coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकारको अबको ध्यान विकास निर्माण तर्फ : उपप्रधानमन्त्री पोखरेल

ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेल। तस्बिर : खगेन्द्र अधिकारी/नागरिक

ताप्लेजुङ – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नयाँ संविधान निर्माण पछि राज्य सञ्चालननका लागि चाहिने कानुन निर्माणलाई प्राथमिकता दिनुपर्दा जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेजस्तो देखिएपनि यर्थाथमा त्यस्तो नभएको बताएका छन्। कानुन नभए राज्य सञ्चालन पद्धतिमै समस्या आउने अवस्थामा विकास निर्माण भन्दा पहिलो प्राथमिकता कानुन निर्माण भएकोले जनताले आसा गरे अनुसार विकासको गति अघि बढ्न नसकेको उनले बताए।

ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिरको दर्शन पछि फर्कने क्रममा आज फुङ्लिङमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै मन्त्री पोखरेलले कानुन निर्माण प्रक्रियाको फेरो एक चरणका लागि पूरा हँुदै गएकोले सरकारको अबको ध्यान विकास निर्माण तर्फ केन्द्रित हुने बताए। ‘सरकारको गति सुस्त भएको होइन, संक्रमणकाल कायम रहेको र यो अवस्थामा अरु थुप्रै बिषय मिलाउनमा सरकारले ध्यान दिनुपर्ने भएकोले जनताले सोचे जस्तो विकासको गति अघि बढ्न नसकेको हो’, मन्त्री पोखरेलले भने। उनले अब जनताले गुनासो गर्नु नपर्ने गरी सरकारले जनताका आवश्यता सम्बोधन गर्दै जाने बताए।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता समेत रहेका पोखरेलले दुई पार्टीको एकिकरण प्रकृयाले मंसिर पहिलो साताबाट तीव्रता पाउने बताए। उनले मंसिर दोस्रो साता भित्रमा प्रदेश स्तरका र मंसिर भित्रमा जिल्ला तथा जनवर्गीय संगठनको एकता टुङ्गिने दावी गरे।

पार्टीभित्रका नेताले गरेको सरकारको आलोचनालाई उनले स्वभाविक भएको बताएका छन्। कुन ठाउँमा र कसरी कुरा राख्ने भन्नेमा फरक मत भएपनि सरकार राम्रोसँग चलोस् र जनताका अपेक्षा सम्बोधन गरोस् भनेर शुभेच्छा राख्नु सकरात्मक भएको उनले बताए।

संविधान निर्माण र संघीयता कार्यान्वयन पछिको पहिलो निर्वाचित सरकार भएकोले अस्तव्यस्त भएको देशलाई गतिशिल बनाउन केही समय खर्चिनुपर्ने अवस्था रहेको पोखरेलको भनाई छ। पार्टी र सरकारकबीचमा तादम्यता नमिलेको बिषय बाहिर आएका छन् भनी सञ्चारकर्मीले सोधेको प्रश्नमा रक्षामन्त्री पोखरेलले दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकताबाट डराएकाहरुले फौलाएको भ्रम मात्र भएको प्रतिक्रिया दिएका छन्।

पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ तथा सांसद्वय योगेशकुमार भट्टराई र बिजय सुब्बाका साथ आएका मन्त्री पोखरेलले पाँचथरको फिदिममा आयोजित महागुरु फाल्गुनन्दको १३४ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओली आउने गरी तय भएको कार्यक्रम प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आउन नमिल्ने भएपछि मन्त्री पोखरेल कार्यक्रममा सहभागि भएको उनको सचिवालयले जनाएको छ।

प्रकाशित: २५ कार्तिक २०७५ ०६:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App