coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

एउटामा पल अर्कोमा आँचल

काठमाडौं – प्रेमीप्रेमिकाको रुपमा चर्चित पल शाह र आँचल शर्मा बीचमा फिल्मविहीन बन्न पुगेको चर्चा थियो । पलले बीचमा एउटा फिल्म साइन गरेको खबर थियो तर आँचल भने लामो समययता खाली हात थिइन् । अन्ततः एक दिनको अन्तरमा यो जोडी फरक फरक फिल्ममा देखिने भएको छ।

स्वस्तिमा खड्काले छाडेको फिल्म गर्न आँचल तयार भएकै भोलिपल्ट पलले पनि आकाश श्रेष्ठले छाडेको फिल्म सम्हाल्ने जिम्मेवारी लिएका छन् ।   फिल्मको घोषणामा मिडियामाझ चिनाइएका कलाकारले अन्तिम समयमा हात झिकेपछि पल र आँचल उनीहरुको स्थानमा विकल्पका रुपमा प्रवेश गरेका हुन्।

मह सञ्चारको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘दाल भात तरकारी’ मा अनुबन्धित भइसकेकी नायिका स्वस्तिमा खड्काले समयाभावको कारण देखाउँदै हात झिकेपछि उनको स्थानमा फिल्म युनिटले आँचललाई ल्याएको छ । मंसिर पहिलो साताबाट छायांकन सुरु हुने फिल्ममा नायिका स्वस्तिमाले त्यही समयमा अर्को फिल्ममा साइन गरेपछि उनले समय दिन नपाएको निर्माण पक्षले जनाएको छ।

निर्देशक विकासराज आचार्यको फिल्म ‘हजार जुनी सम्म’ मा पनि अनुबन्धित स्वस्तिमाले विकासकै फिल्म ‘हजार जुनीसम्म’का लागि निर्माता किरण केसीको फिल्म ‘दाल भात तरकारी’बाट झिक्नु परेको हो।

फिल्म ‘शत्रु गते’मा अभिनय गरेपछि म्युजिक भिडियोमा बढी समय दिइरहेकी आँचलले ‘हुलमुलमा काम गर्दा दर्शकमाझ चिनिन गाह्रो’ परेको पत्रकारमाझ बताएकी थिइन् । फिल्म खेल्न हतार नभए पनि राम्रो कथाका फिल्ममा काम गर्न तयार रहेको बताउँदै आएकी थिइन्।

किरण केसी प्रस्तुतकर्ता रहेको फिल्म ‘दाल भात तरकारी’मा उनकै छोरा सुदन केसीको निर्देशन हुनेछ । फिल्ममा आँचलसँगै मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, बर्षा राउतलगायतका कलाकारहरुको प्रमुख भूमिका रहनेछ।

‘शत्रु गते’ पछि धेरै म्युजिक भिडियोमा आँचलसँग अभिनय गरिरहेका पल मिलन चाम्सको फिल्म ‘वीरविक्रम २’मा अनुबन्धित भएका छन् । फिल्मको घोषणा कार्यक्रममा व्यान्डबाजासहित अर्का नायक आकाश श्रेष्ठले अन्तिम समयमा आएर हजुरबुवाको स्वास्थ्यको कारण देखाउँदै फिल्ममा अभिनय नगर्ने जनाएपछि आकाशको स्थानमा पल छानिएका हुन्।

आकाशले  फेसबुकमा ‘हजुरबुबा बिरामी हुँदा उहाँको उपचारमा समय लाग्ने भएपछि फिल्मलाई समय दिन नसक्ने भएको छु । मिलन दाइसँग काम गर्न पाउनु मेरो ठूलो सौभाग्य थियो र  खुसी थिएँ तर यो टिमलाई साथ दिन सकिनँ।’ भन्दै पोष्ट गरेका थिए।

फिल्ममा नाजिर हुसेन, बर्षा सिवाकोटी, बुद्दि तामाङ, विनिसा भण्डारी, शिशिर राणा, क्षितिज सुवेदीलगायतका कलाकारहरु भने यथावत छन् । पलले अभिनेत्री बर्षासँग रोमान्स गर्नेछन् ।  अर्पण सापकोटा सह–निर्माता रहेको फिल्ममा प्रदिप भारद्वाजको कथा, रन्जित गजमेर, राजनराज सिवाकोटी, तारा प्रकाश लिम्बुको संगीत, सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व, बनिष शाहको सम्पादन र कविराज गहतराजको कोरियोग्राफी रहनेछ।

प्रकाशित: २७ कार्तिक २०७५ ०१:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App