coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नयाँ बसपार्कको होटलमा दिनभर तनाव

काठमाडौं – काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलमा सोमबार बिहान ११ बजेतिर आएका एक व्यक्तिले शंकास्पद वस्तु छाडेर गएपछि दिनभर तनाव भएको छ । माक्स लगाएर आएका एक व्यक्तिले चन्द्रमा गेस्ट हाउसको कोठामा सामान राखी म साथीहरु लिएर आउँछु भन्दै निस्केका थिए । त्यसलगत्तै प्रहरी आएर खानतलासी गरेको थियो।

गोंगबु प्रहरी वृत्तका प्रमुखलाई अज्ञात व्यक्तिले फोनबाट सो गेस्ट हाउसमा हतियार हुन सक्ने सूचना दिएको थियो । त्यसलगत्तै वृत्तले परिसरमा खबर गरेपछि परिसरबाट डिएसपी होविन्द्र बोगटीको नेतृत्वमा आएको टोलीले खानतलासी गरेको थियो । खानतलासीका क्रममा सो गेस्ट हाउसको कोठा नं. ९ मा ‘हामी नेपाली, हाम्रो नेपाल’ लेखिएका केही पर्चा र पुस्तक फेला परेका थिए।

सोही कोठाको एक कुनामा करुवाजस्तो एक वस्तु र रातो कपडाले बाँधेको सामान देखिएपछि महानगरीय आयुक्त कार्यालयबाट खटिएको प्रहरी टोलीसमेत पुगेको थियो । त्यस्तै प्रहरीको विशेष कार्यादल र विशेष ब्युरोको टोलीसमेत पुगेको थियो । दुवै टोलीले शंकास्पद वस्तु बम रहेको आशंका गरेपछि बेलुकी ६ बजेतिर नेपाली सेनाको बम डिस्पोज टोलीलाई बोलाएर त्यसलाई हटाइएको थियो।

प्रहरीले जानकारी दिएअनुसार जिल्ला प्रशासन कार्यालयको अनुमतिले मात्रै सेना ल्याउनुपर्ने भएकाले सो सामान हटाउन ढिला भएको होे । ‘प्रहरी परिसर काठमाडौंबाट डिएसपी होविन्द्र बोगटीको नेतृत्वमा सिभिल टोली घटनास्थलमा पुगेको हो । केही शंकास्पद वस्तु भएको सूचना आएकाले प्रहरी टोली परिचालन गरिएको थियो’, परिसरका एसएसपी वसन्त लामाले भने।

डिएसपी बोगटीको टोलीले बरामद गरेको पर्चामा नेपाल र नेपालीको रक्षार्थ स्वयंसेवक दस्ता बनाउनेलगायतका विषय उल्लेख गरिएको थियो । डिएसपी बोगटीले कुनै समूहले आफ्नो प्रचार होस् भन्ने उदेश्यले त्यस्तो गरेको हुनसक्ने बताए । ‘बिहान ११ बजेदेखि त्यही विषयलाई लिएर परिसरको टोली खटियो । विस्फोटक पदार्थ रहेनछ, केही पर्चा फेला परेका छन्, हामी त्यसबारेमा अनुसन्धान गरिरहेका छां’, उनले भने।

प्रकाशित: २७ कार्तिक २०७५ ०४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App