया र बारक भिड्नै छन्।

थ्री स्टारका प्रशिक्षक मेघराज केसीले समूह विजेताका रूपमा सेमिफाइनल प्रवेश गर्नेलक्ष्यसहित खेल्ने बताए।

'एक दिनको आराममा खेलाडी मैदानमा उत्रने हुँदा पक्कै पनि थकित छौं तर प्रतिद्वन्द्वी बलियो भएकाले मिहिनेत गरेर समूह विजेताका रूपमा सेमिफाइनल प्रवेश प्रयास गर्नेछौं,' केसीले भने। एकदिनको विश्रामपछि टोली सिलोङ लाजोङविरुद्ध उत्रन लागेको छ।

प्रशिक्षक केसीले भने, 'लिग चरणको नतिजा हेर्दा प्रतिद्वन्द्वी क्लब पनि हामी जत्तिकै समान ४ अंक बनाएर शीर्ष स्थानमा छ, सिलोङलाई कमजोर आँक्ने गल्ती हामीले गर्ने छैनौं।'

चोटका कारण प्रकाश बुढाथोकी र अघिल्लो खेलमा रातो कार्ड पाएका विजय धिमाल आइतबार उपलब्ध हुने छैनन्। थ्रीस्टार र सिलोङ लाजोङको खेल बराबरीमा सकिए दुवै टोली सेमिफाइनल पुग्नेछन्। तर ओयल इन्डियाले जित निकाले समीकरण फरक हुनेछ।

प्रतियोगितामा थ्रीस्टारले पहिलो खेलमा नागाल्यान्डको बारक फुटबल क्लबलाई ६–१ ले हराएको थियो। दोस्रो खेलमा थ्रीस्टार ओयल इन्डियासँग १–१ को बराबरी रोकिएको थियो।

प्रकाशित: ९ आश्विन २०७३ ०३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App