६ वैशाख २०८१ बिहीबार
समाज

भाइ मसलामा पनि अरूकै भर

तिहार नजिकिँदै जाँदा भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई दिने सगुन ‘भाइ मसला’को व्यापार चम्किएको छ अहिले। स्टोरहरुमा दिदीबहिनीको भीड सुरु भइसकेको छ। दिदी–बहिनीलाई आकर्षित गर्न स्टोरहरु तिहारमय बनेका छन्।

भाटभटेनीमा ग्राहकको चाहना अनुसार बदाम, काजु, ओखरको गुदी, पिस्ता, छोक्रा, काजु, किसमिस, मखना, नरिवल लगायत परिकार मिसाएर प्याकेट तयार गरेर राखिएको छ । तीन सय देखि हजार/पन्ध्र सय रुपैयाँका पोका छन्।

भाइ मसला किन्दै गरेकी काभ्रेकी मनमाया कोइरालाले सजिलोका लागि ‘भाइ मसला’ किन्न आएको बताइन्। ‘स–साना पोका भएकाले एक–एक वटा उपहार दिन सजिलो हुन्छ,’ उनले भनिन्, ‘हरेक वर्ष सुपर मार्केटमा आएर खरिद गर्छु।’

अहिले डिपार्टमेन्टल स्टोर्स, किराना पसलदेखि सडक किनारासम्म यसकै व्यापार देखिन्छ। सबै सामग्रीलाई मिसाएर एउटै प्याक पारेर बेच्ने गरेका छन्। छुट्टा—छुट्टै खरिद गर्न पनि पाइन्छ। उपभोक्ताको सुविधाका लागि डिपार्टमेन्ट स्टोर्स तथा व्यापारीले सबै प्रकारका मसला एउटै प्याकमा बिक्री गरिरहेका छन्।

तिहारमा प्रयोग हुने ओखर, बदाम स्वदेशमा उत्पादन भए पनि अन्य मसला विदेशबाट आयात हुने गरेको छ। दैनिक उपभोग्य वस्तुमा विदेशीको भर पर्ने नेपाली चाडबाडमा पनि विदेशकै भर पर्नुपरेको छ।

नेपालमा चीन, भारत, अमेरिका, भियतनाम, यूएई, कतार, थाइल्यान्ड लगायतका करिब एक दर्जन मुलुकबाट ती सामग्री आउने गरेका छन्। भन्सार विभागको तीन महिनाको तथ्यांकअनुसार करिब एक अर्ब रुपैयाँका तिहारसहितका चाडबाडमा प्रयोग हुने मसला आयात भएको छ। 

तिहार नजिकिँदै जाँदा भाइ मसलाको व्यापार बढेको बिगमार्ट अनामनगरमा कार्यरत प्रमिला शर्मा बताइन्। ‘तिहारका लागि सामग्री किन्ने आउन थालेका छन्,’ गुरुङले भनिन्, ‘सबैले भाइ मसला नै किन्ने गरेका छन्।’ उपभोक्ताको चाहनाअनुसार मसलासहित मिठाई बिक्री गर्ने गरेको गुरुङले बताइन्।

दसैंपछि सुस्ताएको बजारमा फेरि चहलपहल बढेको छ। दसैंमा खसी, बोकाको खपत बढेजस्तै तिहार नजिकिँदै जाँदा भाइ मसला, टोपी, दाइभाइलाई उपहार दिने अन्य वस्तु, विद्युतीय सामग्री, माटाका भाँडाको व्यापार सुरु भएको छ। भाइ मसलाका अतिरिक्त तिहारमा कपडा, टोपी, झिलिमिली पार्ने विद्युतका सामग्रीको पनि व्यापार हुन्छ।

उपत्यकासहित यहाँबाट बाहिरी जिल्ला जानेले पनि मसला खरिद गरेर लैजाने गरेका छन्। मसलासहित तिहारमा प्रयोग हुने सामग्रीले फुटपाथ व्यापार बढ्छ। तिहारमा फूलको व्यापार पनि फस्टाउँछ। घरायसी प्रयोजनका लागि उत्पादन गरेका बाहेक राजधानीमा तिहारलाई लक्षित गरेर करिब २२ लाख माला खपत हुने फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ। राजधानीमा काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, हेटौंडालगायतका जिल्लाबाट फूल, माला ल्याएर बिक्री गरिन्छ। नेपालमा हरेक वर्ष १५ देखि २० प्रतिशतका दरले फूलको माग बढ्दै गएको छ।

यहाँ खपत हुने करिब तीन लाख माला भारत लगायतका मुुलुकबाट आयात हुने एसोसिएनका अध्यक्ष कुमार कसजूले बताए । एसोसिएसनका अनुसार करिब १५ लाख थान सयपत्री र सात लाख गोदाबरीको माला खपत हुन्छ।

माला गोटाको ३५ देखि ५० रुपैयाँमा बिक्री हुन्छ। तिहारमा दिदीबहिनीले दाजुलभाइलाई लगाइदिने सयपत्री माला पनि स्वदेशी उत्पादनले नपुगेपछि विदेशबाट आयात गरिन्छ। व्यवसायीले भाइटीकालाई भारतबाट तीन लाख सयपत्री माला आयात गर्ने फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ। यहाँ उत्पादन भएका फूलले बजारको माग नधानेपछि विदेशबाट ल्याइन्छ। (शुक्रबारबाट साभार)

प्रकाशित: २२ कार्तिक २०७५ ०९:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App