coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्प र म्याक्रोंबीच सुरक्षा बजेट वृद्धि गर्ने सहमति

एलिसी राष्ट्रपतीय दरबारमा भएको भेटवार्ताका क्रममा हात मिलाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों। तस्बिर : रोयटर्स

वासिङ्टन (बिबिसी) – फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले युरोपेली सेना निर्माण गर्नु पर्ने बताएपछि उत्पन्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र म्याक्रोंबीचको विवाद समाधानतर्फ अघि बढेको छ।

ट्रम्प र म्याक्रोंबीच युरोपेली सुरक्षामा थप खर्च गर्नुपर्ने आवश्यकतामा शनिबार सहमति भएसँगै विवाद समाधानतर्फ अघि बढेको हो। दुई राष्ट्रपतिबीच शनिबार युरोपको सुरक्षा बजेटमा वृद्धि गर्न आवश्यक रहेको भन्ने विषयमा सहमति भएको फ्रान्सेली राष्ट्रपति निवास एलिसीले जनाएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले एक ट्विट गर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोंले युरोपेली सेना बनाउने भनेर दिएको अभिव्यक्ति अपमान गर्ने खालेको भएको बताएका थिए।

प्रथम विश्वयुद्धको सयौं वार्षिकोत्सव समारोहमा सहभागी हुनुभन्दा एक दिन अघि एलिसीमा भएको बैठकमा फ्रान्सेली राष्ट्रपति म्याक्रोंले अमेरिकी राष्ट्रपति ट्रम्पलाई न्यानो स्वागत गरेका थिए। यद्यपि दुई नेताबीचको भेटवार्ता पहिलेपहिलेको जस्तो सौहार्दपूर्ण नभएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। सजाइएको प्रेसिडेन्सियल प्यालेसमा रहेको सुनौलो कुर्सीमा बसेका ट्रम्पको घुँडामा हात राखेर म्याक्रोंले मित्रवत् व्यवहार देखाउन खोजेका थिए तर ट्रम्पले भने केही दूरी कायम गर्न खोजेका थिए।

‘हामी बलियो युरोप चाहन्छौं। यो हाम्रो लागि अत्यन्तै महŒवपूर्ण छ र यसका लागि हामी दुवै मिलेर जसरी काम गर्न सक्छौं त्यो नै दुवैका लागि सजिलो हुन्छ,’ भेटमा राष्ट्रपति ट्रम्पले बताए।

‘हामी युरोपलाई सहयोग गर्न चाहन्छौं तर युरोप पनि निष्पक्ष बन्नुपर्छ। तत्काललाई अमेरिकालाई मात्रै भार परिरहेको छ,’ उनले बताए।

अमेरिकी राष्ट्रपति ट्रम्पको बोलीमा समर्थन जनाउँदै फ्रान्सेली राष्ट्रपति म्याक्रोंले आफूले युरोपले पनि उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)मा सुरक्षा बजेटमा वृद्धि गरोस् भनेर चाहेको बताए। उनले फ्रान्सको राष्ट्रपति बनेदेखि नै नाटोमा युरोपको सेयर बढाउनुपर्नेमा जोड दिँदै आएका छन्। यद्यपि उनले युरोपको आफ्नै सेना हुनुपर्नेमा पनि जोड दिँदै आएका छन्।

भर्खरै सम्पन्न भएको अमेरिकी मध्यावधि निर्वाचनमा अमेरिकी राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीलाई धक्का लागेको छ। यस्तो सांकेतिक समयमा विश्वले प्रथम विश्वयुद्धको शतवार्षिकी स्मरण गर्न लागेको भए पनि ट्रम्पको फ्रान्स भ्रमण अमेरिका–युरोप गठबन्धनलाई थप मजबुत बनाउनेतर्फ लक्षित रहेको रोयटर्सले उल्लेख गरेको छ। तर पेरिस ओलर्नुपूर्व ट्रम्पले गरेको ट्विटमा फ्रान्सेली राष्ट्रपति म्याक्रोंले यसै साता युरोप वान रेडियोमा अमेरिका प्रमुख चुनौती भएको भनेर दिएको अन्तर्वार्ताप्रति प्रतिक्रिया दिएका थिए।

रेडियो अन्तर्वार्तामा साइबर ह्याकिङ, निर्वाचनमा हस्तक्षेप र क्षेप्यास्त्र सन्धिबाट हात झिक्ने अमेरिकी निर्णयबारे बोल्दै म्याक्रोंले युरोपले चीन, रुस र अमेरिकासँग पनि आफूलाई सुरक्षित राख्नुपर्ने धारणा व्यक्त गरेका थिए । अन्तर्वार्ताकै अन्त्यतिर उनले छुट्टै युरोपेली सेनाको आवश्यकताबारे पनि बोलेका थिए । ‘युरोपसँग सीमा जोडिएको रुसले हामीलाई चुनौती दिइरहेको छ । हामीलाई अमेरिकाको मात्रै भर नपर्ने युरोप चाहिएको छ, जसले आफ्नो सुरक्षा आफै गर्न सकोस्,’ अन्तर्वार्तामा म्याक्रोंले बताएका थिए । नाटो गठबन्धन राष्ट्रलाई साझा सुरक्षामा आफ्नो योगदानको हिस्सा बढाउन र अमेरिकाको मात्रै भर नपर्न चेतावनी दिँदै आएका अमेरिकी राष्ट्रपति ट्रम्पले फ्रान्सेली राष्ट्रपति म्याक्रोंको भनाइप्रति आपत्ति जनाएका थिए । ‘एकदमै अपमानित भनाइ । युरोपले सर्वप्रथम त नाटोमा आफ्नो सेयर बढाउनुपर्छ,’ ट्रम्पले ट्विट गरेका थिए।

अमेरिकी सञ्चारमाध्यमको गलत समाचार प्रवाहका कारण दुई राष्ट्रपतिबीच असमझादारी उत्पन्न भएको भन्दै फ्रान्सेली राष्ट्रपति निवास एलिसीले दुई नेताबीचको एक घण्टा लामो वार्ताले सो असमझादारीको अन्त्य भएको बताएको छ।

प्रकाशित: २५ कार्तिक २०७५ ०४:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App