काठमाडाैं - इङ्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले आफ्नो अपराजित यात्रा कायमै राखेको छ। आइतबार भएको पहिलो खेलमा लिभरपुलले फुलह्यामलाई २–० ले पराजित गरेको छ।
लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा मोहम्मद सालाह र सकिरीले गोल गरे। पहिलो हाफको ४१ औं मिनेटमा सालाहको गोल मार्फत लिभरपुलले खेलमा अग्रता बनाएको थियो। ट्रेन्ट एलेक्जेण्डर एर्नोल्डको पासमा सालाहले डिबक्स एरियाकाे मध्य भागबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो। पहिलो हाफमा १–० को अग्रता बनाएको लिभरपुलले दोश्रो हाफमा थप एक गोल थप्यो। एन्ड्रियु रोबर्टसनको पासमा सकिरीले खेलको ५३ औं मिनेटमा गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर पारे। त्यसपछिको बाँकी समयमा दुवै टोलीको तर्फबाट गोल हुन सकेन र खेल लिभरपुलले २–० ले जित्यो। अधिकांश समय बल आफ्नो पक्षमा राखेको लिभरपुलले घरेलु मैदानमा फुलह्याम विरुद्ध उत्कृष्ट खेल पस्केको थियो।
प्रकाशित: २५ कार्तिक २०७५ १४:१७ आइतबार