काठमाडौं – इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्स प्रालि अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ। एसियन ओसेइएन कम्प्युटिङ इन्डस्ट्रिज अर्गनाइजेसन (असोसिओ) ले जापानको टोकियोमा आयोजना गरेको कार्यक्रममा नेपालबाट वल्र्डलिंक सम्मानित भएको हो । संस्थाले आउटस्ट्यान्डिङ युजर अर्गनाइजेसन अवार्डद्वारा वल्र्डलिंकलाई सम्मानित गरेको हो । योसँगै उक्त अवार्डबाट सम्मानित हुने वल्र्डलिंक नेपालबाट पहिलो कम्पनी भएको छ।
अवार्ड समारोहमा असोसिओका अध्यक्ष डेबिड वाङले वल्र्डलिंकका निर्देशक लक्ष्मण यादवलाई उक्त अवार्ड हस्तान्तरण गरेको वल्र्डलिंकको विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा विश्वभरका ३३ मुलुकबाट हजारभन्दा बढी कम्पनी तथा तिनका प्रतिनिधि सहभागी थिए । नेपाली इन्टरनेट बजारमा वल्र्डलिंकले पुर्याएको योगदान, कम्पनीले ग्राहकलाई उपलब्ध गराएको गुणस्तरीय सेवा र अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार प्रयोगमा ल्याएको भन्दै कम्पनीले उक्त अवार्ड प्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ । असोसिओले आफैंले आन्तरिक रुपमा मूल्यांकन गरेर वल्र्डलिंकलाई उक्त अवार्ड प्रदान गरेको हो।
असोेसिओ सूचना प्रविधिसँग सम्बन्धित संस्था हो । यसमा एसिया प्यासिफिकबाट सूचना प्रविधिमा संलग्न रहेका २४ भन्दा बढी संघ प्रतिनिधि छन्।
वल्र्डलिंकले दुई लाख ७० हजारभन्दा बढी ग्राहकलाई इन्टरनेट सेवा दिइरहेको जनाएको छ । कम्पनीले ७० भन्दा बढी जिल्लामा सेवा विस्तार गरेको छ । वल्र्डलिंकले ग्राहकलाई इन्टरनेट, डाटा कनेक्टिभिटी र आइपिटिभी सेवा प्रदान गर्दै आएको छ।
प्रकाशित: २७ कार्तिक २०७५ ०५:१३ मंगलबार