coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बोइङको मूल्यांकन ६२ करोड

काठमाडौं - राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवाको नाइन एनएसिए कलसाइन रहेको कर्णाली बोइङ ६२ करोडमा बिक्री गर्न सकिने भएको छ। नेपाल वायुसेवा निगमले सन् १९८७ मा किनेको ७५७ बोइङ बिक्रीका लागि अन्तर्राष्ट्रिय कम्पनी फिन्टेक ग्लोबल कन्सल्ट्यान्टले मूल्यांकन गरेको थियो।

कन्सल्ट्यान्टको मूल्यांकन प्रतिवेदनमा कर्णाली बोइङ बढीमा ५२ हजार ९६ लाख अमेरिकी डलर (हालको डलर मूल्य अनुसार ६२ करोड नौ लाख रुपैयाँ) र थोरैमा ४३ लाख ३३ हजार अमेरिकी डलर (५० करोड ८० लाख रुपैयाँ) मा बिक्री गर्न सकिने उल्लेख छ।

निगमका प्रवक्ता अशोक सिग्देलका अनुसार बोइङको मूल्यांकन गर्न गरिएको ग्लोबल टेन्डरमा तीनवटा कम्पनीले आवेदन दिएका थिए । यसमा स्विस कम्पनी फिन्टेक छानिएको थियो।

कम्पनीले विमानको पार्टपुर्जा, यन्त्र–उपकरणको समेत मूल्यांकन गरी दररेटसहित प्रतिवेदन पेस गरेको छ। कर्णाली नाम दिइएको बोइङ विमानमा एक सय ९० सिट छ । त्यसमा १६ वटा बिजनेस क्लासका छन्।

विमान पुरानो हुँदै गएकाले यसको सञ्चालन, इन्धन खर्च बढेको पाइएपछि निगमले कर्णाली बेच्ने निर्णय गरेको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले नेपाललाई विश्वसँग वाइड बडी जहाजबाट जोड्ने बताउँदै आएका छन्।

निगमले व्यावसायिक उडानका लागि उपयुक्त नभएकाले कर्णाली बिक्री गर्न गत वैशाख दोस्रो साता मूल्यांकन गर्ने कन्सल्ट्यान्सी छान्न ग्लोबल टेन्डर गरेको थियो।

सन् १९८७ मा अमेरिकन बोइङ कम्पनीसँग तत्कालीन शाही नेपाल वायुसेवा निगमले ऋणमा दुईवटा जहाज किनेको थियो। ती दुईमा गण्डकी नामको एउटा बोइङ यसअघि नै १५ करोड रुपैयाँमा बिबी एयरवेजलाई बिक्री गरिसकेको छ । कर्णाली बोइङले अहिले पनि अन्तर्राष्ट्रिय उडान गरिरहेको छ।

निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा एयरबसका न्यारो बडी र सोही संख्यामा वाइड बडी जहाज छन्। तर वाइड बडीले अहिले नयाँ गन्तव्यमा उडान सुरु गरेको छैन। नयाँ जहाजबाट जापान, कोरिया, चीन, साउदी अरब लगायत गन्तव्यमा उडान गर्ने घोषणा गरे पनि कानुनी प्रावधान पूरा नभएका कारण उडान भर्न नसकेको निगमले जनाएको छ। चीनमा वाइडबडी उडानका लागि भने तिहारसकिएसँगै अध्ययन प्रतिवेदनका लागि निगमको टोली जाने तयारी रहेको निगमका प्रवक्ता सिग्देलको भनाइ छ।

प्रकाशित: २५ कार्तिक २०७५ ०४:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App