८ वैशाख २०८१ शनिबार
राजनीति

'पहिचानको मुद्दाले देशमा अस्थिरता'

काठमाडौं– प्राध्यापक पी खरेलले पहिचानको मुद्दाले देशमा अस्थितरता निम्त्याएको बताएका छन्। रेडियो नागरिकको नियमित कार्यक्रम नागरिक मञ्चमा बोल्दै प्रा. खरेलले विगत १०–१२ वर्षदेखिनै थापा पाउँदै आएको भएपनि संविधान जारी भएपछिको तीन वर्षको समयमा त यो मुद्दाले बेजोड अस्थिरता ल्याउछ भन्ने नेपाली जनताले अनुभव गरिरहेको बताए। “पहिला यो मुद्दा उठाउने नेताहरुमा, उनीहरुको अन्तःस्करणमा यो घाँडो हो कि भन्ने छ”, खरेलले भने।

यहाँ पहिचानका मुद्दा उठाउन प्रेरित गर्ने स्केन्डेनेभियन देशहरु डेनमार्क, स्वीडने, नर्वे लगायत पश्चिमा मुलुकहरुले आफ्नो स्वार्थ अनुरुप पहिचानको मुद्दा थोपरेको खरेलको भनाई छ। आफ्नै मुलुकमा त्यस्तो व्यवस्था लागु नगरेका ती मुलुकले अन्य देशमा लागु गराउन गरेको प्रयास असफल भएको खरेलले बताए।

प्रा. खरेलले राजसंस्थाको अन्त्य र संघीयतासहितको गणतन्त्रको स्थापना विदेशीहरु विशेषगरी पश्चिमाहरुको स्वार्थमा भएको बताए। राजसंस्था रहेन भने अन्य मूल्यमान्यता कमजोर हुने र धर्म परिवर्तन गर्न सजिलो हुने, नेपाल मार्फत् चीनमा प्रवेश गर्न सजिलो भएकाले अमेरिका, बेलायत, जर्मनी, फ्रान्स लगायतका पश्चिमा देशहरुले राजसंस्था हटाउन बल गरेको उनको भनाई छ। यस्तै, जसरी पनि शक्तिमा जानका लागि ठेक्कापट्टा जस्ता सानातिना स्वार्थमा समेत फस्ने नेपाली दलहरु विदेशीको स्वार्थमा फसेको उनले बताए। नेपाललाई लिएर पश्चिमा मुलुकहरु र दुई छिमेकी देश चीन र भारतको आ–आफ्नै स्वार्थ रहेको उनको भनाई छ।

प्रा. खरेलले संघीयताका कारण मुलुक नै नरहने अवस्था समेत आउन सक्ने चिन्ता व्यक्त गरे। उनले भने, “संघीयता अर्को २०–३० वर्षसम्म कायम रह्यो भने पनि मुलुक साह्रै कमजोर हुन्छ, अस्थिरता हुन्छ, समस्यामा पर्छ, मुलुकै नरहने त हैन भन्ने पनि देखिन्छ। तर साह्रै समस्यामा पर्यो भने नरहन पनि सक्छ।”

नेपालका नेताहरु संघीयताको विरुद्धमा हुँदा हुँदै संघीय प्रणाली स्थापना हुनु आफैमा सन्देहपूर्ण रहेको उनले बताए। “राष्ट्रपति विद्यादेवी भण्डारी पनि संघीयता विरुद्ध हो, उहाँको गतिविधिहरु पनि संघीयताको पक्षमा देखिदैनन्” खरेलले भने, “केपी ओलीले त पहिलादेखि भनेकै हो, मैले मात्र हैन उहाँको दलले नरुचाएको भनेकै हो।”

नेपाली कांग्रेसले पनि परिवर्तन स्वीकार गर्न नसकेको जिकीर गर्दै खरेलले भने, “कांग्रेस पनि नरुचाइ नरुचाइ गणतन्त्रमा गएको हो। अझै पनि धेरै कांग्रेसीहरु हिन्दूराज्यको पक्षमा छन्। तर भन्ने आँट उनीहरुमा छैन।” अन्तर्वार्ता सुन्न तलको लिंकमा क्लिक गर्नुहोस्।

 

प्रकाशित: २१ कार्तिक २०७५ ०८:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App