८ वैशाख २०८१ शनिबार
राजनीति

रुकुमका स्थानीय तह नगर प्रहरी भर्ना गर्दै

रुकुम – रुकुम (पश्चिम)मा रहेका स्थानीय तहहरुले नगर प्रहरी भर्ना गर्न सुरु गरेका छन्। ६ स्थानीय तह रहेको जिल्लाका दुई स्थानीय तहले नगर प्रहरी भर्ना गर्ने प्रक्रिया सुरु गरेका हुन्। जिल्लाको आठविसकोट नगरपालिका र मुसिकोट नगरपालिकाले नगर प्रहरी भर्ना गर्न लागेको हुन्।

नगर प्रहरीको लागि कार्य विधि तयार गरेर भर्ना प्रक्रिया सुरु गरेको आठविसकोट नगर प्रमुख गोरखबहादुर केसीले जानकारी दिए। नगर प्रहरीको लागि विज्ञापन समेत गरिसकेको छ। नगरपालिकाले खुला र आन्तरिक तर्फ नगर प्रहरी सहायक निरिक्षक, जवान र कार्यालय सहयोगी गरी १८ जना नगर प्रहरी भर्ना गर्ने तयारी गरेको नगर प्रमुख केसीले बताए।

उनका अनुसार आन्तरिक तर्फ दुई जना नगर प्रहरी सहायक र चार जना जवान भर्नाको लागि विज्ञापन गरिएको छ। यस्तै खुला तर्फ दुई जना प्रहरी सहायक निरिक्षक, ११ जना प्रहरी जवान र एक जना कार्यालय सहयोगी (भान्छे) भर्नाको लागि विज्ञापन गरिएको छ। नगरपालिकाको आन्तरिक शान्ति सुरक्षा व्यवस्थापनका साथै यहाँका विकास निर्माणका काम हुने अवरोधलाई अन्त्य गर्नको लागि नगर प्रहरी भर्ना गरिएको नगर प्रमुख केसीले बताए।

जिल्लाको सबैभन्दा पुरानो नगरपालिका मुसिकोट नगरपालिकाले कार्य विधि तयार गरेको छ। अब छिट्टै नगर प्रहरीको विज्ञापन गरिने उप प्रमुख प्रेमकुमारी सुनारले जानकारी दिइन्। यस अघि नै जिल्लाको सानीभेरी गाउँपालिकाले नगर प्रहरी भर्ना गरिसकेको छ। गाउँपालिकाले पाँच जना नगर प्रहरी भर्ना गरेको छ। स्थानीय सरकार संचालन ऐन २०७४ ले स्थानीय तहलाई नगर प्रहरी भर्ना गर्न पाउने अधिकार दिएको छ।

प्रकाशित: २१ कार्तिक २०७५ ०६:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App