coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मधेसमा भरदुतिया पर्व मनाइयाे

लहान - मधेसका देहातमा शुक्रबार ‘भरदुतिया’ पर्व उल्लासका साथ मनाइएको छ। मधेसमा तिहारको अन्तिम दिन भरदुतिया (भातृद्वितीया) मनाईन्छ। पहिलो दिन दियाबाती (दीपावली), दोस्रो दिन हुराहुरी मनाइएको थियो। तेस्रो दिन भरदुतिया (भातृद्वितीया) मधेसभरी उल्लासपूर्वक मनाइएको छ। यस पर्वलाई भाइदुज, भरदुतिया, भातृद्वितीया, भाइटीकाका नामले मधेसी समाजमा मनाइदै आइएको छ।

दिदीबहिनीले दाजुभाइको गलामा मखमली माला र निधारमा रातो टीका लगाइदिएपछि दाजुभाइले दिदीबहिनीलाई नगद, कपडा लगायतका उपहार दिन्छन्। यस दिन दाजुभाइ दिदीबहिनीको घरमा भार (मिठो पकवानसहितका सनेस) लिएर पुग्ने चलन अझै मधेसी समाजमा कायमै छ। भरदुतीयामा दिदीबहिनीले घरआँगन लिपेर चोख्याउँछन्। आँगनमा पिर्का राखेर त्यसमाथि अरिपन (माटो घोलेर बनाइने मैथिली चित्र) बनाएर सिन्दूरको थोपा लगाइन्छ। दिदीबहिनीले दाजुभाइको गोडा पानीले धोइदिन्छिन् र अरिपन दिएको पिर्कामा बसाउँछन्। त्यसपछि दाजुभाइको अञ्जुलीमा पानको पात, सुपारी, फलफूल राखिदिन्छन्। अनि पानी चुहाउँदै परिक्रमा गर्छन् जसलाई न्यौत (निमन्त्रण दिनु) भनिन्छ। त्यसपछि दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी टीका र माला लगाइदिएर दीर्घायुको कामना गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार रुपैयाँ, गरगहना, लुगा सनेस (उपहार) दिने चलन छ।

 

प्रकाशित: २३ कार्तिक २०७५ १२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App