coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

तिहारमा पुरानै भाका मीठा

हरेक वर्ष दर्जनौँ तिहारे गीत रेकर्ड हुने गरेको भए पनि सन् १९९१ मा तुलसी घिमिरेले बनाएको ‘चिनो’ फिल्मको ‘दियो बाली साँझको...’ बोलको गीतले अझै बजार तताइरहेको छ। हरेक वर्ष हरेक नाचगानमा यही गीतले राज गर्दै आएको छ। आशा भोसलेले गाएको यस गीतलाई तुलसी घिमिरेले नै लेखेका थिए भने रञ्जीत गजमेरले संगीत भरेका थिए।

तिहारमा नाच्नुपर्यो भने अझै पनि ‘तिहारै आयो लौ झिलिमिली’ बोलको गीत नै बजाइन्छ। यस गीतलाई जित्ने गीत अझै बजारमा आउन सकेका छैनन्। जब तिहार आउँछ, रेडियो–टेलिभिजनदेखि मोबाइलमा रिङटोनसम्म यही गीत घन्कन थाल्छ। देउसी–भैलो खेलाउने क्लबहरुले यसै गीतमा नाच सिकाइरहेका हुन्छन्। गीतमा लोचन भट्टराई र नूतन प्रधानको स्वर छ।

यस फिल्ममा नीर शाह, गौरी मल्ल, पवन मैनाली, भीमबहादुर थापा लगायतले अभिनय गरेका छन्। फिल्मका निर्देशक शम्भु प्रधान हुन्। त्यसयता जति पनि चलचित्र निर्माण भए, तिनमा तिहारका गीत राखिए तर यिनलाई उछिन्न भने सकेनन्।

श्रीकृष्ण श्रेष्ठले निर्माण गरेको चलचित्र ‘कोहिनुर’मा ‘देउसी–भैलो’ बोलको गीत समावेश गरिएको छ तर तिहारको बेला यो गीत खासै बज्दैन।

फिल्म मात्र होइन, फिल्मबाहिर पनि फिल्मी भैलोलाई मात दिन गायिका पुस्तका खड्का, रञ्जना गुरुङ, आभा मुकारुङ, अमि खड्का, प्रेम लामाले २०७१ मा गाएका थिए। ‘भैलिनी आयौ आँगन गुन्यूँ–चोली माग न’ जस्तै भाकाको सो गीत बजारमा ल्यााएका थिए तर त्यो गीतले पनि खासै चर्चामा आएन।

पूर्वेली तिहार गीत
अहिले पूर्वेली लोकभाकामा थुप्रै तिहारका गीतहरु बजारमा आएका छन्। अरुण उपत्यकाको लोकभाकामा गायक नवीन खड्काले ‘तिहारै आयो लौ झिलिमिली’ बोलको गीत अझै पनि पूर्वमा देउसी खेल्दा गाउने गरिन्छ । नवीन खड्काका अलावा पुस्तका खड्का, बलराम समाल र अञ्जना गुरुङले गाएको यो लोक भाका पुरानो भए पनि अहिले पनि पूर्वमा खेलिने देउसी–भैलोमा प्रमुख रुपमा घन्कने गरेको छ।

विशेषगरी पूर्वको अरुण उपत्यकामा गाइने लोकभाका ‘छक्का बरी लैलै’लाई पुस्तका खड्काले गाएकी छन्। तिहारको बेलामा यस्तो लोकभाका पूर्वमा गाउने गरेको पाइन्छ तर पछिल्ला समयमा पूर्वेली लयमा तिहारमा गीत विरलै मात्रामा बजार आउने गरेका छन्।

पश्चिमेली तिहार गीत
‘नेपाल आइडल २’ बाट बाहिरिएपछि सन्ध्या बुढाले तेजस रेग्मीसँग मिलेर ‘तिहारै आयो’ बोलको गीत हालै बजारमा लिएर आइन्। यस गीतलाई पनि पुरानै लयमा उनीहरुले गाएका छन्। गीत गाउने व्यक्ति मात्र फरक तर लय र शब्द भने पुरानै देखिन्छ । शब्द–संगीत तेजस रेग्मी आफैँले दिएका छन्।

रोइला भाकामा पनि तिहारका गीतहरु प्रशस्तै सुन्न सकिन्छ। लोकप्रिय गायक पशुपति शर्मा र गायिका देवी घर्तीले गाएको ‘तिहारै रमाइलो’ रोइला लोकभाका यतिखेर ट्रेन्डिङमा नै परेको छ।

देवी र पशुपतिले ‘तिहारै रमाइलो’ भन्दै दोहोरीमा घम्साघम्सी गरेका छन्।

अर्का लोकप्रिय गायक खुमन अधिकारी, सीता थापा, अमृता लुङ्गेली मगर, मञ्जु गौतम, सावित्री भुजेल बस्नेतले गाएको तिहार गीत ‘फूलमाला’ पनि चर्चामा छ। भाइटीकालाई आधार बनाएर यो गीत निर्माण गरिएको छ।

गायक तथा संगीतकार सन्तोष केसीले ‘देउसु रे’ बोलको तिहार गीत बजारमा ल्याएका छन्। यो तिहारको गीत अरुको भन्दा अलिक फरक खालको छ। ‘भन भन भाइ हो, देउसु रे’ भन्ने भाका सन्तोष केसीले बजारमा ल्याएका छन्। उनलाई शर्मिला गुरुङले स्वरमा साथ दिएकी छन्।

तिहारलाई लक्षित गरेर गायिका निशु ढकालले आफ्नो नयाँ गीतका रूपमा ‘आयो तिहार लिएर देउसी’ बोलको गीत ल्याएकी छन्। त्यस्तै लोकगायक रोशन कुताल क्षेत्रीले नाचौँ नाचौँ लाग्ने तिहार गीत ‘लाहुरे दाइ’ ल्याएका छन्। क्षेत्री आफैँले भाका भरेको यसको शब्द सतीश अधिकारीले शब्द कोरेका छन्। रोशनका अलवा गीतमा शान्ति सुनारको आवाज सुन्न सकिन्छ।

गायक दिपेश श्रेष्ठले पनि यही बेला ‘आयौँ हामी’ बोलको देउसी गीत बजारमा लिएर आएका छन्। तिहारको बेला देउसी भैलो खेल्न आयौँ है भन्दै घरघरमा जाने देउसेहरुले बोल्ने शैली नै यो गीतको विशेषता बन्न पुगेको छ। गीतमा रोशनमान श्रेष्ठको शब्दरचना रहेका छन्। (शुक्रबारबाट साभार)

प्रकाशित: २३ कार्तिक २०७५ ०४:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App