६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

यमनमा करिब १५० जनाको मृत्यु

तस्बिर : एजेन्सी

यमन - यमनको प्रमुख शहर होडेडामा सरकार समर्थक र विद्रोहीबीच भएको पछिल्लो युद्धमा एकसय ४९ जनाको मृत्यु भएको सैनिक स्रोतले सोमबार बताएकाे छ। युद्धमा सात जना सर्वसाधारणको मृत्यु भएको छ, घटनाको विस्तृत विवरण अझै आउन बाँकी छ।

साउदी अरेबियाको समर्थन प्राप्त संयुक्त गठबन्धनको सहयोगमा यमनको सरकारी फौजले इरान समर्थित हुथी विद्रोही विरुद्ध गरेको कारबाहीमा यो हताहती भएको हो। होडेडा शहरमा रातभर भएको यस लडाईंमा ११० जना विद्रोही लडाकू र ३२ जना सरकारी सैनिकको मृत्यु भएको जनाइएको छ। साउदी अरेबिया आबद्ध संयुक्त सैनिक गठबन्धनले विद्रोहीलाई लक्ष्य गरी कैयौं पटक हवाई आक्रमण गरेको सैनिक स्रोतले पुष्टि गरेको छ। यमनको बढी जनसङ्ख्या भएको सहर होडेडामा गत नोभेम्बर १ बाट शुरु भएको पछिल्लो लडाईंका कारण करिब ६ सय जनाको मृत्यु भइसकेको छ। 

सन् २०१५ देखि यमन सरकारको समर्थन गर्दै साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोही विरुद्ध हवाई कारबाही गर्दैअाएकाे छ। संयुक्त राष्ट्रसङ्घले यमनमा जारी गृहयुद्ध विश्वकै सबैभन्दा डरलाग्दो र विभत्स भन्दै यसबाट गम्भीर मानवीय सङ्कट उत्पन्न भएको जनाएको छ।

प्रकाशित: २६ कार्तिक २०७५ १०:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App