८ वैशाख २०८१ शनिबार
खेल

बलियो म्यानमारविरुद्ध पहिलो भिडन्त

काठमाडौं – नेपालले २०२० टोकियो ओलम्पिकअन्तर्गत एसियाली छनोटको दोस्रो खेलमा घरेलु टोली म्यानमारविरुद्ध आइतबार खेल्नेछ। घरेलु दर्शकको राम्रो साथ पाउने म्यानमारले पहिलो चरणको दोस्रो खेलमा याङ्गुनस्थित थुवुना रंगशालामा पाहुना टोली नेपालविरुद्ध चुनौती प्रस्तुत गर्नेछ। पहिलो खेलमा बिहीबार बंगलादेशमाथि ५–० को जित निकालेकाले म्यानमार आइतबार नेपालविरुद्ध निकै आत्मविश्वासका साथ मैदान उत्रनेछ। नेपालले भने पहिलो खेलमा भारतसँग १–१ को बराबरीमा चित्त बुझाएको थियो।

यस समूहको दाबेदार मानिएको म्यानमारविरुद्धको खेल आफ्नो पक्षमा बनाउन नेपालले निकै मिहिनेत गर्नुपर्नेछ । नेपालको तुलनामा म्यानमार निकै बलियो टोली हो। म्यानमार फिफा वरीयतामा ४४औँ स्थानमा छ भने नेपाल १ सय आठौँ स्थानमा। म्यानमार एएफसी च्याम्पियनसिपमा सन् २०१३ मा चौथो र सन् २०१६ मा तेस्रो भएको टोलीसमेत हो। नेपालले भने एसियाली फुटबलमा त्यस्तो किसिमको सफलता प्राप्त गर्न सकेको छैन। नेपालले दक्षिण एसियाली प्रतियोगितामै संघर्ष गर्दै आइरहेको छ। नेपाली राष्ट्रिय महिला टोलीले पहिलो पटक म्यानमारसँग खेल्ने लागेको हो।

गत सेप्टेम्बरमा भएको एएफसी यु–१६ महिला फुटबल च्याम्पियनसिप छनोटअन्तर्गत म्यानमारले समूह ‘इ’ को आयोजक नेपालमाथि ११–१ को जित निकालेको थियो। ४ टोली सम्मिलित उक्त समूहबाट म्यानमार र फिलिपिन्स शीर्ष दुईमा रहँदै दोस्रो चरणमा पुगेका थिए भने नेपाल समूहको अन्तिममा सीमित भयो। यता, नेपालको सिनियर टोलीको पनि अन्तर्राष्ट्रिय खेलमा पछिल्ला नतिजा खासै राम्रो छैन।

साफ च्याम्पियनसिपअन्तर्गत सन् २०१६ को डिसेम्बरमा नेपाली महिला टोलीले श्रीलंकासँग १–० को जित निकालेको थियो । त्यो नै महिला टोलीले कुनै पनि राष्ट्रविरुद्धको जित निकालेको राम्रो नतिजा हो। त्यसपछिका ४ खेलमा भने नेपाल जितविहीन छ। छनोटकै तयारीका लागि चीनको घरेलु टोलीसँगको ३ मैत्रीपूर्ण खेलमध्ये एक खेलमा भने नेपालले जित निकालेको थियो । यता, म्यानमारले भने सन् २०१८ मा खेलेका ९ खेलमा ५ जित निकालेको छ।

यद्यपि, जितका लागि पछिल्ला खेलका नतिजा भन्दा पनि वर्तमानको प्रदर्शनमा निर्भरता रहन्छ। नेपालले आफ्नो प्रदर्शनलाई यादगार बनाउन सके म्यानमारले दोस्रो चरणमा प्रवेशका लागि तेस्रो खेलमा निर्भर रहनुपर्नेछ। तर, नेपाल म्यानमारविरुद्ध पराजित भएमा दोस्रो चरणमा पुग्ने गणितीय सम्भावना मात्र कायम रहन्छ । आइतबार नै अर्को खेलमा भारत र बंगलादेश पनि भिड्नेछन्। अंकतालिकामा म्यानमार शीर्षस्थानमा छ भने नेपाल दोस्रो र भारत तेस्रो स्थानमा छन्।

सन् २०२० मा हुने टोकियो ओलम्पिक छनोटमा १८ देशलाई ४ समूहमा विभाजन गरिएको छ। कुल चार चरणमध्ये भिएतानाम र उज्बेकिस्तानले फिफा वरीयताका आधारमा दोस्रो चरणमा स्थान बनाइसकेका छन् । हरेक समूहका शीर्ष टोली र समूहका २ उत्कृष्ट उपविजेताले पनि आगामी अप्रिलदेखि हुने दोस्रो चरण चरणमा स्थान बनाउनेछन्। तीन समूहको दोस्रो चरणमा १२ राष्ट्रले तेस्रो चरणका लागि प्रतिस्पर्धा गर्नेछन्।

दोस्रो चरणबाट पनि समूहका शीर्ष टोलीले चौथो चरणका लागि स्थान बनाउनेछन् । दोस्रो चरणका तीन विजेतासँगै अस्ट्रेलिया, चीन, थाइल्यान्ड, दक्षिण कोरिया र उत्तर कोरियाले चौथो चरणका लागि प्रतिस्पर्धा गर्नेछन् । ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ भने समूहका उत्कृष्ट दुई टोलीले चौथो चरणमा स्थान बनाउनेछन् । ती ४ टोलीलाई पनि दुई समूहमा विभाजन गरी होम एन्ड अवेको आधारमा प्रतिस्पर्धा गराइनेछ भने विजेता २ राष्ट्रले टोकियो ओलम्पिक खेल्नेछन्।

समूहको दाबेदार मानिएको म्यानमारविरुद्धको खेल आफ्नो पक्षमा बनाउन नेपालले निकै मिहिनेत गर्नुपर्नेछ । नेपालको तुलनामा म्यानमार निकै बलियो टोली हो । म्यानमार फिफा वरीयतामा ४४औँ स्थानमा छ भने नेपाल १ सय आठौँमा छ।

प्रकाशित: २५ कार्तिक २०७५ ०४:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App