८ वैशाख २०८१ शनिबार
अर्थ

बजारमा विदेशी फर्निचरको वर्चस्व

काठमाडौं - ‘हरियो वन नेपालको धन’ भन्ने उक्ति नेपालमा प्रसिद्ध छ।  राष्ट्रिय र सामुदायिक वनमा रुख कुहिएर गएका छन्। तर, यहाँका फर्निचर उद्योगमा काठ अभाव हुँदा विदेशी फर्निचरको भर पर्नुपर्ने अवस्था छ।

घर, अपार्टमेन्ट, अफिस,  रेस्टुरेन्ट, होटल, अस्पताल, विद्यालय सरकारी तथा गैरसरकारी संस्थाका कार्यालय, व्यापारिक प्रतिष्ठानले डेकोरेसनमा प्रयोग हुने फर्निचरमा विदेशीको वर्चस्व छ। विदेशबाट वार्षिक करिब साढे १७ अर्ब रुपैयाँ फर्निचर तथा फर्निसिङका तयारी सामग्री विदेशबाट आयात भइरहेको नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले जनाएको छ । फर्निचरमात्र नभएर आर्थिक वर्ष ०७४/७५ मा करिब ६ अर्ब रुपैयाँका काठका कच्चा पदार्थसमेत विदेशबाट आयात भएको थियो।

यहाँ नेपालमा चीन, भारत, मलेसिया, थाइल्यान्ड, टर्की, सिंगापुरलगायत मुलुकबाट फर्निचर तथा फर्निसिङका सामान आयात भइरहेको छ । स्वदेशमा पर्याप्त कच्चा पदार्थको रुपमा प्रयोग हुने काठ नहुँदा विदेशबाट फर्निचनर तथा फर्निसिङका सामान ल्याउनुपरेको हो । बजारमा एक वर्षमा ३५ अर्बका फर्निचर तथा फर्निसिङका सामान खपत हुने महासंघले जनाएको छ । खपत हुनेमध्ये ५० प्रतिशत (साढे १७ अर्ब) विदेशबाट ल्याएर बिक्री गरिरहेको महासचिव कविन्द्र जोशीले बताए । ‘स्वदेशमा कच्चा पदार्थ अभावले अर्बौं रुपैयाँ विदेश गएको छ,’ जोशीले भने, ‘कच्चा पदार्थको व्यवस्था गरे स्वदेशी उत्पादन बढाउन सकिन्छ।’

घर र अफिसको सजावटलाई सबैले उच्च प्राथमिकतामा राख्न थालेपछि  फर्निचर तथा फर्निसिङको व्यवसाय फस्टाएको छ । फर्निचर, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोरका सामान प्रयोग बढ्दो छ । नेपालीमा कर्पोरेट कल्चरको विकाससँगै घर र अफिसलाई आकर्षित बनाउन डेकोरेसनमा खर्च गर्ने गरेका हुन्।

उपभोक्ता सौखिन हुँदै गएकाले पनि यसको व्यापार फस्टाएको गुडलक डेकोरका प्रबन्ध निर्देशक टंक रौनियारले बताए । ‘आफ्नो घर र अफिस सबैले आकर्षक बनाउन चाहन्छन्,’ उनले भने, ‘नयाँ–नयाँ डिजाइन खोज्ने भएकाले बजार बढिरहेको छ।’

यहाँ कच्चा पदार्थको अभावले ठूलो लगानीमा फिनिसिङ सामान नपाउने भएकाले विदेशी उत्पादनले बजारमा हिस्सा जमाउँदै गएका छन्। विदेशी फर्निचरका डिजाइन आकर्षक भएकाले विदेशीले मन जितेको फर्निचर व्यवसायी बताउँछन्।

हरेक व्यक्तिको आर्थिक सम्पन्नता वृद्धिसँगै लाखौं रुपैयाँ खर्च गरेर आफ्नो बासस्थान र कार्यालयलाई आकर्षक बनाउने प्रचलन बढेको नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका संस्थापक अध्यक्ष सुरेन्द्र शारडाले बताए । ‘कच्चा पदार्थको व्यवस्था गरेर स्वदेशी उद्योग फस्टाउन सक्छन्,’ शारडाले भने, ‘स्वदेशी उत्पादन वृद्धि गर्न सरकारले पहल गर्नुपर्छ।’

स्वदेशी उत्पादनले अपेक्षित रुपमा गुणस्तर कायम गर्न नसक्दा विदेशबाट आयात भएको व्यवसायीको दाबी छ । उपभोक्ताको माग अनुसार बंगलादेशबाट हाई क्वालिटीका फर्निचर ल्याएर बेच्दै आएको अखिल ट्रेडिङ कन्सर्न प्रालिका प्रबन्ध निर्देशक अर्पित चापागाईं बताउँछन् । ‘स्वदेशी उत्पादनले उपभोक्ताको चाहना अनुसार दिन सकेका छैनन्,’ उनले भने, ‘स्वदेशी उत्पादनमा गुणस्तर कायम गर्न नसक्नु नेपाली उत्पादनकर्ताको कमजोरी हो ।’ गुणस्तरीय नेपाली उत्पादन भए स्वाभाविक रुपमा प्रयोग बढ्ने उनको दाबी छ।

घर, होटल, रेस्टुरेन्ट, अस्पताल, विद्यालय खोल्ने क्रम निरन्तर जारी रहेकाले फर्निचरको माग हरेक वर्ष वृद्धि हुँदै गएकाले यस क्षेत्रका अवसर पनि बढिरहेको छ । वार्षिक १० देखि १५ प्रतिशतले खपत बढिरहेको नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले जनाएको छ । ‘कच्चा पदार्थसहित स्वदेशमै उद्योग सञ्चालन गर्न सके फर्निचर आयातमा रकम बिदेसिन रोकिन्छ,’ अध्यक्ष शारडाले भने, ‘सरकारले वातावरण सिर्जना गर्नुपर्छ ।’ प्रविधि भिœयाउनसमेत सघाउनुपर्ने व्यवसायीको माग छ । फर्निचर उद्योगको सम्भावना रहे पनि कच्चा पदार्थ अभावले विदेशबाट फर्निचरका सामान आयात भइरहेको छन् । सरकारले फर्निचर उद्योगलाई पर्याप्त काठको व्यवस्था गर्न सके स्वदेशमै गुणस्तरीय र आकर्षक डिजाइनका फर्निचर तयार गर्न सकिने उद्योगी बताउँछन्।

वनमा कुहिएर खेर गएको काठलाई प्रयोगमा ल्याउन व्यवसायीको माग छ । कुर्सी, बेड, विस्तार, लो बेड, सोफा, दराज, -याक, किचन टेबुल, तन्नालगायत फर्निचर आधारभूत सामग्री भएकाले फर्निचर उद्योगलाई सहज बनाउनुपर्ने फर्निचर तथा फर्निसिङ व्यवसायी संघ, काठमाडौंका अध्यक्ष राजेशकुमार अग्रवालले बताए । ‘सस्तोमा स्वदेशी गुणस्तरीय सामग्री प्रयोग गर्ने वातावरण मिलाउनु पर्छ,’ अग्रवालले भने, ‘राज्यले वातावरण दिए विदेशीसँग प्रतिस्पर्धा गर्न सक्ने फर्निचर तयार गर्न सक्छौं।’

प्रकाशित: २५ कार्तिक २०७५ ०४:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App