coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

मल अभावले गहुँ छर्न ढिलो

मल खरिदका लागि धनगढी बजारका एग्रोभेट पसल चहार्दै कृष्णपुर पिपरीका किसान । तस्बिर : पुष्पराज/नागरिक

कैलाली – हरेक वर्ष कात्तिक दोस्रो साता कृष्णपुर–९, पिपरी कञ्चनपुरका छेदाराम राना खेतमा गहुँ छरिसक्थे । तेस्रो सातासम्म त खेतमा गहुँ टुसाइसक्थ्यो । तर, यसपलि भने उनको खेत जोत्नै बाँकी छ।

‘खेत जोतेर छोड्दा चिस्यान सुक्छ र गहुँ उम्रिदैन,’ उनले भने, ‘मल नपाएरै खेत जोतेन ।’ उनी मात्रै हैन गाउँका धेरैले खेत बाँझै छोडेका छन् । मल पाइने वित्तिकै खेत जोत्ने सोच राखेको सोही गाउँका भोले राना बताउँछन्।

मलको खोजीमा हरेक दिन धनगढीस्थित कृषि सहरकारी चहार्दै आइरहेको बताउँदै भोलेले भने, ‘मल नपाएरै गहुँ छर्न ढिलो भइसक्यो ।’ उनले अहिलेसम्म खेतमा गहुँ छर्न नसक्दा चिस्यान सुक्न थालेको बताए । उनले भने, ‘चिस्यान सुकेपछि यसपालि गहुँबाली खासै नसप्रिन सक्छ।’

राना मात्रै हैन अहिले धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालयमा डिएपी, युरिया र पोटास मलको खोजीका लागि दैनिक सयौं कृषि सहकारी आउन थालेका छन् । लगातार सात दिनदेखि कृषि सामग्री कम्पनीमा मलका लागि धाउँदा पनि नपाएको गुनासो पोख्दै प्रतापपुर ग्रामीण सहकारी संस्थाका दीर्घसिंह बमले भने, ‘गाउँमा किसानले मलखादको लागि हैरानी बनाइसके, यहाँ मल पाइँदैन।’

उनले कृषि सामग्रीबाट अनुदानको मल लगेर सहकारीमार्फत किसानलाई वितरण गर्ने बताए । साना किसान कृषि सहकारी संस्था मालाखेतीबाट धनगढी पुगेकी बबिता गुरुङले पनि ४० क्विन्टल डिएपीका खरिदका लागि बैंकमा पैसा बुझाइसके पनि दुई दिनदेखि मल पाउन नसकेको गुनासो पोखिन् । ‘सहरकारी मार्फत ४० क्विन्टल मलको माग भएको छ,’ उलने भनिन्, ‘यहाँ आउँदा मलै पाइँदैन, गाउँमा किसानले हैरान बनाइसके।’

व्यक्तिगत र डिलरमार्फत मल बेच्दै आएको कृषि सामग्रीलाई नेपाल सरकारले मल बिक्री कार्यविधि २०६९ निर्माण गरेर कृषि सहरकारीमार्फत थोकमा बेच्न थालेपछि गाउँगाउँका सहकारीले एकमुष्ट मल खरिद गर्न थालेको हो । व्यक्ति र डिलरमार्फत मल बेच्दा कालोबजारी हुने र वास्तविक किसानले महँगोमा मल किन्नुपर्ने बाध्यता हटाउँदै सरकारले २०६९ मा सहकारीमार्फत मल वितरण गर्दै आएको थियो।    

गाउँगाउँमा सहकारी खुलेपछि अहिले कैलालीमा मात्रै दुई सय ४७ वटा सहरकारीले कृषि सामग्रीमा सूचिकृत गराएका छन् । उनीहरुले एकै समयमा मल खरिद गर्न थालेपछि धनगढीमा मलको हाहाकार मच्चिएको छ । कैलालीमा मात्रै हिउँदे बालीका लागि २५ सय टन डिएपी र पाँच हजार टन युरिया खपत हुने गर्छ । तर, अहिलेसम्म डिएपी १२ सय टन र युरिया ६ सय टन मात्रै धनगढीमा आइपुगेको छ।

‘माग बमोजिम मल नआउँदा र सहरकारीले सँगै मल खोज्दा अभाव सिर्जना भएको छ,’ कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढी प्रमुख दुर्गाप्रसाद पाण्डेयले भने, ‘हामीले कोटा अनुसारको मल पूरै आपूर्तिका लागि भैरहवामा झकझक्याउँदै आएका छौं, तर पनि सोचेजस्तो मल आउन सकेको छैन।’

दैनिक दुई ट्रक मल आउँदा यहाँ खोसाखोसको स्थिति आउने गरेको उनले बताए । ‘जिल्लाभरका सहकारीले पैसा बुझाइसके,’ उनले भने, ‘पैसा बुझाएका सहरकारीले मल नपाउँदा खोसाखोसको स्थिति हुने गरेको हो ।’ किसानले समयमै मल नपाउँदा स्वभाविकै रुपमा गहुँ खेती ढिलो भएको उनी बताउँछन्।

प्रकाशित: २७ कार्तिक २०७५ ०५:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App