coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बुधबारदेखि १६औं हस्तकला व्यापार मेला

काठमाडौं – १६औं हस्तकला व्यापार मेला तथा १४औ प्रतियोगितात्मक हस्तकला प्रर्दशनी हुने भएको छ । नेपाल हस्तकला महासंघले यही बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा उक्त मेला गर्न लागेको हो।

मेलामा करिब दुई सय स्टल रहने महासंघले जानकारी दिएको छ । उद्यमी, कलाकार, कालिगढबाट उत्पादित नेपाली हस्तकला वस्तुको स्थानीय र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले मेला आयोजना गर्न लागेको राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मेला संयोजक हेमरत्न शाक्यले बताए।

महासंघले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (एनटिआइएस) र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्य तथा काठमाडौं, ललितपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड लगायतको सहयोगमा कात्तिक २८ देखि मंसिर २ गतेसम्म भृकृटीमण्डप मेला आयोजना गर्न लागेको महासंघको भनाइ छ। 

नेपाली हस्तकला सामानको अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार गर्ने, नेपाली उद्यमी, व्यवसायी, निर्यातकर्ता र विदेशी आयातकर्ताबीच व्यावसायिक सम्बन्ध विकास गर्ने तथा मेलाको माध्यमबाट नेपाली कला संस्कृतिको पहिचान र उजागर गर्ने उद्देश्यले सो मेला आयोजना गरिएको हो।

पाँच दिन चल्ने मेलामा भारत, चीन, पाकिस्तान, श्रीलंका, बंगलादेश, जर्मनी  लगायत देशबाट सहभागिता रहने आयोजकले जानकारी दिएको छ । मेलामा नेपालको सातवटै प्रदेशका जिल्ला हस्तकला संघहरु, वस्तुगत संघहरुको साथै नेपाल सरकार गरिबी निवारण कोष समेतको सहभागिता रहने छ।

मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, फेल्टका सामान, ऊन, सुती एवं ढाकाका सामान, पस्मिना, हाते कागजका सामान, छालाजन्य सामान, प्राकृतिक रेसा र बाँसका सामान, जडीबुटी, अर्थोडक्स चिया लगायत रहनेछ।

मेलाको अवसरमा १४औं हस्तकला प्रतियोगिता समेत हुने महासंघले जनाएको छ । परम्परागत विधातर्फ मैनमूर्ति बनाउने कलाकार र समसामयिक विधातर्फ ढाका बुनाइमा संलग्न कालिगढलाई संलग्न गराई प्रत्यक्ष रुपमा जीवन्त प्रदर्शनी गरी प्रतियोगिता सञ्चालन हुने प्रचण्डमान शाक्यले जानकारी दिए । उक्त प्रतियोगिताको संयोजक समेत रहेका शाक्यले उत्कृष्ट हुने ६ जना कलाकारलाई नगद पुरस्कार तथा प्रमाण पत्रबाट प्रदान गरिने जानकारी दिए।

हरेक विधाका दुईजनालाई प्रथम पुरस्कार ५० हजार रुपैयाँ, दोस्रोलाई ३० हजार रुपैयाँ र तेस्रो हुनेलाई २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र र पदकले सम्मान गर्ने उनको भनाइ छ । मेला दुई लाखले अवलोकन गर्ने र करिब १० करोड रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ।

मेलाका आकर्षणहरु
– एकै छातामुनि हस्तकलाको बृहत् प्रदर्शनी तथा बिक्री
–    हस्तकला प्रतियोगिता
–    उत्कृष्ट स्टल तथा प्याभिलियन प्रतियोगिता
–    परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त सीप प्रर्दशनी
–    बिटुबी बैठक, सेमिनार आदि

प्रकाशित: २७ कार्तिक २०७५ ०५:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App