१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

लाङटाङका होटल पर्यटकले खचाखच

पर्यटकीय क्षेत्र लाङटाङ पुगेर फर्कदै गरेका पर्यटक । तस्बिर : हिमनाथ/नागरिक

रसुवा – भूकम्पले क्षतिग्रस्त पदमार्ग, निजी आवास र धार्मिक सम्पदा पुनर्निर्माण भएसँगै लाङटाङमा पर्यटक आउने क्रम बढेको छ । भूकम्प गएको वर्ष पर्यटकको आगमन नभएको पर्यटकीय क्षेत्र लाङटाङमा दुई वर्षदेखि आन्तरिक तथा बाह्य पर्यटक आइरहेका छन् । यो सिजनमा दैनिक डेढ सयको हाराहारीमा पर्यटक पुगेका छन्।

भूकम्पपछिका दिनमा लाङटाङमा पर्यटक आगमन बढेको होटल व्यवसायी दिण्डुप लामाले बताए । १५ वर्षअघिसम्म लाङटाङ आउने पर्यटकले आफैंले खाना खाजा बोकेर आउने गरेका उनको भनाइ छ । ‘पहिले पर्यटक आउँदा क्याम्पियनको तरिकाले आउँथे,’ उनले भने, ‘अहिले खर्च गर्ने खालका पर्यटक आउँछन्।’

लामा होटलदेखि लाङटाङसम्मको पदमार्गमा पर्यटकले होटल भरिएका छन् । यो रुटमा होटल कम भए पनि आएका पर्यटकलाई बासको समस्या हुन नदिएको उनले बताए । पर्यटक आउन थालेपछि भत्किएका घरहरू निर्माण भइसकेको होटल व्यवसायी फिन्जो तामाङले बताए । ‘यहाँ पर्यटक आउने क्रम निरन्तर बढिरहेको छ,’ उनले भने, ‘विदेशीको तुलनामा नेपाली कम आउँछन्।’

धुन्चेदेखि करिब दुई दिन हिँडेपछि क्यान्जिन पुगिन्छ । सदरमुकाम धुन्चेबाट १४ किलोमिटर सडक यात्रापछि स्याफ्रु पुगिन्छ । त्यहाँबाट दोमेन, पहिरो, बम्बु, रिमिचे हुँदै लामा होटल बास बस्नका लागि पर्यटक पुग्छन् । भोलिपल्ट बिहानै खाजा खाएर रिभर साइड, उडल्यान्ड, घोडा तबेला हुँदै लाङटाङ पुगिन्छ । केही पर्यटक त्यहाँ बस्छन् भने केही मुण्डुमा पुग्छन् । भोलिपल्ट मुण्डुबाट क्यान्जिन पुगेका पर्यटक त्यहाँ वरपर रहेका पिक चड्न पुग्ने गरेका छन्।

लाङटाङ जाने पर्यटक चेर्गो री, क्यान्जिन री, लाङसिसा, लाङटाङ ग्लासियर र याला पिक चड्ने गर्छन् । पाँच हजार मिटर अग्लो चेर्गो रीबाट १२ वटा हिमाल देखिने भएकाले क्यान्जिन पुगेका ८५ प्रतिशत पर्यटक त्यहाँ जाने गरेका छन् । न्यूनतम दुई जनादेखि १५ जनासम्मको समूह लाङटाङ पुग्ने गरेका स्थानीय बताउँछन् । भूकम्पले बगरमा परिणत भएको लाङटाङमा अहिले एक दर्जन होटल सञ्चालनमा आएका छन् । भूकम्पपछि निर्माण भएको हरेक घरमा होटल सञ्चालन गरिएको छ।

लाङटाङ गाउँ नजिकै हिमपहिरोले क्षति गरेको स्थान देख्न सकिन्छ । हिमपहिरोमा परेर त्यहाँ तीन सयभन्दा बढी स्वदेशी तथा विदेशीले ज्यान गुमाएका थिए । लाङटाङ गाउँमा पुछारमा पहिरोमा ज्यान गुमाएकाको सम्झनामा स्मारक निर्माण गरिएको छ । लाङटाङबाट करिब तीन घन्टा हिँडेपछि क्यान्जिन उपत्यका पुग्न सकिन्छ । त्यहाँ करिब तीन सय ५० वर्ष पुरानो क्यान्जिन गुम्बा रहेको छ । त्यहाँबाट लाङटाङ लिरुङ हिमाल, झाङबु, किम्सुङ, छेर्पा छे, गाङछोम्बा लगायत हिमाल देख्न सकिन्छ।

गोसाइँकुण्ड गाउँपालिका–४ मा पर्ने लाङटाङ तथा क्यान्जिनमा तिब्बतीयन संस्कृति छ । लाङटाङ तथा क्यान्जिनवासीले ग्याल्बो ल्होसार मान्छन् । धर्म संस्कृति अनुसार खान तथा बस्नको व्यवस्था गरेका छन्।

तीन महिनामा १२ हजार आन्तरिक पर्यटक
रसुवाको पर्यटकीय क्षेत्रमा आर्थिक वर्षको पहिलो तीन महिनामा १२ हजार आन्तरिक पर्यटक भित्रिए छन् । जिल्लाको लाङटाङ, गोसाइकुण्ड, तामाङ सम्पदा मार्ग, रसुवागढी लगायत क्षेत्रमा तीन महिनामा करिब १२ हजार पर्यटक आएको हुन् । दैनिक करिब दुई सय स्वदेशी पर्यटक आइरहेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ।

‘सिजन सुरु भएसँगै पर्यटकको आगमन बढेको छ,’ प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले भने, ‘यसमा स्वदेशी पर्यटक बढी छन् ।’ गत असोज २८ गतेसम्म आन्तरिक पर्यटकको तथ्यांक राख्ने गरिएको थिएन । असोज २९ गतेदेखि निकुञ्जले तथ्यांक राख्न सुरु गरेको छ । निकुञ्जभित्र अध्ययन, अवलोकन र अनुसन्धानका लागि आउने नेपालीले एक सय र भरियाले २५ रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ । शुल्क लिन सुरु गरिएपछि तथ्यांक राख्न थालिएको हो।

वार्षिक २५ हजारभन्दा बढी स्वदेशी पर्यटक जिल्ला भित्रने गरे पनि तथ्यांक नराखिँँदा वास्तविक अवस्था थाहा हुन सकेको थिएन । कार्यालयले तथ्यांक राख्न सुरु गरेको दिनदेखि कात्तिक १७ गतेसम्म एक हजार तीन सय ४२ जना आएका छन् । यो २० दिनको तथ्यांक हो । जनैपूर्णिमाका बेला लागेको गोसाइँकुण्ड मेलामा करिब नौ हजार तीर्थयात्री आएका थिए । तीन महिनाको तथ्यांकमा मेलामा आएका तीर्थयात्रीको तथ्यांक समेत समावेश छ । जिल्ला अन्य समयमा आउने पर्यटकको पहिलो रोजाइ लाङटाङ, दोस्रोमा गोसाइँकुण्ड र तेस्रोमा तामाङ सम्पदा मार्ग रहेका छन्। 

जिल्लाको तामाङ सम्पदा मार्गमा पर्ने कालो गाउँको रूपमा परिचित गत्लाङमा गत महिना करिब एक हजार पर्यटक पुगेका छन् । ‘गत वर्षतिर वर्षमा करिब पाँच सय पर्यटक आउँथे,’ होटल व्यावसायी नवीन लामाले भने, ‘यस वर्ष एक महिनामै एक हजारभन्दा बढी पर्यटक आएका छन्।’

दसैंलगत्तै जिल्लामा स्वदेशी पर्यटकको आगमन बढेको स्थानीयको भनाइ छ । सामूहिक रुपमा घुम्न मन पराउने युवा न्यूनतम दुईदेखि १५ जनासम्मको समूहमा आउने गरेका छन् । यो समयमा धार्मिकस्थल गोसाइँकुण्ड, तेस्रो गन्तव्यस्थल लाङटाङ ऐतिहासिकस्थल रसुवागढी, कालो गाउँको रुपले परिचित गत्लाङ र थुमनको नागथलीमा जाने स्वदेशी पर्यटक बढी छन्।

पर्यटकीय जिल्ला रसुवामा धार्मिक, सास्कृतिक, प्राकृतिक, ऐतिहासिकस्थल हुनुका साथै विश्व कै दुर्लभ रेडपाण्डा, हिमचितुवा लगायतका जीवजन्तुको अध्ययन, अवलोकन गर्नका लागि स्वदेशी तथा विदेशी पर्यटक भित्रने गरेका छन्।

प्रकाशित: २७ कार्तिक २०७५ ०५:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App