८ वैशाख २०८१ शनिबार
कला

सञ्जालभरि छरियो तिहार रौनक

काठमाडौं – अहिले सामाजिक सञ्जाल आफ्नो भनाई पोख्ने स्थान मात्र नभएर आफ्नो दैनिकी घटना, जीवनशैली बाँड्ने रमाइलो थलो बनेको छ। भर्खरै दसैँ र तिहार सकिएको छ। चाडपर्व मनाउन विदेशबाट नेपाल आएकाहरुमध्ये कतिपय अहिलेसम्म विदेश फर्किसके भने कतिपय अब विस्तारै छठ पर्वपछि आफ्नो कर्मथलो फर्कने छन्। त्यस्तै, दसैँ तिहार मनाएर गाउँगाउँबाट पनि मानिसहरू काठमाडौं फर्कन थालिसकेका छन्। यो वर्षको दसैँ तिहारको अवधिभर मानिसहरू आफ्नो दैनिकी, परिवार र आफन्तसँग रमाइलो पल बिताइएको फोटो सामाजिक सञ्जाल प्रयोगकर्ताका टाइमलाइन भरी देखिए। बाहिर झिलीमिली सँगै घरमा पकाएको सेलरोटी होस् या आँगनमा बनाएको रंगोली, देश र विदेश सबैबाट फेसबुक ट्विटर, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा यस्तो तिहारको रौनक देखियो। सामाजिक सञ्जाल प्रयोगकर्ता मात्र नभएर विभिन्न सरकारी तथा गैर सरकारी संस्थाले पनि तिहारको शुभकामना दिँदै सयपत्री फूल, सेलरोटी, दियोबत्तीलगायतको फोटो पोस्ट गरे। नेपालमा रहेका विभिन्न देशका कुटनीतिक नियोगहरूले पनि तिहारको समयमा आफ्नो सामाजिक सञ्जालमा यसै सन्दर्भका विभिन्न पोस्ट गरे।

तिहारको समयमा सामाजिक सञ्जालमा सम्भवतः सबैभन्दा धेरै देखिएको र चर्चा भएको तस्बिर र विषय नेपाल विद्युत प्राधिकरणको मुख्य कार्यालय अगाडिको कलात्मक झिलिमिली थियो। केही वर्षअघिसम्म तिहारको समयमा ढुक्कका साथ झिलिमिली बत्ती बाल्न नपाएका नेपालीका लागि कुलमान घिसिङको नेतृत्व वरदान सावित भएको छ। यो वर्ष प्राधिकरणले भारतबाट ल्याएका प्राविधिकहरू र सामग्रीले जोडेको झिलिमिली बत्तीमा नेपालको झण्डा र प्राधिकरणको लोगो प्रदर्शन गरेपछि यसको चर्चा चुलियो । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा यसबारे खवर आएपछि हजारौं मानिस प्राधिकरणको मुख्यालयअगाडि भेला भएर फोटो र भिडियो पोस्ट गरे। त्यसबाहेक, लक्ष्मी पूजाको दिन विभिन्न ठाउँबाट फोटोपत्रकारहरूले खिचेका  झिलीमिली काठमाडौँको दृश्य धेरै अनलाइन मिडियाको फोटो फिचरमा देख्न पाइयो।

तिहार सुरु भएदेखिनै सामाजिक सञ्जालमा कागको फोटो, कुकुर पूजाको फोटो र गाई पूजाको फोटो पनि देखियो। विदेशमा बस्नेहरूले समेत आफ्नो कुकुरलाई पूजा गरेको फोटो पोस्ट गरेर सामाजिक सञ्जालमा खुशी बाँडे। लक्ष्मी पूजाको दिन लक्ष्मी माताको फोटोमा नगद, जिन्सी र गहना राखेर खिचिएको फोटो टाइमलाइनभरि देख्न सकियो।

लक्ष्मीपूजाको दिनमा घरअगाडि बनाइएका रंगोलीहरू पनि सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देखिए। गत साउन १० मा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको मुखाकृति रहेको रंगोलीले भने धेरैको मन छोयो। ट्विटर प्रयोगकर्ता हिमा बिष्टले निर्मला पन्तको रंगोलीसहित ट्विट गरिन्, ‘यति मार्मिक र अर्थपूर्ण रंगोली मैले आजसम्म देखेको छैन। जस्ले बनाउनु भयो, नमस्कार।’ निर्मला पन्तको रंगोलीको फोटो फेसबुक र ट्विटरमा सयौंले लाइक तथा सेयर गरेका छन्।

भाइटिकाको दिन आफ्नो दिदी बहिनीको हातबाट टिका लगाएर सामाजिक सञ्जालमा पोस्ट गर्नेहरुको कुनै कमी रहेन। सर्वसाधारण मात्र नभई सार्वजनिक पदमा रहेका व्यक्तिहरु र सेलिब्रिटीहरुले पनि सामाजिक सञ्जालमा पोस्ट गरे।

प्रधानमन्त्री केपीशर्मा ओलीले तिहारको शुभकामना दिएको भिडियो मात्र आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेनन्, आफ्नो बहिनीसँग टीका थापेको फोटो पनि ट्विटरमा सेयर गरेका गरे। त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना भाइलाई टिका लगाइदिएको फोटो पनि ट्विटरमा सार्वजनिक भएको छ। विभिन्न नेता, कलाकार,लेखक र अन्य सोसल मिडिया प्रयोगकर्ताले पनि यमपञ्चक भरी आफूले गरेका क्रियाकलाप, पूजाअर्चना, दियोबत्ती, देउसी भैलो, सेलरोटी र अन्तमा भाइटिकामा आफ्नो दाजुभाइ र दिदिबहिनीसँग टिका ग्रहण गरिरहेको फोटो सार्वजनिक गरे।

अमेरिकी दूतावासको अफिसियल ट्विटर ह्यान्डलबाट देउसी भैलो कार्यक्रम आयोजना गरेको भिडियो सार्वजनिक भएको थियो। त्यस्तै, नेपालका लागि अमेरिकी राजदूत -यान्डी बेरीले पनि आफ्नो निवासमा दिपावली गरेको फोटो सार्वजनिक गरे। त्यस्तै, अमेरिकी दूतावासकी प्रवक्ता एन्डी डि. अरमेन्टले पनि भाइटिकाको फोटो ट्विटरमा पोस्ट गरेकी थिइन्। ‘हाम्रो घरमा हर्षोउल्लासका साथ भाइटिका मनाइयो’ उनको पोस्ट थियो। त्यस्तै एलेक्स स्टाफ्रोडले आफ्नो सहकर्मीसँग भाइटिका मनाएको फोटो राख्दै पोस्ट गरेकी छन्, ‘आज नेपाली हिन्दूहरुको दोस्रो महान पर्व हो, मैले पनि भाइटीका लगाएर यो पर्व मनाए।’

विगत १० वर्ष अघिसम्म पनि सामाजिक सञ्जालमा चाडपर्व मनाइएको देख्न मुस्किल थियो तर अहिले प्रविधिको विकास, स्मार्टफोन र सस्तो इन्टरनेटले गर्दा क्षणभरमै संसारभरका अपडेट प्राप्त गर्न सम्भव भएको छ।

सरकारले दिपावलीको समयमा पटाका बाल्न निषेध गरेको भए पनि लक्ष्मीपूजाको दिन धेरैले गमला, अनार, रकेट, चक्र, आदि बालेको फोटो पोस्ट गर्न भ्याए।

तिहारमा देउसी भैलोमा आएको विकृतिको बारेमा पनि धेरैले सामाजिक सञ्जालमा आफ्नो धारणा पोखे । राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाउने भनिए पनि मानिसहरू भाइटीकाको दिन राति १२ बजेसम्म गीत बजाएर नाचिरहेको भिडियोहरु पोस्ट भए । देउसी भैलोमा पनि नेपाली आधुनिक शैलीको बाहुल्यता रह्यो र साँचिकै साँस्कृतिक देउसी गीतलाई प्राथमिकतामा नराखेको धेरैको प्रतिक्रिया थियो।

यमपञ्चकको समयमा गरिने म्हपूजाका बारेमा पनि सामाजिक सञ्जालमा चर्चा भइरह्यो। बीरगंजमा भएको सामूहिक म्हपूजामा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत सहभागी भएको तस्बिरले पनि चर्चा बटुल्यो । ‘बीरगंजमा सामूहिक म्हः पूजा आयोजना गरिएछ र प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतज्यू पनि सहभागी भएछन्। अब काठमाडौंमा छठको तयारी हुँदैछ । जय होस्,’ मनिष झाले ट्विट गरे। यो ट्विटलाई कोट गर्दै इमेल श्रेष्ठले ट्विट गरे, ‘स्याबास बीरगंजबासी हो, म्हपूजा गर्न योग्य हुने गरी सडक सफा राखेकोमा। अर्को वर्ष हामी पनि सडकमै बसेर म्हपूजा गर्ने बीरगंज आएर। बीरगंजबासीलाई न्हू दँ या भिन्तुना।’

हरेक वर्ष लक्ष्मीपूजाको दिनमा मनाइने महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका बारेमा पनि सामाजिक सञ्जालमा चर्चा भयो। देशका विभिन्न ठाउँमा लक्ष्मीजयन्तीको अवसरमा भएका कार्यक्रम मात्र नभई विदेशमा भएका कार्यक्रमको बारेमा पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पोस्ट गरे।

प्रकाशित: २६ कार्तिक २०७५ ०४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App