काठमाडाैं - इङ्लिस प्रिमियर लिगमा अाज (आइतबार) ४ रोमाञ्चक प्रतिष्पर्धा हुँदै छन्। म्यान्चेस्टर डर्बीमा आइतबार म्याचेस्टर सिटी र म्यान्चेस्टर युनाईटेडबीच रोमाञ्चक खेल हुँदै छ। यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार सवा १० बजे सुरु हुनेछ। ११ खेलबाट २९ अंक जोड्दै तालिकाको शिर्ष स्थानमा रहेको सिटी र समान खेलबाट २० अंक जोड्दै अंक तालिकाको ८ औं स्थानमा रहेको युनाइटेडबीचको खेल सिटीको घरेलु मैदान इथिहाडमा हुनेछ। यसअघि यी दुई टोली यसै बर्षको अप्रिलमा भिडेका थिए जसमा युनाइटेड ३–२ ले विजयी भएको थियो।
यस्तै आजै हुने अन्य खेलमा २७ अंक सहित दोश्रो स्थानमा रहेको चेल्सी र नवौं स्थानको एभर्टनबीच खेल हुँदैछ। यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राती ८ बजे चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड व्रिजमा हुनेछ। आज हुने लिगको पहिलो खेलमा भने लिभरपुल र फुलह्याम भिड्दै छन्। यी दुईबीचको खेल पौने ६ बजे एनफिल्डमा हुनेछ। यस्तै सवा १० बजे आर्सनल र वल्भह्याम्पटन वान्डर्सबीच इमिरेट्समा खेल हुनेछ।
प्रकाशित: २५ कार्तिक २०७५ १०:३२ आइतबार