coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी निर्वाचनको पूर्वसन्ध्यामा फेसबुक बन्द

सानफ्रान्सिस्को – अमेरिकी मध्यावधि निर्वाचनमा हस्तक्षेप गर्ने कोसिसमा रहेका एक सय १५ विदेशी व्यक्ति एवं संस्थाका फेसबुक अकाउन्ट (खाता) बन्द गरिएको छ। अमेरिकी प्रहरीको चेतावनीपछि फेसबुकले बन्द गरेका खातामा ८५ वटा इन्स्टाग्राम खातासमेत रहेका छन्।

अमेरिकी कानुन कार्यान्वयन तथा जासुसी संस्थाहरुले रुसी नागरिकहरुले फेसबुकमार्फत नक्कली समाचार (फेक न्यूज) फैल्याएको बताएलगत्तै फेसबुकले उक्त घोषणा गरेको हो। नेपाली समयअनुसार अमेरिकामा मंगलबार रातिबाट मध्यावधि निर्वाचनका लागि मतदान हुँदैछ। गत साता प्रकाशित एक अध्ययन प्रतिवेदनमा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनको भन्दा बढी मात्रामा यसपटक सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको देखिएको छ । राष्ट्रपतीय निर्वाचनताका राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा रुसी नागरिकहरुले सामाजिक सञ्जालको दुरुपयोग गरी सघाएको आरोप लाग्दै आएको छ।

‘आइतबार साँझ, अमेरिकी कानुन कार्यान्वयन निकायले अनलाइन गतिविधिका बारेमा हामीसँग सम्पर्क राखेका थिए । उनीहरुको विचारमा ती खाताहरु विदेशी व्यक्ति एवं संस्थासँग सम्बन्धित थिए,’ फेसबुकका साइबर सुरक्षा नीति प्रमुख नाथानिल ग्लेचरलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ । ‘हामीले तत्कालै ती खाता बन्द गरिदियौं र हामी अहिले त्यसका बारेमा विस्तृत रुपमा बुझ्ने क्रममा छौं,’ ग्लेचरले बताए।

ग्लेचरको भनाइअनुसार फेसबुकका ३० र इन्स्टाग्रामका ८५ खाता भएका व्यक्ति एवं संस्थाका क्रियाकलाप शंकास्पद रहेको पहिचान भएको छ। उक्त खाताहरु फ्रान्सेली र रुसी नागरिकसँग सम्बन्धित रहेको पाइएको छ । अमेरिकी मध्यावधि चुनावमा फेसबुक मार्फत हुनसक्ने गडबडी रोक्न फेसबुकले व्यापक जनशक्ति परिचालन गरेको छ । यो कार्यका लागि फेसबुकले करिब २० हजार कर्मचारी खटाएको बताएको छ । नेपाली समयअनुसार मंगलबार अबेरबाट अमेरिकी नागरिकले मध्यावधि निर्वाचनका लागि मतदान गर्दैछन् । मतदाताले हाउस अफ रिप्रेजेन्टेटिभका सबै चार सय ३५ सदस्य, सिनेटको एक सयमध्ये ३५ सिट र ५० राज्य गभर्नरमध्ये ३६ सिटका लागि मंगलबार मतदान गर्दैछन्।

सदनमा नियन्त्रणका लागि डेमोक्र्याट्सहरुले कम्तीमा २३ रिपब्लिकनहरुलाई हाल रहेको पदबाट पराजित गर्नुपर्नेछ भने सिनेटमा कम्तीमा दुई जनाको पद खोस्न सक्नुपर्छ । कतिपयले अमेरिकी मध्यावधि निर्वाचनलाई राष्ट्रपति ट्रम्पको राष्ट्रपतीय कार्यकालको जनमत संग्रहका रूपमा समेत लिएका छन् । यो निर्वाचनमा एकअर्काप्रति जबाफी विज्ञापन र आरोप प्रत्यारोपसहितका चुनावी अभियान सम्पन्न भएका छन्, जसलाई  पछिल्ला समयमा चलेका चुनावी अभियानमध्येको सबैभन्दा खराब अभियानको संज्ञासमेत दिइएको बिबिसीले उल्लेख गरेको छ।

प्रकाशित: २१ कार्तिक २०७५ ०५:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App