coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

छठ बजारमा कन्दमुलको बिक्री

वीरगन्जको घण्टाघरमा राखिएका कन्दमुलका पसल । तस्बिरः रितेश/नागरिक

वीरगन्ज – वीरगन्जको मुख्य बजार क्षेत्रमा छठका लागि पुजा सामग्री किनमेल गर्नेको भीड बढेको छ । अरुबेला बजारमा खासै नदेखिने पुजा सामग्री छठका बेला बिक्री बढेको छ । कन्दमुलमा गनिने सुथरी, अरुई, मुला, छठिया बोडी, अदुवा, निंबु, भोगटे, बइर, फर्सि, पानको पात, केरा, उखु जस्ता सामान बेंच्ने सयौं पसल थापिएका छन्।

‘यी पुजा सामग्रीको व्यापार हुने आज अन्तिम दिन हो, बाँकी अर्को वर्ष बेच्नुपर्छ,’ छोरा र श्रीमतिसहित वीरगन्जको मिनाबजार गल्लीमा छठका सामान बेच्न व्यस्त रहेका जगरनाथ साहले भने, ‘अरु दिनमा फलफूल बेच्छौं, छठमा यसैको माग बढेको छ ।’ सामान्यतः किसानको घरमंै उपलब्ध हुने सामानहरु छठमा प्रसाद र पुजा सामग्री हुने भए पनि यी सामान सबैले उत्पादन गर्दैनन् । त्यसैले छठको समयमा यी सामग्रीको विशेष बजार हुने गर्छ।

त्यस्तै बाँसको कम्चीबाट बनेका सामान र घरेलु उत्पादनका अरु सामानको बिक्री पनि बढेको छ । ‘वर्षदिनमा जति छैंटी बिक्री हुने गर्छ त्यतिकै छठका बेला एकै दिनमा बिक्री हुन्छ,’ घण्टाघर चोकमा बाँसका कम्चीले बनेको ‘छैंटी र दउरा’ बेंच्न बसेका रमन मंडलले भने, ‘सयदेखि पाँच सय रुपैयाँसम्ममा ‘छैंटी र दउरा’ बेंचेको छु ।’ छठमा माटोको भाँडाको बिक्री पनि बढेको छ । माटोको हाती, कलस, दियो, ढकनी, चैमुखको दिनभरी नै बिक्री भयो । वीरगन्जको घण्टाघरदेखि माइस्थानसम्म सडक छेउमा सयभन्दा बढी माटोका भाडाको पसलमा दिनभरी नै सर्वसाधारणको भीड रह्यो । बाँसका सामान र माटोका भाडाका पसल तिहारअघिदेखि सुरु भएर छठको दिन फर्किने गरेका छन्।

फलफूल, चनीको बातासा, झुत्रोसहितको नारिवल, अगरबत्ती, सुकमेल, ल्वाङ, अर्घौतिजस्ता पुजा सामग्रीको बिनबेंच पनि भएको छ । छठको विषेश प्रसाद ‘ठेकुवा’ बनाउन प्रयोग हुने सामग्री चिनी, मैदा, घ्यू, वनस्पति घ्यू, खानेतेलको बिक्री पनि तुलनात्मक रुपमा बढेको व्यवसायीले बताए । छठ घाटमा नयाँ फेसनेबल लुगा लगाएर जाने चलन बढेकाले सारी, सलवार कुर्ता, कपडा र ‘रेडिमेड’ कपडा पसलमा बिक्री बढेको छ।

प्रकाशित: २७ कार्तिक २०७५ ०५:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App