मुम्बई एजेन्सी – बलिउड निर्देशक सञ्जय लिला भन्सालीको फिल्म ‘देवदास’मा रहेको गीत ‘डोला रे डोला’ यूकेको इस्टर्न आइ नामक पत्रिकाले प्रकाशन गरेको दशकको उत्कृष्ट गीतको सूचीको पहिलो स्थानमा परेको छ । यो गीतमा सरोज खानको कोरियोग्राफी छ।
पब्लिक भोट, छायांकन, कोरियोग्राफी, स्टेज र नृत्य विज्ञको विचारका आधारमा तयार पारिएको सूचीमा सन् १९६० को फिल्म ‘मुगल इ अजाम’को गीत ‘प्यार किया तो डरना क्या’ दोस्रो स्थानमा र माधुरी दिक्षितको आइकोनिक नृत्य रहेको सन् १९८८ को फिल्म ‘तेजाब’को गीत ‘एक दो तीन’ तेस्रो स्थानमा परेको छ । पत्रिकाले निकालेको ‘५० ग्रेटेस्ट बलिउड डान्स नम्बर’को सूचीमा यी गीत परेका हुन्।
इस्टर्न आईका मनोरञ्जन सम्पादक अस्जद नाजिरले दशकौंदेखि बलिउड फिल्ममा संगीत पक्ष महत्वपूर्ण पाटोको रुपमा रहँदै आएकाले दर्शकले फिल्मबाट भरपुर मनोरञ्जन लिने गरेको बताए । ‘बलिउडका उत्कृष्ट गीतहरू आश्चर्यजनक सेट, अविश्वसनीय कोरियोग्राफी, उत्कृष्ट नर्तक, आशलाग्दा कलाकार, सुन्दर पहिरन र वास्तविक जीवन झल्काउने नृत्यका कारण उत्कृष्ट छन्,’ उनले भने।
अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’को गीत ‘एक पलका जीना’ सूचीको चौथो र फिल्म ‘जेवेल थिफ’मा वैजयन्तीमालाले गाएको ‘हाेंठो पो एैसी बात’ पाँचौं स्थानमा छन् । अवार्ड प्राप्त बलिउडका कोरियोग्राफर सरोज र नायिका माधुरीले अन्य गीतलाई पछि पारेका छन्।
सूचीको छैटौं स्थानमा ‘धुम ३’को ‘कमली’, सातौंमा ‘क्याराभान’को ‘पिया तु अब तो आजा’, आठौंमा ‘खलनायक’को ‘चोलीके पिछे’, नवौंमा ‘दिल से’को ‘छैयाँ छैयाँ’ र दशौं स्थानमा ‘शोले’को ‘मेहबुबा मेहबुबा’ छन्।
त्यस्तै बाह्रौंमा ‘पाकिजा’को ‘इन्ही लोगों ने’, चौधौंमा ‘तिस मार खाँ’को ‘शिलाकी जवानी’, सोह्रौंमा ‘तिसरी मञ्जिल’को ‘ओ हसिना जुल्फोवाली’, अठारौंमा ‘बन्टी और बब्ली’को ‘कजरा रे’, तेइसौंमा ‘हम दिल दे चुके सनम’को ‘निम्बोदा निम्बोदा’ र पच्चिसौंमा ‘दबङ’को ‘मुन्नी बद्नाम’ छन्।
प्रकाशित: २७ कार्तिक २०७५ ००:५८ मंगलबार