८ वैशाख २०८१ शनिबार
राजनीति

युवालाई आत्मनिर्भर बनाइने : अर्थमन्त्री खतिवडा

फाइल तस्बिर

बनियानी - अर्थमन्त्री डा युवराज खतिवडाले युवालाई आत्मनिर्भर बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्। युवा स्वरोजगार कोष जिल्ला संयोजन समिति झापाले शनिबार बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री डा खतिवडाले युवालाई स्वरोजगार बनाउन सरकारले विभिन्न कार्यक्रम ल्याएको बताए।

“शैक्षिक योग्यता हासिल गरेका युवाले अब विदेशिनु पर्दैन”, उनले भने, “योग्यताका आधारमा युवालाई सहुलियत व्याजदरमा ऋण दिने व्यवस्था मिलाइएको छ।” युवालाई व्यवसायी बनाउन सरकारले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिलाई रु १० लाख, सीप भएका महिलालाई रु १५ लाख, दलितलाई रु १० लाख लगायतका आधा दर्जनभन्दा बढी सहुलियत व्याजदरमा ऋण दिने व्यवस्था मिलाएको अर्थमन्त्री खतिवडाले बताए।

स्वरोजगार कोषबाट ऋण लिएर धेरै युवा आत्मनिर्भर भएको बताउँदै अर्थमन्त्री खतिवडाले भने, “गरिबीको रेखामुनि रहेका नेपालीको जीवनस्तर उकास्न स्वरोजगार कोष सहायक बनेको छ।” झापामा स्वरोजगार कोषको माध्यमबाट धेरै युवा आत्मनिर्भर भएकामा अर्थमन्त्रीले खुशी व्यक्त गरे।

स्वरोजगार कोषले उपलब्ध गराउने कर्जा रकम कम भएको सहभागीको गुनासो सुनेपछि अर्थमन्त्री खतिवडाले अनुदानको सस्तो पैसा धेरै उपलब्ध गराउन कठिनाइ हुने बताए। “सरकारको आम्दानी स्रोत भनेको कर हो”, उनले भने, ‘‘धेरै अनुदान दिन धेरै कर उठाउनुपर्ने हुन्छ, कर बढी उठाउँदा सरकार आलोचित हुने अवस्था आउँछ।”

जनताको पैसा जनतालाई नै वितरण गरिने भएकाले धेरै अनुदानको रकम दिन नसकिने उनले बताए। कोष मार्फत रु दुई लाख उपलब्ध गराउँदै आएकामा अब रकम बढाउने सोचमा सरकार रहेको समेत उनले खुलासा गरे। मुलुकमा अझै पनि धेरै नागरिक वित्तीय पहुँचमा नरहेकाले सोको अभिवृद्धि गर्ने उद्देश्यले पनि स्वरोजगार कोषको अवधारणा अघि सारिएको अर्थमन्त्री खतिवडाले बताए। रासस

प्रकाशित: २४ कार्तिक २०७५ १३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App