पाँचथर - पाँचथरको पर्यटकीय क्षेत्र साधुटारमा गत शनिबार दिउँसो नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज देखिए। केहि समयपछि विवाह गर्ने तयारीमा रहेका यो जोडीलाई यहाँसम्म फिल्म ‘प्रेमदिवस’ले ल्याइपु-याएको हो।
पछिल्लो हप्ता सुटिङ युनिट पूर्वी पहाडको भ्रमणमा छ। ‘पर्यटनको लागि सिनेमा’ नारा बनाएर फिल्म युनिट छायांकनका लागि इलामका विभिन्न ठाँउ हुँदै पाँचथर आइपुगेको हो । फिल्म युनिट मंसिर २० सम्म पूर्वमा रहने छ । फिल्म ‘राधा’, ‘नोटबुक’लगायत आधा दर्जन फिल्म निर्देशन गरिसकेका निर्देशक योगेश घिमिरेले फिल्मको निर्देशन गरिरहेका छन्।
निर्देशक घिमिरेले फिल्म त्रिकोणात्मक प्रेमकथाको रहने बताए। ‘विदेशमा सुटिङ स्टुडियो बनाउनु पर्छ । तर नेपालमा प्रकृतिले नै यस्तो स्टुडियो दिएको छ। पर्यटन प्रवद्र्धन गर्दै एतिहासिक तथा पर्यटकीय क्षेत्रमा सुटिङ गरिरहेका छौँ’ घिमिरेले नागरिकसँग भने ‘स्थानीय मञ्जरी कलाकेन्द्रले हामीलाई यी क्षेत्रमा सहयोग गरेको छ । फिल्म प्रेमकथामा आधारित भएपनि दृश्य पर्यटन प्रवद्र्धन गर्ने किसिमको हुनेछ ।’ उनका अनुसार फिल्म नयाँ वर्ष २०७६ मा रिलिज हुनेछ।
रियल मोसन पिक्चर्सको व्यानरमा निर्माण भइरहेको फिल्ममा विशाल खरेल, बोके दाह«ी, हेमन्त बुढाथोकीलगायतको अभिनय छ। सञ्जय न्यौपानेको लगानी रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी तथा मानकृष्ण महर्जनको छायांकन छ।
फिल्मको इलाम र पाँचथरका सन्दकपुर, फालोट, टोड्के झरना, ढापपोखरी, हाँगेथाम गुम्बा, माबो, पानीटार, राँकेमा छायांकन भइसकेको छ। अब क्याम, फिक्कल, अन्तुमा फिल्म छायाँकन गर्ने बताइएको छ । राँकेको मन्जरी कला केन्द्रका अध्यक्ष केवल तामाङले पर्यटकीय क्षेत्रहरू समेटेर फिल्म बनाउने योजना साकार बन्दै गएको बताए।
प्रकाशित: २१ कार्तिक २०७५ ०५:४४ बुधबार