७ वैशाख २०८१ शुक्रबार
समाज

जनप्रतिनिधिले बाँडे छठका ब्रतालुलाई लाखौंका साडी

रौतहट- छठ पर्वका ब्रतालु महिलाका लागि रौतहटमा दुई दिनमा करोडभन्दा बढीको साडी निःशुल्क वितरण गरिएको छ। शनिबार र आइतबार जिल्लामा करोडभन्दा बढीको साडी बाँडिएको हो। विभिन्न स्थानीय निकायलले बजेट छुट्याएरै तथा जनप्रतिनिधिले व्यक्त्तिगतरूपमै छठ पर्वको व्रत गर्ने महिलालाई साडी बाँडेका हुन्।

सदरमुकाम गौर नगरपालिकाका मेयर अजय गुप्ता र उपमेयर किरण ठाकुरले छुट्छुट्टै साडी वितरण गरेका छन्। दुई दिनदेखि मेयर गुप्ता र उपमेयर ठाकुरले व्रत बस्ने महिलालाई निशुल्क साडी वितरण गरेका हुन्।

 विपन्न, दलित र असहायलाई साडी वितरण गरिएको जनाइएको छ। मेयर अजय गुप्ताले प्रत्येक वडालाई २० हजारको दरले घाट सजाउन र ३५ हजारको दरले गरिब, विपन्नलाई साडी वितरण गर्न तथा उपमेयरलाई ७५ हजार अनि आफूले एक लाख गरी ६ लाख ७० हजार रुपैया छठको लागि विनियोजन गरेको बताए। 
गौरका समाजसेवी तथा युवा नेता शम्भु साहले पनि आफ्नै लगानीमा गरिब, विपन्नलाई साडी बाँडेका छन्। गौर नगरपालिको विभिन्न टोलमा व्यक्तिगत र संस्थागत प्रयासमा पनि साडी वितरण गरिएको छ।
दुर्गा भगवती गाउँपालिकाका एकजना वडाध्यक्ष धर्मेन्द्रकुमार झाले आफ्नो अहिलेसम्मको सम्पूर्ण तलबको रकमले चार सयभन्दा बढी व्रतालुलाई साडी बाँडेका छन्।

नागरिक समाज रौतहटका सचिव विजयकिशोर झालेआफ्नो पार्टीका र आफ्नो मतदातलाई ध्यानमा राखेर साडी वितरण गरिएको गुनासो चारैतिरबाट आएको बताए

माधवनारायण नगरपालिकाका मेयर वीरेन्द्र यादवले पनि व्रतालुलाई साडी वितरण गरेका छन्। उपमेयर सिमल साहले सहिद परिवार तथा अपाँगलाई साडी वितरण गरेकी छन्। उपमेयर साहले आफ्नो दुई महिनाको तलबले साडी बाँडेकी हुन्। नपाको दीपही र खेसरहियामा पनि निजी प्रयासमा साडी बाँडिएको छ।
राजदेवी नगरपालिकामा पनि सयौँलाई निशुल्क साडी वितरण गरिएको छ। नगरपालिकाको तर्फबाट र निजी प्रयासमा पनि राजदेवीमा साडी बाँडिएको हो।

गढीमाई नगरपालिकाको कार्यपालिकाको बैठकले हरेक वडा कार्यालयलाई छठको घाट सजाउन ५० हजारको दरले साढे चार लाख रुपैया प्रदान गरेको छ। गढीमाई ४, ८ र ९ तथा अन्य वडामा समेत गरी करिब चार हजार साडी बाँडिएको निमित्त कार्यालय प्रमुख नागेन्द्र यादवले बताएका छन्। 

गरुडा नगरपालिका ८ मा रामलाल राय यादवको अगुवाईमा ५० व्रतालु र ९ का वडाध्यक्ष राजेश सहनीले १०० व्रतालुलाई साडी वितरण गरेका छन्। एक लाखभन्दा बढी मूल्यको साडी बाँडिएको वडाध्यक्ष सहनीको दाबी छ। यसै गरी जिल्लाभरि निजी तथा संस्थागत र नगरपालिकाबाट साडी वितरण गरिएको छ।

नागरिक समाज रौतहटका सचिव विजयकिशोर झाले छठको नाउँमा जिल्लाभर गरिएको साडी वितरण पारदर्शी नभएको आरोप लगाउँछन्। आफ्नो पार्टीका र आफ्नो मतदातलाई ध्यानमा राखेर साडी वितरण गरिएको गुनासो चारैतिरबाट आएको सचिव झाले बताएका छन्। नातागोता, आफन्त तथा मतदातालाई राम्रो साडी र अरुलाई भोट दिनेलाई कमजोर साडी बाँडेर विकासको रकमको दोहन गरिने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने झाले सम्बन्धित निकायलाई सुझाव दिएका छन्।

 

प्रकाशित: २६ कार्तिक २०७५ ०८:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App