सर्लाही - दिपावलीका लागि घरमा झिलिमिली बत्ती राख्ने क्रममा बुधबार जिल्ला स्थित छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ भने एक युवा घाइते भएका छन्।
सदरमुकाम स्थित मलंगवा नगगपालिका–१० निवासी रामेश्वर साहका ७ बर्षीय छोरा निसान्त कुमार साहको करेन्ट लागेर मृत्यु भएको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए। आफ्नै घरमा झिलिमिली बत्ती हाल्ने क्रममा करेन्टको झड्का लागेर घरको छतबाट खसेका निसान्तको उपचारको लागी जिल्ला अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दीमा पनि झिलिमिली बत्ती राख्ने क्रममा घरको छतबाट लडेर एक युवक घाईते भएका छन्। लालबन्दी नगरपालिका–७ जनवादी चोक निवासी कुमार बिकका १७ वर्षीय छोरा पुसल बिक घाईते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार लालबन्दी स्थित यूनाईटेड होटलमा कामगर्ने बिक होटलमा झिलिमिली बत्ती फिट गर्ने क्रममा होटलको छतबाट लडेका हुन्। बिकको लडेर हात भाँच्चिएको छ।
प्रकाशित: २१ कार्तिक २०७५ १०:४७ बुधबार