६ वैशाख २०८१ बिहीबार
समाज

ग्यास बुलेट पल्टिएर किच्दा आमाछोरीको मृत्यु

धादिङको बेनिघाट रोराङ गाउँपालिका –५, विशालटार पल्टिएको ग्याँस बुलेट

धादिङ–पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका –५, विशालटार नजिकै आइतबार बिहान ग्यास बुलेट पल्टिदाँ पैदलयात्रु आमाछोरीको मृत्यु भएको छ। 

भारतको बरौलीदेखि काठमाडौँको बालाजु जाँदै गरेको नेपाल ग्यासको युपी ७५ एजे ५२०८ नम्बरको एलपी ग्यासको बुलेट अनियन्त्रित भएर सडकबाट २० मिटर तल खसेको हो।

दुर्घटनामा बेनिघाट रोराङ –५ का ३५ वर्षीय गीता नेपाली र उनका छोरी २१ वर्षीय सुनिता नेपालीको मृत्यु भएको छ। दुर्घटनामा घाईते भएका उनीहरुको उपचारका क्रममा गजुरी अस्पतालमा मृत्यु भएको धादिङका प्रहरी उपरीक्षक डम्बर बिकले जानकारी दिए। 

गीता बेनिघाट रोराङ –५ का वडा सदस्यसमेत हुन्। चन्द्रोदय माविको कक्षा ११ को फर्म भर्न जाँदै गर्दा शाखा सडकमा हिडिरहेका उनीहरुको ग्यास बुलेट पल्टिदाँ मृत्यु भएको हो। ग्यास बुलेटका चालक भारत बस्ने २६ वर्षका भोला कुमारलाई बेनिघाट प्रहरीले नियन्त्रणमा लिएको छ।  

ग्यास बुलेट पल्टिएको ठाउँमा आगलागी हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै नेपाल प्रहरी, शसस्त्र प्रहरीको टोली तथा नीलकण्ठ नगरपालिकाको दमकल घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। घटनास्थलमा धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डे, एसपी डम्बर बिक लगायतको टोली समेत पुगेका छन्। 

 

प्रकाशित: २५ कार्तिक २०७५ ०८:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App