८ वैशाख २०८१ शनिबार
अर्थ

‘उत्साहजनक छैन पर्यटकीय सिजन’

पोखरा सराङकोट डाँडामा पुगेका आन्तरिक र बाह्य पर्यटक । पर्यटकीय सिजन भए पनि पछिल्लो समय व्यवसायी उत्साही छैनन्। तस्बिर : उमेश पुन/नागरिक

पोखरा - पर्यटन क्षेत्रमा सेप्टेम्वर–नोभेम्वर मुख्य सिजन मानिन्छ । केही वर्षअघिसम्म मुख्य सिजनमा विदेशीको आगमनले पर्यटन क्षेत्रको चहलपहल ह्वात्तै बढ्ने गर्दथ्यो। लामो समय अफसिजन गुजारेका पर्यटन व्यवसायी जहिल्यै सिजनको सुखद् पर्खाइमा हुन्थे। त्यही अनुसार सेप्टेम्बर–नोभेम्बर व्यवसायीको तीव्र पर्खाइमा रहन्थ्यो।

तर, पछिल्लो समय पर्यटनको मुख्य सिजन सुखद् हुन छाडेको व्यवसायीको गुनासो छ । विदेशी पर्यटक भित्रिने मुख्य सिजन भएपनि सुखद् नहुनुमा पाहुना आगमन सन्तोषजनक रुपमा बढ्न नसकेको व्यवसायीको गुनासो छ । अनि अधिक प्रतिश्पर्धाले पर्यटन क्षेत्रको व्यापार सस्तिदो छ। त्यसबाहेक महंगो रकम खर्च गर्ने पर्यटक आउनै छाडेका छन् । कम खर्च गर्ने पर्यटकमा ‘बार्गेनिङ’ क्षमता हुने गरेको छ।

पर्यटन बोर्डका पूर्वसदस्य अग्नी कँडेल भन्छन, ‘नेपालमा खर्चालु पर्यटक निकै कम हुन थालेका छन् । अहिलेका पर्यटक पहिलेजति खर्च गर्नै खोज्दैनन्,’ उनले भने, ‘हरेक क्षेत्रमा बार्गेनिङ गर्न थालेका छन् । केही वर्षअघिसम्म पर्यटकले बार्गेनिङ निकै नै कम गर्दथे ।’ उनका अनुसार यतिबेला नेपाल आउने विदेशी पर्यटक हरेक वस्तु र सेवा सस्तोमा लिन चाहन्छन् । खाने–बस्नेदेखि लगाउने कपडा किन्दासम्म पनि बार्गेनिङ हुन थालेको छ । सस्ता पर्यटक आउने भएकाले उनीहरुले खर्च कम गर्ने कँडेलले बताए।

पर्यटन व्यवसायीका अनुसार युरोपियन र अमेरिकन अलि खर्चालु पर्यटक हुन् । अरु मुलुकका पर्यटकलाई बजेट (सस्तोमा सेवा खोज्ने) पर्यटक भनिन्छ । बजेट पर्यटक कम खर्चमा यात्रा गर्न चाहन्छन् । बजेट पर्यटक सस्तो सेवा खोज्छन् । उनका अनुसार भूकम्पअघि सिजनको आगमन व्यवसायीका लागि निकै नै उत्साहप्रद हुन्थ्यो । सिजनमा विदेशीको आगमन बढ्ने भन्दै व्यवसायीले त्यही अनुसार भव्य रुपमा तयारी पनि गर्दथे । तर, अहिले सिजन नै फिक्का हुन थालेको छ।

‘दसैंंतिहारले आन्तरिक पर्यटक भित्रिँदा केही दिनका लागि चहलपहल उत्साहजनक रुपमा बढ्ने भए पनि पहिले जस्तो व्यवसायीलाई उत्साही बनाउने खालको आगमन हुन छाडेको छ,’ कँडेलले भने, ‘साना आकारका व्यवसायीलाई अहिले उत्साही पार्ने सिजन हुनै छाडेको छ । पर्यटनमा निकै नै उचारचढाव देखिएको छ ।’ पर्यटनबाट हुने आम्दानी हेर्ने हो भने यतिबेला पोखराका धेरै व्यवसायी सिजनबाट सन्तुष्ट नरहेको कँडेलको भनाइ छ।

उनका अनुसार सेप्टेम्बरको समयलाई व्यवसायीले सिजन सुरुवात मान्दथे । अक्टोबर र नोभेम्बर त झनै ‘पिक’ सिजन मानिन्थ्यो । तर, भूकम्पछिका वर्ष पीक सिजनमा निकै नै उचारचढाव छ । ‘कहिले ह्वात्तै आगमन हुन्छ र एकाएक व्यापार बढ्छ । अनि कहिले एकाएक सुनसान हुन्छ,’ उनले भने । कँडेलका अनुसार पहिलेपहिले सिजनको व्यापारको गति सेप्टेम्बरदेखि बिस्तारै बढ्दै जान्थ्यो, अक्टोबर र नोभेम्बरमा पिक सिजनको अनुभव हुन्थ्यो । त्यही अनुसार व्यवसायीले योजना बनाउँथे । तर, अहिले व्यापार बढ्नुको साटो खस्कँदो छ।’

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका निवर्तमान अध्यक्ष दीपकराज अधिकारी पनि पछिल्लो समयको आगमनले पर्यटनमा खुसी हुने अवस्था नरहेको बताउँछन् । ‘सिजनको व्यापारबाट सन्तुष्ट हुने आधार छैन । भूकम्पअघि सिजन भनेपछि हामीलाई भिन्नै उत्साह पलाउथ्यो,’ उनले भने, ‘अहिले भने उत्साहजनक अवस्था नै हुन छाडेको छ।’

केही नाम चलेका होटलले नियमित आम्दानी गरेपनि त्यसबाट मात्र सन्तोष मान्न नमिल्ने उनले बताए । ‘यो बेला पदयात्रामा पनि राम्रो आम्दानी हुन्थ्यो । तर, अहिले हामीलाई सिजनले खासै उत्साह थपेको छैन,’ अधिकारीले भने, ‘व्यापारको गतिको पारो सुस्त छ।’

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन सिजनको चार्मिङ बिस्तारै घट्दै गएको बताउँछन्। ‘पछिल्लो समय अक्टोवर मध्यदेखि नोभेम्बर मध्यसम्म (करिब एक महिना) मात्र विदेशीको आगमन राम्रो छ, अरुबेला कम छ,’ तुलाचनले भने, ‘भूकम्प अघि सेप्टेम्बर–नोभेम्बर (झन्डै तीन महिना) नै आगमन उत्साहजनक हुन्थ्यो, अहिले महिना दिनमा खुम्चिन थालेको छ ।’ उनका अनुसार अहिले पर्यटकको बसाइ अवधि पनि घट्दै गएको छ । पदयात्रामा गएका पर्यटक पोखराको बसाइ अवधिलाई पनि पदयात्रामै बिताउन थालेका छन् । त्यसले पोखराको बसाइ घटाएको छ । ‘पहिला पहिला पदयत्राबाट फर्केपछि पोखरामा तीन रातसम्म बिताउँथे । अहिले कतिपय त त्यही दिनै काठमाडौं पुग्छन,’ तुलाचन भन्छन्।

तुलाचनका अनुसार अहिले काठमाडौंबाट जहाजमा पोखरा झरेका पाहुना त्यही दिन घान्द्रुकसम्म पुग्न थालेका छन । यातायात सुविधाले पाहुनाको पोखराको बसाइ घट्दै गएको उनको भनाइ छ । काठमाडौंबाट बिहानै जहाजमा पोखरा ओर्लेका पाहुना त्यही दिन बेलुकी घान्द्रुक पुग्न सक्छन् । त्यसले गर्दा पनि कम खर्च गर्ने पर्यटक पोखरालाई ट्रान्जिट मात्र बनाउन थालेको उनले बताए । त्यस बाहेक पोखरा बाहिर पनि सुविधायुक्त होटल विस्तार हुँदा विदेशी पाहुनाको पोखरा बसाइ अवधि झनै घट्दै गएको उनले बताए । ‘पहिलापहिला महिनौअघि होटलको बुकिङ आउँथ्यो, अहिले सेवा प्रदायक पनि बढेका छन् । अनि सस्तोमा सेवा पाउन सक्ने सम्भावना छ,’ उनले भने, ‘त्यसले गर्दा बुकिङ पनि अन्तिम समयमा आउँछ ।’ नेपालको पर्यटन धान्न अब आन्तरिक पाहुनाको विकल्प नरहेको उनले बताए।

पर्यटन बोर्डका म्यानेजर सूर्य थपलिया गुणस्तरीय पर्यटक आगमन कम हुँदै गएको बताउँछन् ।  ‘बजेट टुरिस्ट बढेका छन, खर्चालु पाहुना घट्दै गएको साँचो हो,’ उनले भने, ‘बजार प्रतिस्पर्धा बढ्दै गएकाले पनि अहिले पाहुनाले सस्तोमा सेवा पाएका छन् ।’ त्यसबाहेक डलरको भाउ बढ्दा विदेशीले थोरै खर्चदा पनि बढी सुविधा लिन सकेको उनले बताए । उनका अनुसार हरेक वर्ष नेपालको पर्यटन आगमनको वृद्धिदर २० प्रतिशत हाराहारी छ । तर सेवाप्रदायक थपिँदै जाँदा आगमन बढ्दा पनि कमजोर देखिएको उनले बताए।

‘उच्चदरमा खर्च गर्ने गुणस्तरीय पर्यटकका लागि नेपालको अहिलेको गन्तव्यले पुग्दैन । नेपालमा हिमालय क्षेत्रसँग सम्बन्धित गन्तव्य बढी छन्,’ थपलिया भन्छन्, ‘अरु गतिविधि नै भएनन् । पर्यटक खर्च गर्ने ठाउँ नै पाउँदैनन् ।’ नेपालको आकर्षक भनेको प्राकृतिक सम्पदा मात्र रहेको उनले बताए । उनका अनुसार खर्चालु पर्यटक सहज यात्रा, उच्चतम खर्च गर्ने स्थान, मनोरञ्जनात्मक गतिविधि (जस्तै क्यासिनो) जस्तामा रम्न चाहन्छन् । तर, पोखरामा ती सुविधा नै छैनन्,’ उनले भने, ‘त्यसले गर्दा सस्तोको गन्तव्य बनेको हो । हिमाली पदयात्रामा खाने, बस्ने र हिँड्ने मात्र हो । हिँड्दा पैसा लाग्दैन, खानेबस्ने सस्तो छ।’

प्रकाशित: २६ कार्तिक २०७५ ०५:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App