८ वैशाख २०८१ शनिबार
समाज

निर्मलाका आमाबुवाको धर्ना जारी

कञ्चनपुर – छोरीको हत्यारा पत्ता लगाउनुपर्ने मागसहित निर्मलाका आमाबुवाले जिल्ला प्रशासन कार्यालयअगाडि सोमबार पनि धर्ना जारी राखेका छन् । उनीहरुलाई साथ दिँदै केही स्थानीय महिलाअधिकारकर्मी र नगारिक समाजका व्यक्ति पनि धर्नामा बसेका छन् । ‘छोरीको हत्यारा पत्ता नलागेसम्म यहाँबाट उठ्दिनँ’, निर्मलाका बुवा यज्ञराज पन्तले भने, ‘सरकार गम्भीर नभएकाले न्यायका लागि म धर्नामा बसेको हुँ।’

निर्मलाकी आमा दुर्गादेवी भने घरमा रहेका दुई छोरी डराउने भएकाले दिउँसो धर्ना बसेर राति फर्कने गरेकी छन् । ‘म दिनभरि धर्नामा बसें । छोरीहरु एक्लै हुने भएकाले साँझ घर फर्केकी हुँ’, उनले भनिन्, ‘मेरो छोरीको हत्यारा प्रहरीभित्रै अनुसन्धान गरे पत्ता लाग्छ । प्रहरीले पत्ता लगाइरहेको छैन । काठमाडौं गएर प्रधानमन्त्री, गृहमन्त्री, प्रदेशका मुख्यमन्त्रीलाई पनि भेट्यौं । साढे ३ महिनासम्म पनि हत्यारा पत्ता नलागेपछि न्यायका लागि बाध्य भएर धर्नामा बस्नुपरेको हो ।’ प्रमाण नष्ट गर्ने दोषी प्रहरीसहित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनले शंकास्पद देखाएका व्यक्तिलाई हिरासतमा लिएर छानबिन गर्नुपर्ने उनीहरुको माग छ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले निर्मलाका बुवा धर्नामा बसेको र उनीहरुले राखेका माग गृह मन्त्रालयमार्फत सरकारलाई जानकारी गराएको बताए । दोषी प्रहरीलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने मागको पनि जानकारी गराइएको उनले बताए । प्रहरीले हत्यारा पत्ता लगाउन अनुसन्धान गरिरहेको उनले बताए । प्रहरीले शंकास्पद चारजनाको डिएनए परीक्षणका लागि नमुना काठमाडौं पठाएको छ । यसअघि ५ जनाको रगत परीक्षण भइसकेको छ । तर उनीहरुको डिएनए रिपोर्ट मेल खाएन । प्रहरीले डेढ सयजनाभन्दा बढीलाई सोधपुछ गरिसकेको छ।

अहिलेसम्म कुनै तथ्य फेला नपरेको कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए । साउन १० गते साथी रोशनी बमको घरमा पढ्न गएकी निर्मला बेपत्ता भएकी थिइन् । दोस्रो दिन ९ बजे उखुबारीमा उनको शव फेला परेको थियो । बलात्कारपछि हत्या गरिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ । प्रहरीले सुरुदेखि नै अनुसन्धानमा लापरबाही गरेको सार्वजनिक भइसकेको छ।

प्रकाशित: २७ कार्तिक २०७५ ०४:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App